बैतडीमा डेंगु र स्क्रब टाइफसका बिरामी बढेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीले जानकारी दिएको छ । स्वास्थ्य कार्यालयका अनुसार गत साउनयता मात्रै बैतडीमा स्क्रब टाइफसका ४९ जना बिरामी भेटिएकाा छन् ।
दशरथचन्द नगरपालिकाका २५ महिला र ११ पुरुष गरी ३६ जनामा स्क्रब टाइफसको सङ्क्रमण पुष्टि भएको छ । यस्तै, पाटन नगरपालिकाका तीन महिला र एक पुरुष गरी चारजना, दोगडाकेदार गाउँपालिकाका चार महिला र दुई पुरुष गरी ६ जनालाई स्क्रब टाइफस देखिएको छ ।
त्यस्तै, मेलौली नगरपालिकाका एक महिला, पञ्चेश्वर गाउँपालिकाका एक पुरुष र सिगास गाउँपालिकाका एक महिलामा स्क्रब टाइफस पुष्टि भएको छ । जिल्ला अस्पताल बैतडी र अन्य स्वास्थ्य संस्थामा उपचारका लागि पुगेका व्यक्तिहरुको आरडीटी जाँच गर्दा स्क्रब टाइफस देखिएको हो ।
गत वर्ष बैतडीमा ४० जनामा स्क्रब टाइफसको सङ्क्रमण पुष्टि भएको थियो । यो वर्ष भने एक महिनाकै अवधिमा ४९ जनामा स्क्रब टाइफसको सङ्क्रमण पुष्टि भएको कार्यालयको भनाइ छ ।
दशरथचन्द नगरपालिकाका दुई महिला र एक पुरुष गरी तीनजनामा डेङ्गु रोग देखापरेको छ । डेङ्गु भएमा उच्च ज्वरो आउने लक्षण देखिन्छ । त्यस्तै, स्क्रब टाइफस भएमा उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, शरीरमा राता डाबर आउनेलगायत लक्षण देखापर्छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।