वायुसेवा कम्पनीले सरकारी मान्यताको पिसिआर रिपोर्ट देखाउनुपर्ने

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पिसिआर परीक्षण गर्न तोकेका स्वास्थ्य प्रतिष्ठान र अस्पतालबाट गरिएको परीक्षणलाई मात्रै मान्यता दिने भएको छ । 

मन्त्रालयले आज नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्राचार गर्दै अन्तर्राष्ट्रिय वायुसेवा संस्थाले आफूखुसी यात्रुलाई एउटै मात्र कोभिड–१९ पिसिआर परीक्षण गर्ने केन्द्र, अस्पताल प्रतिष्ठानबाट गराउने र त्यसलाई मात्र मान्यता दिने गरेको उजुरी मन्त्रालयलाई प्राप्त भएको भन्दै यदि त्यस्तो पाइएमा कानुनी कारबाही गर्ने चेतावनी दिएको हो ।

कुनै पनि वायुसेवा कम्पनीले यसविपरीत कार्य गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने व्यवहोरा सम्बन्धित सबै वायुसेवाहरुलाई जानकारी गर्न–गराउन मन्त्रालयको निर्णयअनुरुप प्राधिकरणलाई लिखित निर्देशन दिइएको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । 

वायुसेवा कम्पनीले सरकारले तोकेको कुनै पनि सरकारी स्वास्थ्य प्रतिष्ठान र अस्पताल, निजी स्वास्थ्य प्रतिष्ठान, अस्पताल र स्वास्थ्य संस्थाबाट गरिएको परीक्षणको मान्यता दिने गरी वायुसेवाहरुलाई निर्देशन गर्न प्राधिकरणलाई अनुरोध गरिएको विज्ञप्तिमा उल्लेख छ ।

सरकारले भदौ १६ देखि निश्चित सर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम पर्यटन मन्त्रालयले नेपाली तथा विदेशी एयरलाइन्सको एक महिनाको उडान तालिका पनि सार्वजनिक गरिसकेको छ । 

विदेशबाट दैनिक ५०० यात्रु नबढ्ने गरी यात्रु नेपाल ल्याउन अनुमति दिइएको छ । यसरी आउने यात्रुले पिसिआर रिपोर्ट अनिवार्य देखाउनुपर्नेछ । पिसिआर नगरेकाले उनीहरुकै होटल क्वारेन्टिनमा बस्ने व्यवस्था गरिएको छ ।





  • प्रकाशित मिति : भदौ ११, २०७७ बिहीबार १९:६:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया