भारतको सर्वोच्च अदालतको मानहानी अभियोगमा दोषी ठहर भएका वकिल प्रशान्त भूषणलाई अदालतले एक रुपयाँ जरिवाना तिराउने फैसला गरेको छ । न्यायाधीशहरू अरूण मिश्रा, बीआर गवई र कृष्ण मुरारीको इजलासले सोमबार भूषणलाई उक्त सजाय सुनाएको हो ।
सोमबार भूषण विरुद्धको सजाय सुनाउँदै सर्वोच्च अदालतले एक रुपयाँ (भारु) जरिवाना तिर्नु पर्ने फैसला गरेको हो । उनले गरेका दुई ट्वीटले सर्वोच्चको मानहानी भएको भन्दै प्रशान्त भूषण दोषी ठहर भएका हुन् ।
प्रधानन्यायाधीश एस ए बोबडे र सर्वोच्चको आलोचना गरी प्रशान्तले ट्वीट गरेका थिए । अदालतले यसअघि नै प्रशान्तलाई अदालतसँग माफी माग्न या आफ्नो टिप्पणी फिर्ता लिन भनेको थियो, तर उनले अदालतको प्रस्ताव स्वीकार नगरेकाले जरिवाना गरिएको बताइएको छ ।
भूषणले जुन २९ मा महंगो बाइकमा बसेका सर्वोच्च न्यायाधीश बोबडेको तस्बिर ट्वीट गरेर टिप्पणी गरेका थिए । यस्तै अर्को ट्वीटमा भारतको अवस्थालाई लिएर पछिल्ला चार प्रधानन्यायाधीशको भूमिकामा आफ्नो विचार प्रस्तुत गरेका थिए ।
उनले अदालतलाई जवाफ दिँदै आफ्ना अन्तरआत्मा र अदालतको मानहानीको सम्मानका लागि आफूले माफी नमाग्ने र टिप्पणी पनि फिर्ता नलिने बताएका थिए ।
त्यसमा आफै अग्रसर भएर सर्वोच्चले प्रशान्तविरुद्ध अपहेलनाको मुद्दा चलाएको हो । न्यायाधीश अरुण मिश्रा नेतृत्वको बेन्चले अगस्ट २५ मा सुनुवाई सकेर सजायको फैसला सुरक्षित गरेको थियो ।
भूषणलाई १५ सेप्टेम्बरसम्ममा जरिवाना रकम तिर्न अदालतले आदेश दिएको छ । तोकिएको मितिसम्ममा जरिवाना नतिरे उनले तीन महीना जेल बस्नुपर्नेछ र तीन वर्ष बहसमा प्रतिबन्ध लाग्ने पनि फैसलामा उल्लेख छ ।
भारतमा अदालतको अवहेलनामा दोषी पाइने व्यक्तिलाई ६ महिनासम्म कैद वा दुई हजार भारतीय रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने कानुनी व्यवस्था छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।