गोविन्द केसीले एक हप्ता पर सारे सत्याग्रह

काठमाडौं– साउन ११ गते ४ बुँदे माग सार्वजनिक गर्दै ती माग पूरा नभए भदौ ११ गतेदेखि सत्याग्रह सुरु गर्ने घोषणा गरेका डा. गोविन्द केसीले सत्याग्रह एक हप्ता पछि सारेका छन् ।

हाल जुम्लामा रहेका केसीले स्थानीय प्रशासनको विशेष आग्रहमा सत्याग्रहलाई एक साता पछि सार्ने निर्णय गरेको विज्ञप्तिमार्फत जानकारी गराएका छन् । 

झन्डै एक महिनाको समय दिँदा पनि सरकारले माग पूरा गर्न कुनै कदम नचालेकोउल्लेख गर्दै उनले विज्ञप्तिमा भनेका छन्, ‘हामीसित गरेका सम्झौता कार्यान्वयन गर्न तथा जायज माग पूरा गर्न सरकारले कोरोना महामारीको बहाना बनाइरहेको छ जबकि अरबौं भ्रस्टाचार र घोटाला गर्न तथा सत्तारुढ दलका नेताहरुबीच कुर्सीका लागि हानथाप गर्न महामारीले छेकेको छैन ।’

उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएसलगायत कार्यक्रम सञ्चालन गर्न, उक्त प्रतिष्ठानको स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गर्न र गेटा मेडिकल कलेज र राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठनपाठन सुरु गर्न माग गरेका थिए । केसीले प्रदेश २ र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउन पनि माग गरेका छन् ।

उनले विश्वविद्यालय, काउन्सिल र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्तिका लागि पदाधिकारी मापदण्ड निर्धारण समितिले दिएको सुझाबअनुरूप निष्पक्ष र पारदर्शी ढङ्गले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गर्न माग गरेका छन् । 





  • प्रकाशित मिति : भदौ ११, २०७७ बिहीबार १६:५८:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया