बाली जोगाउन रातभर जाग्राम

दैलेखका विभिन्न स्थानका किसान बँदेलले बाली नष्ट पार्न थालेपछि बाली जोगाउन रातभर जाग्राम बस्न  बाध्य भएका छन् । यहाँका किसानले लगाएको बाली जङ्गली बँदेलले सखाप पार्दा रातभर जाग्राम बस्न थालेका हुन् । घर भित्र्याउन तयारी अवस्थामा रहेको अन्नबाली ठूलो सङ्ख्यामा आउने जङ्गली बँदेलले नोक्सान गर्न थालेपछि किसान खेतबारीमा रात बिताउन बाध्य भएका हुन् ।

धान, मकै, कोदोलगायत खाद्यान्न बालीमा बथानका–बथान आएर जङ्गली बँदेलले खाने गरेका स्थानीयले बताएका छन् । भैरवी–१ का स्थानीयवासी डिलबहादुर कार्कीले बँदेलले  बाली नोक्सान गरी सखाप पारेको बताए । उनले भने, ‘बँदेल धपाउन समूह बनाएर रातभर खेत बारीमा बास बस्छौँ तर, पनि खेती जोगाउन हम्मे हम्मे भएको छ ।’ भैरवी, महाँबु गाउँपालिका, दुल्लू, नारायण र आठबिस नगरपालिकालगायत स्थानमा जङ्गली बँदेलले अन्नबाली नोक्सान गरेको स्थानीयले बताएका छन्  ।

पछिल्लो समयमा यहाँका किसानले रातभर जाग्राम बसेर जङ्गली बँदेल धपाउन बाहेक बाली जोगाउनै अन्य विकल्प छैन । पाकेर घरमा भित्र्याउन तयारी अवस्थामा रहेको अन्नबालीमा बँदेलले क्षति पुर्‍याउँदा किसान निकै निरास भएका छन्  । दुल्लु नगरपालिका–३ का प्रेम गिरी भन्नुहुन्छ, ‘न त रातिमा सुत्नु छ न त बाली नै जोगिएको छ, अब त अति नै गर्न लागिसके । एकातिर बँदेलले आक्रमण गर्छ कि भन्ने चिन्ता लाग्ने गरेको छ ।

किसानको क्षतिको सम्बन्धित निकायले कुनै व्यवस्थापन नगरेको किसानको गुनासो छ । ‘न त जङ्गली बँदेलको नियन्त्रणतिर चासो छ न त  क्षतिको व्यवस्थापनमा स्थानीय सरकारले देखाएका छन्,’ भैरवी गाउँपालिका–१ का सेरबहादुर कार्कीले गुनासो गरे । जङ्गली बँदेलले नोक्सान गरेको निवेदन थुप्रै आएका भैरवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले जानकारी दिए ।

उनले नोक्सानी भएको बालीको विवरण सङ्कलन गर्न वडा तहमा जनप्रतिनिधिलाई किसानको बारीमै खटाउने र उचित क्षतिपूर्ति दिनेबारे आफू छिट्टै कार्यपालिकाको बैठक बस्ने बताए । सरकारी निकायबाट किसानलाई राहतका कार्यक्रम ल्याएको भए पनि प्रभावकारी हुन सकेको छैन । डिभिजन वन कार्यालय दैलेखका प्रमुख मुनबहादुर रावतले प्रकृया मिलाएर निवेदन आए क्षतिपूर्ति दिने जानकारी दिए ।





  • प्रकाशित मिति : भदौ १३, २०७७ शनिबार १४:३१:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया