बार्सिलोना छोड्छु भने मेसीले, कुन क्लबमा जालान् ?

मंगलबार, २०७७ साल भदौ १० गते राति पौने एक बजे । नेपालमा विश्व चर्चित फुटबलर लियोनल मेसीका फ्यानहरु मस्त निद्रामा थिए । यही समयमा एउटा समाचार विश्व मिडियामा बाहिर आयो । जसमा भनिएको थियो– लियोनल मेसी बार्सिलोना छोड्न चाहन्छन् ।

मेसीले खासमा बार्सिलोनालाई एउटा पत्र पठाएका थिए । समाचार एजेन्सी एपीले यो समाचार ब्रेक गरेको थियो । हुन त केही दिनअघि देखि नै मेसीले बार्सिलोना छोड्न खोज्दै छन् भन्ने चर्चा चलेको थियो । तर, जब यो समाचार बाहिर आयो, यो चर्चा अड्कलबाजी मात्र नभएर वास्तविक भएको प्रमाणित भयो ।

लालिगामा खराब प्रदर्शनका कारण मात्र होइन, ११ दिनअघि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा इतिहासमै लज्जास्पद हार व्यहोरेको थियो, बार्सिलोनाले । बायर्न म्युनिखसँग २–८ले हारेको बार्सिलोनाल त्यसैले अब मेसीका लागि ‘अन्तिम वर्ष’ हुनसक्ने सम्भावना बढ्दै गयो । झन्डै दुई दशकदेखि बार्सिलोनाका लागि खेलेका मेसीले देखेका फुटबलका सपना सायद बार्सिलोनाकै मैदान वरपर हुर्किएका थिए । 

तर, बिर्सनु हुँदैन, बार्सिलोनासँग उनको सम्झौता सकिँदै थियो, सन् २०२१ को जुनमा । कोरोनाभाइरस महामारीका कारण यो केही समय पछाडि धकेलिन पनि सक्ने थियो ।

बार्सिलोनाबाटै आफ्नो व्यावसायिक करिअर सुरु गरेका मेसीले बार्सिलोना छाडेमा कुन क्लबमा आफ्नो खुट्टाको जादू देखाउलान् त ? 

यो प्रश्न अहिले चासो र चाहनाको विषय हुनु स्वभाविक नै हो ।



तर, यसबारे पनि प्रष्ट भइसकेको छ । मेसीलाई आफ्नो क्लबमा भित्र्याउन चाहिरहेका छन्, तीन क्लब । 

यीमध्ये पहिलो नम्बरमा आउँछ, इटालियन क्लब इन्टर मिलान । मिलानले त धेरै अगाडिदेखि नै मेसीलाई भित्र्याउने इच्छा देखाएको थियो । यदि मेसी तयार भएको खण्डमा उसले २ सय ६० मिलियन युरोसम्म खर्चिन तयार रहेको यस अगाडि नै जनाएको थियो ।
 



मेसीका पिताले मिलानको पोर्टो नुउभामा घर खरिद गरिसकेको हुनाले मेसी मिलान पुग्ने प्रवल सम्भावना रहेको अनुमान पनि आएका छन् । यदि मेसी मिलान पुगेमा फेरि एकपटक मेसी र पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोबीच कडा तथा रोमाञ्चक प्रतिस्पर्धा हेर्न पाइनेछ । रोनाल्डो अहिले युभेन्ट्सबाट खेलिरहेका छन् ।
 

इङ्लिस क्लब म्यानचेस्टर सिटीले पनि पछिल्लो समय मेसीलाई भित्र्याउने इच्छा देखाएको छ । सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाकै कारण मेसी सिटी पुग्न सक्ने सम्भावना पनि नभएको होइन ।

बार्सिलोनामा रहँदा ग्वार्डिओला र मेसीबीच राम्रो सम्बन्ध भएकाले पनि यसलाई प्रबल सम्भावनाका रुपमा हेरिएको छ । फेरि त्यति बेला बार्सिलोनाले जे हासिल गरेको थियो, त्यसलाई मेसी र ग्वार्डिओलाकै केमेस्ट्री मिलेको संज्ञा पनि दिइएको थियो ।

मेसीलाई लिन सक्ने बलियो आर्थिक अवस्था भएको क्लबमध्ये सिटी पनि त हो । च्याम्पियन्स लिगको प्रदर्शनबाट निरास भएका मेसीलाई क्लबमा भित्र्याउन ग्वार्डिओलाले नै प्रयास गरिरहेको विश्व फुटबल पण्डितहरुले बताउन थालेका छन् । फेरि सिटीमा छन्, मेसीका मिल्ने साथी सर्जियो अगुएरो पनि । यस्तो हुँदा उनी अब सिटीमा नजालान् भन्ने अनुमान कमैले गर्न सकेका हुन्छन् ।

त्यसो त मेसीलाई फ्रेन्च क्लब पिएसजीले पनि भित्र्याउने इच्छा नदेखाएको होइन । पिएसजीमा अहिले नेयमार, केलियन एम्बाप्पेजस्ता विश्व स्तरीय खेलाडीहरू छन् । यदि मेसी क्लबमा अनुबन्ध भएको खण्डमा क्लब अझै बलियो हुने विश्वास धेरैले गरेका छन् ।

फेरि पिएसजीमा रहेका नेयमार र मेसीको दोस्ती पनि निकै पुरानो हो । बार्सिलोनामा नै हुँदा यी दुई खेलाडीको साझेदारी हेर्नलायक थियो । के थाहा, मेसीको मनले फेरि ती दिन सम्झिने पो हो कि ? कतिसम्म भने नेयमारले सन् २०१७ मा क्लब छाडेपछि मेसीले बारम्बार उनलाई बार्सिलोना भित्र्याउने बताइरहेका थिए ।

उनले राखेको यो चाहना त पूरा गर्न पाएनन्, तर अब उनी पिएसजी नै गएर नेयमारसँगको दोस्तीलाई थप बलियो चाहिँ बनाउन सक्नेछन् ।

जे होस्, जुन क्लबमा गए पनि अहिले बार्सिलोनाका समर्थकका लागि मेसीले क्लब छोड्न लागेको कुरा चाहिँ ठूलो झट्का पक्कै हो ।

  • प्रकाशित मिति : भदौ १०, २०७७ बुधबार ०:५९:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया