कांग्रेस महामन्त्री डा.शंशाक कोइरालाले सभापतिमा शेरबहादुरलाई आफूले नै मात्र हराउने सक्ने धारणा सार्वजनिक गरे । यसै साता न्यूज एजेन्सी (नान) सँग कुरा गर्दै उनी १४औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार बन्ने स्पष्ट भएका हुन् ।
उपसभापति विमलेन्द्र निधिले पनि आफू सभापतिमा लड्ने जोडतोडका साथ प्रचार गरिरहेका छन् । उनले सभापति देउवालाई नै भेटेर आफूलाई अबको सभापतिमा सघाउन प्रस्ताव समेत गरिसकेका छन् । यो बाहेक अन्य नेतासँगको भेटघाटमा पनि उनले तिब्रता दिएका छन् ।
यसरी कांग्रेसमा सभापतिको दाबी गर्ने शंशाक र निधि मात्र होइन । अन्य धेरै नेताहरू छन् । अन्य पदका लागि पनि दाबी गर्नेको लस्कर पनि केन्द्रीय तहमा लागि
सकेको छ । कतिपयले अमुक पदमा दाबेदारी दिने घोषणा समेत गरिसकेका छन् त कतिपयले भित्रभित्रै तयारी गरिरहेका छन् ।
अहिलेसम्म सभापतिका लागि वर्तमान सभापति शेरबहादुरदेखि लिएर वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति निधि, महामन्त्री शंशाक, पूर्वमहामन्त्री प्रकाशमान सिंह, कृष्ण सिटौला, शेखर कोइरालाको नाम चर्चामा छ । अर्थात् यी सबै नाम यसरी चर्चामा आउनु भनेको कांग्रेसमा महाधिवेशनको तयारी सुरु भइसकेको बुझिन्छ ।
आगामी फागुनमा महाधिवेशन गर्ने मिति पनि घोषणा भइसकेको छ । त्यो घोषणाअनुसार कांग्रेसको महाधिवेशनको समय अब ६ महिनामात्रै बाँकी छ । उम्मेदवारीको होडबाजी सुरु भइसके पनि त्यो भन्दा अगाडि हुनुपर्ने तयारी भने कांग्रेसमा भएको देखिँदैन ।
अर्थात् महाधिवेशनका लागि वडा, क्षेत्रदेखि जिल्ला तहसम्मको अधिवेशन सक्नुपर्छ । त्यसका लागि आजका मितिसम्म क्रियाशील सदस्यता नवीकरण र वितरणको काम
भइसक्नुपर्ने हो । तर, अहिलेसम्म धेरै जिल्लामा क्रियाशील सदस्यता नवीकरण र वितरणको कुनै पनि काम नभएको पूर्वमहामन्त्री प्रकाशमान सिंहको भनाइ छ ।
तोकिएको कार्यतालिका बमोजिम पार्टीका क्रियाकलाप हुन सकिरहेका छैनन् । कोरोनाका कारण यसमा ढिलाइ भएको उनको ठम्याइछ ।
यता जिल्लाका नेताहरू क्रियाशील सदस्यता फारम समेत नआएको बताउँछन् । महाधिवेशन गर्ने तयारी रहे पनि संगठनको धेरै काम भने लाथलिङ रहेको पर्सा कांग्रेस सचिव श्याम पटेलको धारणा छ ।
सदस्यता वितरण र नवीकरण नै भएन भने तोकिएको मितिमा महाधिवेशन गर्न समस्या आउने उनी बताउँछन् । किनकि सदस्यता स्थानीय तहसम्म पुग्न पनि समय लाग्नेछ । त्यसैले पहिला सदस्यतासँग सम्बन्धित कामहरूको टुंगो लगाउनुपर्ने उनको धारणा छ ।
हुन त पार्टीले महाधिवेशनको मितिसँगै स्थानीय तहदेखि जिल्लासम्मका अधिवेशनको मिति समेत तय गरिसकेको छ । तर, त्यो अनुसार भने अझै काम हुनसकिरहेको छैन । सदस्यता वितरण र नवीकरण नभए महाधिवेशन तोकिएको समयमा हुन नसक्ने अवस्था आउन सम्भावना रहेको पर्साका सभापति अजय द्विवेदीको पनि बुझाइ छ ।
तर, अहिलेसम्म धेरै जिल्लामा समायोजनकै विवाद रहेको कांग्रेसका पूर्वमहामन्त्री सिंहको भनाइ छ । ‘पार्टीको विधान अनुसार एक कार्यसमितिको कार्यकाल चार वर्ष हो, तर सभापतिले विधानमा भएको व्यवस्थाबमोजिम नै पुनः एक वर्ष थपियो,’ उनले भने, ‘ठिक्कै छ थप्नुभयो, अब त्यो पनि थपेको समय त फागुनमा सिद्धिँदैछ नि ।’ त्यसैले ‘एनी हाउ’ पार्टीको महाधिवेशन गर्नेपर्ने हुन्छ, उनले भने ।
सभापतिकै गृह जिल्लादेखि लिएर रसुवा, सिन्धुपाल्चोकसहित प्रदेश–२ मा समेत अझै समायोजन हुन नसकेको उनले बताए । उनका अनुसार केही जिल्लामा समायोजन सके पनि सदस्यता भने दिइएको छैन । पार्टी सभापतिको लापरबाहीले यस्तो भइरहेको पूर्वमहामन्त्री सिंहको भनाइ छ । कोरोनाका कारण केही ढिलाइ भए पनि अझै कार्यतालिका बमोजिम काम गरे तोकिएकै मितिमा महाधिवेशन गर्न सकिने उनको धारणा छ ।
सदस्यता वितरण र नवीकरणमै समस्या देखिएको जिल्लास्तरीय नेताहरू पनि बताउँछन् । नेपाली कांग्रेस बारा जिल्ला सभापतिको भनाइ पनि पर्सा जिल्ला जस्तै छ । जिल्लामा कोरोनाका कारण सदस्यता वितरण र नवीकरणमै समस्या भइरहेका बेला केन्द्रका नेताहरूले धमाधम उम्मेदवारी घोषणा गर्न थाल्नु हतारको निर्णयको उनले संज्ञा दिए ।
पर्साका सभापति द्विवेदीका अनुसार उहाँहरू आफूलाई चुन्ने कार्यकर्ताका बारेमा गम्भीर देखिनुभएको छैन । उनले भने, ‘पहिले महाधिवेशन प्रतिनिधि कसरी छनोट गर्ने भन्ने बारेमा छलफल हुनुपथ्र्यो । तर, आफैँ पद–पदमा उम्मेदवार घोषणा गरेर बस्नुभएको छ । यो ठीक होइन ।’
कांग्रेसले वडा समितिको अधिवेशन पुस ६ गते तथा गाउँ र नगर समितिको पुस ९ गते तय गरेको छ । यसैगरी प्रदेशसभा निर्वाचन समितिको ११ गते र प्रतिनिधिसभा निर्वाचन समितिको १३ गते अधिवेशन तोकिएको छ । जिल्ला समितिको अधिवेशन १६ पुस र १६ माघमा ७ वटै प्रदेश समितिको अधिवेशन गर्ने गरी निर्णय भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।