विदेश निर्यातको तयारीमा मनाङको स्याउ

मनाङको स्याउ अहिले विश्व बजारमा पुग्न थालेको छ । मनाङ एग्रो प्रालिले आफ्नो उत्पादन निर्यात गर्न थालेसँगै नेपाली स्याउ विदेश पुग्न थालेको हो ।     
     
    लामो समय राजनीतिमा लागेका पोल्देन छोपाङ गुरुङले बाउबाजेको थलोमै स्याउ फलाउने निधो गरे । परम्परागत स्याउ खेतीलाई उन्नत र बृहत् बनाउन एग्रो मनाङ प्रालि नामक कम्पनी खडा गरिएको छ । ङिस्याङ गाउँपालिका–१ भ्राताङमा रहेको पुरानो स्याउबारीसँगै गाउँपालिकासँग थप जग्गा भाडामा लिएर उनले स्याउ खेती गरेका छन् । २७ वर्षका लागि रू. १२ करोड ९१ लाख ११ हजार भाडा तिर्ने गरी भाडामा लिएको जग्गामा रसिलो स्याउ फलाउन  हालका संघीय सांसदसमेत रहेका पोल्देन छोपाङ गुरुङसहित परिवार नै कस्सिएको छ ।     
     
 मलिलो माटो नै नभएको भ्राताङको गेग्रानमा २०७० सालतिर स्थानीयभन्दा फरक खालका गाला, गोल्डेन र फुजी गरी तीन जातका स्याउका बिरुवा रोपियो । बिरुवाहरु इटाली र सर्भियाबाट ल्याइएको थियो ।


उनका अनुसार स्याउ खेतीका लागि शुरुमा हिमाली परियोजनाले रू.२ करोड २४ लाख अनुदान दिएको थियो । प्रधानमन्त्री कृषि आधुनिक परियोजनाबाट मल, बीउ र प्याकेजिङमा अनुदान छ । बाँकी लगानी बैंकबाट जुटाइएको उनले सुनाए ।     
     
 विश्व बजारमा निर्यातको सपना पालेका उनले २ हजार ८५० मिटर उचाइमा उत्पादित स्याउलाई ‘हिमालयन फ्रेस’ को नाममा ‘ब्राण्डिङ’ गरिरहेका छन् । मनाङको स्याउ ‘हिमालयन फ्रेस’ ब्राण्डमा विदेशी बजारमा देखिएको दिन आफ्नो सपना पूरा हुने उनले बताए ।
     
 यो स्याउ फार्म एशियाकै ठूलो हो । फार्ममा प्रत्यक्ष २७ जनाले काम गरिरहेका छन्, सिजनमा अरु २४ जनाले पनि काम पाउने बताइएको छ । फार्म सञ्चालनसँगै मनाङ एग्रोले गण्डकी सरकारलाई स्याउ खेतीबारे प्राविधिक सहयोग पनि दिन थालेको छ । 

गण्डकी सरकारले मनाङसँगै गोर्खाको चुनुब्रीमा शुरु गरेको स्याउ खेती परियोजनामा मनाङ एग्रोले नै सघाएको हो ।
 





  • प्रकाशित मिति : भदौ १५, २०७७ साेमबार १४:१२:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया