कञ्चनपुरमा ५ महिनामा हजारभन्दा बढी सवारीसाधन कारबाहीमा

सरकारले आह्वान गरेको लकडाउनमा ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार ३३१ सवारी साधनमाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ । लकडाउनका बेला जथाभावी सवारी साधन सञ्चालन गर्नेमाथि निगरानी बढाउनुका साथै कारबाहीको दायरामा ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रकाश केसीले लकडाउन थालिएको गत चैत महिनायता हालसम्म सबैभन्दा बढी मोटरसाइकल कारबाहीमा परेको बताए । ट्राफिकका अनुसार बितेको पाँच महिनामा यहाँ ९३ बस, ५६ ट्रक, १८७ जिप, १६७ ट्रयाक्टर र ७६५ मोटरसाइकल कारबाहीमा परेका छन् । ‘अटोलगायत अन्य ५३ वटा सवारी साधनलाई पनि कारबाही गर्दै जरिवाना गरिएको छ,’ उनले भने ।

सवारी कारबाहीबाट ट्राफिक प्रहरीले रु ७ लाख ८२ हजार राजश्वसमेत सङ्कलन गरेको प्रहरी निरीक्षक केसीले बताए । 

त्यस्तै लकडाउनमा कञ्चनपुरमा २३ वटा सवारी दुर्घटनामा परी आठ पुरुष र एक महिला गरी नौ जनाको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । ‘दुर्घटनामा लकडाउनका समय ४७ जना घाइते भएका छन् ।’ उनले भने, ‘अहिले पनि हामी फिल्डमा जोरबिजोर कडाइका साथ लागु गरिरहेका छौँ ।’

यता जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जिल्लामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेयता मास्क नलगाएर हिँड्डुल गर्ने व्यक्तिलाई कारबाही गरिरहेको छ । ‘लकडाउनका बेला पनि मास्क नलगाएर हिँड्नेलाई प्रहरीले कारबाही गरेको थियो,’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भने, ‘निषेधाज्ञा जारी भएपछि पनि बजार क्षेत्रमा कडाइ गर्दै लगिएको छ ।’

प्रहरीले निषेधाज्ञा जारी भएयता मात्रै महेन्द्रनगरमा मास्क नलगाएर हिँड्डुल गर्ने ८० जनालाई कारबाही गरेको छ । ‘हामीले मास्कसमेत सो क्रममा वितरण गरेका छौँ,’ थापाले भने, ‘जोरबिजोर उल्लङ्घन गर्ने ६४ वटा सवारी साधन पनि कारबाहीमा परेका छन् ।’ उनले सुरुआती चरणमा ७७२ साना तथा ठूला सवारीसाधन सम्झाइबुझाइ छाडिएको बताए ।





  • प्रकाशित मिति : भदौ १३, २०७७ शनिबार १७:४१:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया