पार्टीले पठाए राष्ट्रियसभामा जान्छु : गौतम

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभामा जाने भएका छन् । फरकधारसँग कुरा गर्दै नेता गौतमले पार्टीले पठाएमा आफू राष्ट्रियसभामा जान तयार भएको बताएका हुन् । 

सोमबार नेता गौतम डोल्पाबाट चुनाव लड्ने कुरा बाहिरिएपछि उनको सचिवालयलाई सम्पर्क गर्दा त्यो कुरा हल्ला मात्र भएको बताएको छ । तर नेता गौतम पार्टीले निर्णय गरेर पठाएमा आफू राष्ट्रियसभामा जान भने तयार भएको बताएका छन् । 

नेता गौतम राष्ट्रियसभामा जान तयार रहेको गौतमको सचिवालयले जानकारी दिएको छ । ‘अहिले चुनावमा जाने होइन । अब अर्को चुनाव आउन पनि केही समय मात्र बाँकी छ । अहिले चुनावमा गएर अर्थ पनि छैन,’ नेता गौतमको भनाइ उद्धृत गर्दै गौतमका सचिवालय सदस्य विश्वमणि सुवेदीले भने, ‘यो चुनाव लड्ने कुरा कसले हल्ला ग¥यो थाहा भएन । दुर्गमका जनतालाई भोट हाल्न कही गाह्रो छ । अहिले चुनाव गरेर जनतालाई दुःख दिने कुरा मात्र हुन्छ । त्यसैले अहिले चुनावमा जाने होइन । यदि पार्टी निर्णय कार्यान्वयन गर्ने हो भने राष्ट्रियसभामा जाने सन्दर्भमा चै म तयार छु ।’

राष्ट्रिय सभामार्फत् अर्थमन्त्री बनेका डा.युवराज खतिवडाको म्याद सकिन केही दिन मात्र बाँकी रहँदा अब रिक्त रहेको राष्ट्रियसभाको खाली सिटमा कसलाई मनोनित गर्छन् भन्ने चासो रहेका बेला नेकपा उपाध्यक्ष गौतमले आफू राष्ट्रियसभामा  जान तयार रहेको बताएका हुन् । 

यस विषयमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल पनि सहमत रहेको स्रोतको भनाइ छ । तर प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पुनः खतिवडालाई नै दोहोर्याउँछन् वा पार्टी उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा ल्याउँछन् भन्ने कुरा अन्योलकै अवस्थामा रहेको छ । 

त्यसो त नेता गौतमलाई राष्ट्रियसभामा ल्याउने सन्दर्भमा नेकपाले यसअघि निर्णय गरिसकेको छ । प्रधानमन्त्री ओलीले पनि गौतमलाई राष्ट्रियसभामा ल्याउने बताएका थिए । 



प्रधानमन्त्री ओली पार्टीभित्र संकटमा पर्दा जहिले पनि अन्तिम अवस्थामा वामदेव गौतमले साथ दिँदै आएका छन् । ओलीले पनि गौतमलाई यसअघि पार्टीको विधान समेत परिवर्तन गरेर उपाध्यक्ष बनाएका थिए । तर अब राष्ट्रियसभामा मनोनित गर्ने सन्दर्भमा ओलीले गौतमलाई गर्छन् कि गर्दैनन् भन्ने चासोको विषय बनेको छ । 

नेता गौतम २०७४ सालको निर्वाचनमा बर्दिया २ बाट पराजित भएका हुन् । पार्टीभित्रका केही नेताले नै आफूलाई चुनावमा हराएको आरोप लगाउँदै आएका नेता गौतमले पछिल्लो समय राष्ट्रियसभामा जाने इच्छा व्यक्त गर्दै आएका छन् । उपनिर्वाचन मार्फत् निर्वाचन लडेर संसद्मा आउने कुरापछि यसअघि विभिन्न समयमा बाहिर आएका थिए । 



यसअघि नेता गौतम उपनिर्वाचन मार्फत् संसदमा आउने सन्दर्भमा डोल्पा, पोखरा, काठमाडौं, पाल्पा लगायतका क्षेत्रबाट चुनाव लड्ने सन्दर्भमा बहस भएको थियो । तर गौतम ती क्षेत्रबाट चुनाव भने लडेनन् ।

  • प्रकाशित मिति : भदौ १५, २०७७ साेमबार १९:३९:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया