नयाँ शिरामा नेकपा विवादः कार्यदलका सदस्यमाथि नै माधव नेपालको प्रश्न !
प्रतिवेदन बुझ्दै नेकपा दुई अध्यक्ष । फाइल तस्वीर ।

लामो समयदेखि चर्किएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवाद अब नयाँ मोडमा पुगेको छ । यो विवाद समाधान गर्न नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गठन गरेको कार्यदलले आफ्नो प्रतिवेदन पार्टी अध्यक्षहरुलाई बुझाइसकेको छ । दुवै अध्यक्षले यसबारे थप छलफल गर्न शनिबारका लागि सचिवालय बैठक बोलाएका छन् । 

तर, अहिले उत्पन्न यो विवाद तत्काल समाधान हुने सम्भावना फेरि कमजोर हुन थालेको छ ।

कारण हो– यो कार्यदलमाथि नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको प्रश्न ।

कार्यदलमा नेकपा नेता माधव नेपालनिकट दुई सदस्य थिए– भीम रावल र सुरेन्द्र पाण्डे । दुई अध्यक्षले कार्यदल बनाउँदा यी दुई नेतालाई माधव नेपाल ‘कोटा’मा राखेका थिए । 

तर, कार्यदलमा यी दुई नेताले आफ्नो मूल विषय नै हराउने गरि काम गरेको आरोप अब माधवकुमार नेपाल पक्षधरले लगाउन थालेको छ । उनीहरुको आरोप छ– कार्यदलले तयार पारेको प्रतिवेदनमा आफ्नो पक्षले उठाएको विषय नै परेको छैन !

‘कमरेड माधव नेपालले लामो समयदेखि उठाउँदै आएको र पछिल्लोपटक आएर पार्टीको स्थापित मुद्दा बनेको एक पद, एक जिम्मेवारीको विषय नै छुटाएर प्रतिवेदन तयार पारिएको छ,’ माधव नेपालनिकट एक नेताले फरकधारसँग बताए, ‘यसले गर्दा कार्यदलका सदस्यमाथि पनि प्रश्न उठेको छ । कार्यदलको प्रतिवेदनमाथि स्थायी कमिटीका कतिपय साथी असन्तुष्ट छन् ।’



उनले प्रतिवेदनमा पार्टीमा रहेका विवादित पक्षलाई ध्यान नदिनु नै सबैभन्दा ठूलो भूल भएको बताए ।

नेकपाको चर्किँदो आन्तरिक विवाद समाधानका लागि गठित सुझाव कार्यदलले दिएको प्रतिवेदनको औचित्यमाथि माधव नेपाल पक्षधरले प्रश्न उठाउन थालेपछि नेकपा विवाद अब नयाँ मोडमा पुगेको अनुमान धेरैले गरेका छन् । 



पार्टीभित्र चर्किएको आन्तरिक विवाद मिलाउन नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले ३० साउनमा महासचिव विष्णु पौडेलको नेतृत्वमा तीनै नेता पक्षधर २÷२ जना नेता समावेश गरेर ६ सदस्यीय कार्यदल गठन गरेका थिए । सुरुमा यो कार्यदलको वैधानिकतामाथि प्रश्न पनि उठेका थियो । तर, नेकपा सचिवालय बैठकले कार्यदललाई मान्यता दियो ।

त्यसको एक सातामा नै यो कार्यदलले १७ पेज लामो प्रतिवेदन अध्यक्षद्वयलाई बुझाएको थियो ।

यो प्रतिवेदनमा यो प्रतिनिधिसभाको समयसम्म अध्यक्ष ओलीले सरकारको नेतृत्व गर्ने र अध्यक्ष प्रचण्डले पार्टीलाई सन्चालन गर्ने सुझाव दिइएको छ । 

तर, यसअघि नेपाल पक्षधरले बारम्बार उठाउँदै आएको एक व्यक्ति एक पदको विषयमा प्रतिवेदनमा केही उल्लेख गरिएको छैन । आफ्नो माग उल्लेख नगरिएपछि नेपाल पक्षधरका नेताहरुले यो प्रतिवेदन र यो कार्यदलमाथि प्रश्न उठाउन थालेका हुन् ।

नेकपाको पछिल्लो विवाद विधान कार्यान्वयनसँग गाँसिएको एक व्यक्ति, एक मुख्य जिम्मेवारीमा केन्द्रित थियो । गत साउन ३० गते गठन गरेको पार्टी महासचिव विष्णु पौडेल संयोजकत्वको कार्यदलले समस्याको चुरो कुरा नै छुटाएर प्रतिवेदन तयार पारेको भन्दै नेपाल समूहले असन्तुष्टि पोखेको हो ।

नेपाल समूहले उठाएको विषयको सम्बोधन गर्न कार्यदलले तयार पारेको प्रतिवेदन असफल रहेको ती नेताले बताए । पछिल्लो समय नेकपामा देखिएको विवादको अन्तर्य पनि यही नै हो । तर, यसपटक पनि प्रतिवेदनमा यो विषयमा केही पनि उल्लेख गरिएको छैन ।

‘अहिले पार्टीमा देखिएको मूल समस्यालाई नै समाधान गर्न नसक्ने प्रतिवेदन कसरी मान्य हुन सक्ला र ?’ नेकपाका एक केन्द्रीय सदस्यले फरकधारलाई भने, ‘झन्, त्यसमा कमरेड भीम रावल सदस्य हुनुहुन्थ्यो, उहाँले लामो समयदेखि उठाउँदै आएको आफ्नै विषय बिर्सनु भएको छ, यसले यो कार्यदलमाथि प्रश्न उठाउनु स्वभाविक नै हो ।’

फरकधार भिडिओ: के नेकपा विवाद अहिलेलाई टरेकाे हाे ?

  • प्रकाशित मिति : भदौ ९, २०७७ मंगलबार २१:४२:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया