के वामदेव गौतम अब अर्थमन्त्री हुँदैछन् ?

पछिल्लो समय देखिएको विवाद समाधान हुने सम्भावना बढ्दै जाँदा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा सोमबार एकाएक नयाँ समाचारले निकै ठूलो तरंग ल्याएको छ । यो नयाँ समाचार हो, नेकपा उपाध्यक्ष वामदेव गौतमले आफू राष्ट्रिय सभामा जान तयार भएको अभिव्यक्ति दिनु । 

त्यसो त यसअघि पनि गौतमले आफूलाई राष्ट्रिय सभामा लैजान तयार भएका थिए । त्यति बेला चाहिँ उनको सर्तले नेकपालाई निकै ठूलो समस्यामा पारेको थियो । 

त्यति बेला गौतमले सर्त राखेका थिए– संविधान संशोधन गरेर राष्ट्रिय सभामा लैजाने भए म जान तयार छु । गौतमले राष्ट्रिय सभा सदस्य पनि देशको कार्यकारी हुन पाउनु पर्ने व्यवस्था गर्न माग राखेका थिए । 

तर, गौतमको यो माग पार्टीभित्र नै आलोचना भयो । उनको मागको आलोचना त भए पनि उनलाई पार्टीले १४ फागुनमा नै राष्ट्रिय सभामा लैजाने निर्णय गरिसकेको थियो । तर, प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले यो निर्णय कार्यान्वयन गरेनन् । 

बरु २० वैशाखमा नेकपामा त्यति बेला देखिएको विवाद समाधान गर्न वामदेव गौतमलाई अर्को अवसर सिर्जना गर्ने नेकपा सचिवालय बैठकले निर्णय गर्यो । त्यो अवसर थियो– उपयुक्त समयमा गौतमलाई निर्वाचनमा उठाउने र प्रतिनिधिसभामा लैजाने । 

नेपालमा त्यति बेला कोरोनाभाइरस महामारीका कारण लकडाउन लगाइएको थियो । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले त्यसैले सहज वातावरण पाएका थिए र सचिवालय बैठकमा आश्वासन दिएका थिए– यो महामारी अन्त्य भएपछि उपयुक्त समय आउँछ र हामीले यो सब काम गर्न सक्छौँ । 



तर, अहिले नेपालमा कोरोनाभाइरस महामारी थप उत्कर्षमा पुगेको छ । अर्कोतिर, नेकपाभित्रको विवाद पनि चरम उत्कर्षमा पुगेको छ । केहीअघि सम्म नेकपा विभाजन हुने सम्भावना बढेको नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले नै बताउन थालेका थिए । 

यो विभाजन हुने सम्भावना अब टरेको नेकपाका नेताहरुले महसुस गरेका छन् किनकि पछिल्लो समय पार्टीमा देखिएको विवादलाई समाधान गर्न महासचिव विष्णु पौडेलको नेतृत्वमा बनेको ६ सदस्यीय कार्यदलले पार्टी एकता कायम राख्न एक प्रतिवेदन पार्टीका दुई अध्यक्षलाई दिएको छ ।



र, यसमाथि छलफल गर्न नेकपाले सचिवालय बैठक पनि बोलाइसकेको छ । तर, यो सचिवालय बैठकअघि वामदेव गौतमले जुन अभिव्यक्ति दिएका छन्, त्यसले फेरि नेकपा वृत्तमा ठूलो हंगामा सिर्जना गरेको छ ।

यो समयमा आएर नेकपा उपाध्यक्ष गौतमले किन यस्तो अभिव्यक्ति दिए भन्ने प्रश्नका लागि सहज जवाफ छ । त्यो हो– २० भदौबाट नेकपाले राष्ट्रिय सभामा मनोनित गरेका अर्थमन्त्रीसमेत रहेका डा. युवराज खतिवडाको कार्यकाल सकिँदै छ । अनि उनलाई अब राष्ट्रिय सभामा २० भदौ अगाडि नै मनोनित गर्नु पर्ने हुन्छ । अब राष्ट्रिय सभामा खाली रहेको ठाउँमा वामदेव गौतमलाई मनोनित गरिएको खण्डमा डा. खतिवडाको अर्थमन्त्री कार्यकाल स्वतः सकिनेछ ।

यसको अर्थ हो, अब वामदेव गौतम राष्ट्रिय सभामा गएको खण्डमा नयाँ अर्थमन्त्री नियुक्त हुनेछन् ।

अनि १४ फागुनमा पार्टीले गरेको निर्णयलाई कार्यान्वयन गर्नु पर्ने गौतमको मागअगाडि सम्भवतः अहिले प्रधानमन्त्रीसँग अर्को विकल्प नहुन सक्छ । किनकि प्रधानमन्त्री ओली अहिले पार्टीमा अल्पमतमा परेका छन् र उनलाई गौतमले साथ छोडेको खण्डमा उनको प्रधानमन्त्री पद नै धरासयी बन्न सक्छ । 

ओलीमाथिका यी दबाबहरुका कारण नेकपा उपाध्यक्ष गौतमले चाहेको खण्डमा उनी अब छिट्टै राष्ट्रिय सभाका लागि मनोनित हुनेछन् । 

यो सम्भावना बढेसँगै प्रश्न जन्मिएको छ– के वामदेव गौतम नै अब अर्थमन्त्री हुने हुन् त ?

‘यस्तो नहोला भन्न सकिँदैन । वामदेव कमरेडले आफू राष्ट्रिय सभा जान तयार रहेको जुन अभिव्यक्ति दिनु भएको छ,’ नेकपाका एक नेताले फरकधारलाई भने, ‘त्यसले उहाँले कुनै जिम्मेवार मन्त्रालय सम्हाल्ने सहमति प्रधानमन्त्री ओलीसँग भइसकेको हो कि भन्ने आशंका जन्माएको छ ।’

फेरि प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय विभिन्न सन्चारमाध्यममा दिएका अन्तर्वार्तामा आवश्यक परेको खण्डमा मन्त्रिपरिषद् रिसफल गर्ने पनि बताएका छन् । त्यसो त नेकपामा पछिल्लो समय देखिएको विवाद समाधान गर्न सुझाव दिने उद्देश्यले बनेको कार्यदलले पनि यो सुझाव दिएको छ ।

मन्त्रिपरिषद् रिसफल गर्ने आन्तरिक तयारी, अर्थमन्त्री डा. खतिवडाको समयसीमा सकिनै लागेको यो समयमा वामदेव गौतमको अभिव्यक्तिले कतै उनी र प्रधानमन्त्री ओलीबीच उनलाई अर्थमन्त्री बनाउने सहमति भइसकेको त होइन भन्ने प्रश्न पनि जन्माएको छ ।

यस्तो किन भने प्रधानमन्त्री ओली नेकपा सचिवालयमा अल्पमतमा पर्दा र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपालले उनको राजीनामा माग गरिरहँदा १३ साउनमा अचानक आफूले त्यसअघि प्रचण्ड र नेपालसँग मिलेर अगाडि सारेका मागलाई लत्याएर गौतमले छ बुँदे प्रस्ताव सार्वजनिक गरेका थिए । ती प्रस्तावमा उनले ओलीको समर्थन गर्न खोजेको प्रष्ट बुझिन्थ्यो । 

आफूलाई राहत भएको महसुस गरेकाले पनि हुनुपर्छ, त्यही दिन वामदेव निवासमा पुगेका थिए प्रधानमन्त्री ओली । यसलाई पछि पारिवारिक भेट त भनियो तर त्यही दिन ओली र गौतमबीच सहमति भएको हुनसक्ने अनुमान र आशंकाहरु पनि गरिएका थिए ।

त्यसैले, अहिलेको परिस्थितिमा गौतमले आफू राष्ट्रिय सभामा जान चाहेको बताएपछि उनी अर्थमन्त्री हुनसक्ने सम्भावना बढेको नेकपाका नेताहरुले विश्लेषण गर्न थालेका छन् ।

  • प्रकाशित मिति : भदौ १५, २०७७ साेमबार २२:१:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया