नेपाल टेलिकमले कोरोना महामारीको बेला अनलाइन माध्यममार्फत कक्षा सञ्चालनको लागि सहज रुपमा डाटा उपलब्ध गराउन प्याब्सनसँग सहकार्य गरेको छ ।
टेलिकमले यसअघि विश्वविद्यालय अनुदान आयोगसँग सम्झौता गरी उपलब्ध गराइएको ‘ह्याप्पी लर्निङ प्याक’ विद्यालयस्तरका विद्यार्थी तथा शिक्षकका लागि पनि उपलब्ध गराउन प्याब्सनसँग सम्झौता गरेको हो ।
प्याकेज लिन चाहने प्रयोगकर्ताले तीन सय १५ रुपैयाँमा २४ जिबी र पाँच सय रुपैयाँमा ३५ जिबी डाटा प्राप्त गर्न सक्ने बताइएको छ । २४ जिबी डाटा प्याकेजमा २० जिबी डाटा जुम, माइक्रोसफ्ट टिम्स र गुगल मिटमा ई–लर्निङ एप्लिकेशन प्रयोग गर्नका लागि र बाँकी चार जीबी डाटा अन्य कुनै पनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिने बताइएको छ ।
यसैगरी ३५ जिबी डाटा प्याकेजमा ३० जिबी डाटा जुम, माइक्रोसफ्ट टिम्स र गुगल मीटमा ई–लर्निङ एप्लिकेशन प्रयोग गर्नका लागि र बाँकी पाँच जीबी डाटा अन्य कुनै पनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिने टेलिकमले जनाएको छ ।
ह्याप्पी लर्निङ प्याक नेपाल टेलिकमले प्रदान गर्ने जिएसएम मोबाइलको डाटा सेवामार्फत आफूलाई उपयुक्त हुने कुनै पनि समयमा प्रयोग गर्न सकिनेछ । यी दुवै प्याकेजको समयावधि २८ दिनको हुने बताइएको छ ।
सम्झौता अनुसार नेपाल टेलिकमको ‘ह्याप्पी लर्निङ प्याक’ प्रयोग गर्नका लागि प्याब्सनले सम्पूर्ण विद्यालयलाई अनुरोध सहितको जानकारी पठाउने बताइएको छ । जानकारी प्राप्त भएपछि विद्यालयले प्याकेज प्रयोग गर्नका लागि आफ्ना विद्यार्थीको मोबाइल नम्बरको सूची टेलिकमले तोकेको इमेलमा पठाउनु पर्ने बताइएको छ ।
विद्यार्थीले कलेजको सहायता विना नै आफै नेपाल टेलिकमको वेबसाइटमा गएर आवश्यक विवरण लेखी ह्याप्पी लर्निङ प्याक लिनका लागि दर्ता गर्न सक्ने टेलिकमले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।