कोरोना संक्रमितका लागि प्लाज्मा दान गर्न निको भएकाहरुलाई चिकित्सक संघको अपिल

नेपाल चिकित्सक संघले कोरोना संक्रमण निको भएकाहरुलाई प्लाज्मा दान गर्न अपिल गरेको छ । मंगलबार एक विज्ञप्ति जा।री गर्दै संघले १ पिन्ट प्लाज्मा’बाट हजारौँ मानिसलाई जोगाउन सकिने भएकोले यो पवित्र कार्यमा संलग्न हुन कोरोना भाइरस संक्रमित भइ निको भएका बिरामीलाई अपिल गरेको हो । 

संघले यसरी अन्य संक्रमित बिरामीहरुको जीवन रक्षा गर्नका लागि ‘प्लाज्मा’ दान गर्ने सम्पूर्ण व्यक्तिलाई सम्मान गर्ने भएको छ । प्लाज्मा दान गर्ने सम्पूर्ण व्यक्तिहरुको विवरण संकलन गरी निकट भविष्यमा ‘प्रशंसा–पत्र’सहित उच्च सम्मान व्यक्त गर्ने निर्णय गरिएको संघले विज्ञप्तिमार्फत जनाएको छ । 

संघका महासचिव डा. बद्री रिजालद्वारा हस्ताक्षरित विज्ञप्तिमा  भनिएको छ, ‘कोरोना भाइरस संक्रमणको निदानका लागि हालसम्म प्रभावकारी औषधि तथा इन्जेक्सनको अनुसन्धान भइरहेको विद्यमान अवस्थामा ‘प्लाज्मा’ थेरापी वरदान साबित भएको तथ्यलाई हृदयगंम गर्दै संक्रमित बुवाआमा, दाजुभाइ, दिदीबहिनीहरुको जीवन रक्षाका निम्ति कोरोना भाइरसलाई पराजित गर्नुभएका तपाईं सम्पूर्ण योद्धाहरुको ‘१ पिन्ट प्लाज्मा’बाट हजारौँ मानिसलाई जोगाउन सकिने पवित्र कार्यमा संलग्न हुन नेपाल चिकित्सक संघ सबैमा हार्दिक अपिल गर्दछ ।’

संघले संक्रमितहरुको मनोबल उच्च पार्दै उपचारमा नीजहरुकै सहयोग र प्लाज्मा दानबाट जीवन रक्षा गरी समाजमा पुनर्स्थापना गराउन सकिने सन्देशसहितको अभियान सञ्चालन गरिने जानकारी गराएको छ ।

‘यस मानवीय कार्यमा संलग्न हुने तपाईलाई कुनै पनि शारीरिक तथा मानसिक असर नपर्ने र तपाईले गर्नुभएको अमूल्य सहयोग र योगदानका कारण अन्य संक्रमित व्यक्तिहरुको समेत जीवन रक्षामा उल्लेख्य सहयोग पुग्ने व्यहोरा समेत अवगत गराइन्छ ’, विज्ञप्तिमा भनिएको छ।

प्लाज्मा थेरापी कोरोना भाइरस संक्रमितलाई गरिने एउटा उपचार विधि हो । कोरोना संक्रमण देखिएर निको भइसकेको १४ दिनपछि पिसिआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आएका व्यक्तिहरुको रगतबाट छुट्याइएको एन्टिबडीसहितको ‘प्लाज्मा’ अर्को संक्रमित व्यक्तिलाई दिइन्छ ।
 





  • प्रकाशित मिति : भदौ १६, २०७७ मंगलबार १८:४१:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया