के नेकपामा अब माधव नेपाल एक्लिएका हुन् ?

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र चुलिएको आन्तरिक विवाद हल गर्नेगरी सुझाव दिन गठित कार्यदलले प्रतिवेदन बुझाएपछि नेकपाका विवाद मत्थर जस्तै भएको छ ।

विवाद चुलिँदै जाँदा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले विवाद समाधानको सुझाव दिन महासचिव विष्णु पौडेलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका थिए ।

कार्यदलले प्रतिवेदन बुझाएको दुई सातापछि नेकपाले भदौ १८ गते सचिवालय बैठक बोलाएको छ । बैठकमा कार्यदलको प्रतिवेदनमाथि छलफल हुनेछ । १३ भदौका लागि बोलाइएको सचिवालय बैठक सचिवालयका दुई नेताहरु उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा कोरोना संक्रमितको सम्पर्कमा रहेको प्रमाणित भएपछि १८ भदौका लागि बैठक सारिएको थियो ।

कार्यदलले एक साता लगाएर ६ भदौमा बुझाएको १७ पृष्ठ लामो प्रतिवेदनमाथि अहिलेसम्म पार्टीका बैठकमा औपचारिक रुपमा छलफल हुन सकेको छैन । तर, नेकपाका केही नेताहरुले यही प्रतिवेदनले अहिले नेकपालाई फुटबाट जोगाएको बताउन थालेका छन् ।

कार्यदलले दिएको प्रतिवेदनलाई सबै नेताहरुले स्वागत गरिरहँदा नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर चाहिँ यो प्रतिवेदनबाट सन्तुष्ट छैन ।

 



माधव नेपाल एक्लिएका हुन ?

नेकपाभित्रको आन्तरिक समिकरण परिस्थिती, समयअनुसार फेरबदल हुँदै आएको छ । २०७४ सालको निर्वाचनमा दुई तिहाई बहुमत ल्याएपछि तत्कालिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भयो । सरकार गठन भएको केही समयपछि एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने घोषणा भयो । यो एकताको समयमा र त्यसको केही समयपछि सम्म पनि तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ओलीसँग नजिक थिए । तर, पछिल्लो समय यी दुईबीचको दूरी बढ्दै गएको छ ।



सरकारले काम राम्रोसँग गर्न नसकेको, पार्टी राम्रोसँग चलाउन नसकेको, नियुक्तिहरु गर्दा एकलौटीरुपमा गरेको भन्दै ओलीसँग रुष्ट भएका प्रचण्डले पछिल्लो समय बरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनालसँग नजिक भएर समिरण बनाएका थिए । उक्त समिकरणको विषयमा पूर्वमाओवादी केन्द्रका दोस्रो तहका नेताहरुले नै असन्तुष्टी जनाउँदै प्रधानमन्त्री ओलीसँग मिलेर अगाडी बढ्न प्रचण्डलाई दबाब दिँदै आएका थिए । 

यता प्रतिवेदनमा ओली–प्रचण्डलाई फाइदा हुनेगरी सुझावहरु आएपछि नेता नेपाल असन्तुष्ट बनेका छन् । यी सबै घटनाहरुले पछिल्लो समय अध्यक्ष प्रचण्डसँग मिलेर ओलीविरुद्धको समीकरण बनाएका बरिष्ठ नेता माधवकुमार नेपाल नेकपाभित्र एक्लिएको चर्चा चल्न थालेको छ । स्रोतका अनुसार कार्यदलको प्रतिवेदन सार्वजनिक भएसँगै उक्त प्रतिवेदनमाथी असन्तुष्टी जनाएका कारण उनीसँग अध्यक्ष प्रचण्ड रुष्ट बनेका छन् । 

नेता नेपाल पक्षले उठाउँदै आएको मूल विषय ‘एक व्यक्ति एक मुख्य पद’ भन्ने विषय नै प्रतिवेदनमा छुटाइएको भन्दै उनले असन्तुष्टी जनाएका हुन् । नेता नेपाल यतिसम्म असन्तुष्ट बनेका छन् भने उनले आफ्नो गुटका तर्फबाट कार्यदलमा पठाएका दुई नेताहरुको भूमिकामाथी नै प्रश्न उठाएका छन् ।

कार्यदलमा नेता नेपालका पक्षबाट नेता भीम रावल र सुरेन्द्र पाण्डे सदस्य थिए । यो विषयमा उनीहरुले कुरा नउठाएका भने होइनन । उनीहरुले कार्यदलमा यो विषय उठाउँदा अध्यक्ष केपी ओलीका तर्फबाट कार्यदलका सदस्य रहेका नेता शंकर पोख्रेलले अब्जेक्सन जनाएका थिए । त्यसपछि उनीहरुले आफ्नो माग छोडेका थिए । नेकपाको प्रदेश नम्बर ५ का इञ्चार्ज तथा मुख्यमन्त्रीको भूमिकामा रहेका नेता पोख्रेलले ‘एक व्यक्ति, एक पद’को विषय उठाएपछि निकै रिसाएको कार्यदलका एक नेताले बताए । 

आफ्नो मूल विषय नै कार्यदलमा नपरेको भन्दै असन्तुष्ट रहेका नेता नेपालसँग यो घटनापछि नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड रुष्ट बनेका छन् । जसका कारण अहिले नेता नेपाल पार्टीभित्र एक्लिएको हल्ला चल्न थालेको छ । स्रोतका अनुसार पछिल्लो समय नेता प्रचण्ड र नेता नेपालबीच भेट तथा संवाद हुन सकेको छैन । 

त्यसो त नेकपाको विवादको टुंगो भने आगामी भदौ १८ गते बस्ने नेकपाको सचिवालयको बैठकले टुंगो लगाउनेछ । उक्त बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनमा भएका विषयहरुमा बुँदागत रुपमा छलफल हुनेछ । त्यसपश्चात् नेकपाको विवादको पाटोका विषयमा टुंगो लाग्नेछ । 

प्रधानमन्त्री ओलीले राजिनामा नदिने सहमति भएपछि कार्यदल गठन भएकाले अब त्यस विषयमा छलफल नै नहुने नेकपा स्थायी कमिटीका एक सदस्य बताउँछन् ।

‘उहाँ (प्रधानमन्त्री ओली)ले दुवै पद छोड्नु नपर्ने निश्चित भएपछि नै कार्यदल गठन भएको थियो’, ती नेता भन्छन्, ‘यसअघि नै सहमति भइसकेका कारण अब त्यसतर्फ छलफल हुने संभावना छैन । प्रतिवेदनले पाँच वर्षका लागि नै ओली प्रधानमन्त्री रहिरहने सुनिश्चित गरेको छ ।’

प्रतिवेदनमा दुई अध्यक्षको जिम्मेवारी परिभाषित गरिएको नेकपा स्थायी कमिटी सदस्य किरण गुरुङ बताउँछन् । ‘दुई अध्यक्षताको सहमतिमा पार्टी र सरकार सञ्चालन गर्नु नै पार्टी एकताको भावना हो । अहिलेको कार्यदलको प्रतिवेदनले पनि त्यो भावना बोकेको छ,’ उनले भने ।  

प्रतिवेदनले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको जिम्मेवारी परिभाषित गर्दै पार्टीलाई एकताको महाधिवेशनतर्फ अघि बढ्नुपर्ने सुझाव दिएको छ ।

‘प्रतिनिधिसभाको बाँकी अवधि पनि अध्यक्ष ओली नै प्रधानमन्त्री रहने र मूलतः सरकारको काममा केन्द्रित हुने । अध्यक्ष प्रचण्डले कार्यकारी अधिकार सहित मूलतः पार्टीका बैठकहरु सञ्चालन, निर्णय कार्यान्वयन र समग्र पार्टी कामको जिम्मेवारीमा केन्द्रित हुने’, प्रतिवेदनले भनेको छ ।  

१० असारदेखि शुरू भएको नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको राजिनामाको विषय चर्को रुपमा उठेको थियो । तर त्यस विषयलाई प्रतिवेदनले खारेज गर्दै ओलीले दुवै पदबाट राजिनामा दिनुनपर्ने उल्लेख गरेको छ । 

लगातार १० पटकसम्म स्थगित भएर एक महीनापछि, १३ साउनमा बोलाइएको स्थायी कमिटी बैठकबारे दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले छुट्टा–छुट्टै निर्णय लिएपछि नेकपा एक समय विभाजनको संघारमा पुगेको हो कि भन्ने आशंका गरिएको थियो । तर, ३० साउनमा विवाद समाधानबारे सुझाव दिन कार्यदल गठन भएपछि विवाद समाधान उन्मुख भएको नेकपा नेताहरु नै अभिव्यक्ति दिन थालेका छन् ।

  • प्रकाशित मिति : भदौ १६, २०७७ मंगलबार ९:३३:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया