कोरोना संक्रमण बढ्दै गएपछि लमजुङको बेँसीशहर नगरपालिकामा निषेधाज्ञा लागु गरिएको छ । जिल्ला प्रशासन कार्यालय लमजुङले आज दिउँसो ३ बजेदेखि लागु हुने गरी यही नगरपालिकाको वडा नं. २, ३, ७ र ८ का बजार क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरेको हो । निषेधाज्ञा भदौ १७ गते साँझ ६ बजेसम्म जारी रहने बताइएको छ ।
जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रको निर्णयअनुसार स्थानीय ऐन २०२८ को दफा ६ (३) र सङ्क्रामक रोग ऐन, २० दफा २ बमोजिम सो समय अवधिका लागि निषेधाज्ञा गरिएको हो । जिल्लामा बुधबारमात्र नेपाली सेनामा कार्यरत २० जना र बेँसीशहर नपा वडा नं ७ र ८ का तीन जनामा कोरोना संक्रमण पुष्टि भएपछि बजार क्षेत्रमा समेत जोखिम बढेकाले एक हप्ता निषेधाज्ञा गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए ।
निषेधाज्ञा अवधिभर औषधि उपचार, खाद्य वस्तु खरिद, आफ्नै बारीमा कृषिजन्य कार्य गर्नेजस्ता आवश्यक कामबाहेक कुनै पनि व्यक्ति घरबाहिर निस्कन नपाउने बताइएको छ । त्यस्तै, एम्बुलेन्स, बिरामी बोक्ने गाडी, खाद्य वस्तु, तरकारी, दूध, खानेपानी, पेट्रोलियम पदार्थ बोक्ने गाडी, शववाहन, फोहोरमैला व्यवस्थापन गर्ने गाडी, निर्माण सामग्री ढुवानी साधन, पशुपंछी दाना बोक्ने गाडी, सञ्चारकर्मी, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने साधन र अनुमति प्राप्त सवारीसाधनबाहेक सबै निजी तथा सार्वजनिक सवारी साधन सञ्चालन गर्न नपाउने जिल्ला प्रशासनले जनाएको छ ।
खाद्यान्न र तरकारीको लागि भने बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र खोल्न पाउने प्रशासनले जनाएको छ । स्वास्थ्य संस्था, अत्यावश्यक सेवाका कार्यालय, सरकारी कार्यालयबाट प्रदान हुने नियमित सेवा सञ्चालन गर्ने सोका लागि न्यूनतम कर्मचारीबाट सेवा प्रवाह गर्ने व्यवस्था सम्बन्धित कार्यालय प्रमुखले मिलाउनुपर्ने बताइएको छ ।
त्यस्तै, बैंक तथा वित्तीय संस्थाबाट प्रदान गर्ने एटिएम बाहेकका अन्य सेवाहरु बन्द गरिएको प्रशासनले जनाएको छ । धार्मिक, सांस्कृतिक, सामाजिक (विवाह ब्रतबन्ध) लगायतका धेरै जना जमघट तथा भेला हुने सबै प्रकारको क्रियाकलापमा गर्न नपाउने भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।