लकडाउन र निषेधाज्ञाले अर्थतन्त्र ने धरापमा पर्न लागेको विश्लेषण भइरहेको अवस्थामा सेयर बजारमा भने चमक देखिएको छ ।
बुधबार बजारमा ४ अर्ब १८ करोड रुपैयाँको कारोबार भएको छ भने सूचक १५१० अंकमा बन्द भएको छ । यसअघि २०७६ फागुन १५ मा ४ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएको थियो । नेपाल स्टक एक्सचेञ्जका अनुसार बजार पुँजीकरण २० खर्ब रुपैयाँ पुगेको छ । सबै क्षेत्र बन्द भएर सेयर बजार मात्र खुला हुँदा सेयरमा सुधार देखिएको विश्लेषकको दाबी छ ।
बुधबार बजार खुलेदेखि उकालो लागेको नेप्से परिसूचकको उच्च बढ्ने १० कम्पनीको सूचीमा प्रायः जलविद्युत् कम्पनी रहेका छन् । लामो समयदेखि प्रतिकित्ता १ सय रुपैयाँभन्दा तल रहेको जलविद्युत् कम्पनीको सेयरमा बुधबार पोजेटिभ सर्किट लागेको छ । बुधबार जलविद्युत् कम्पनीको सेयर मूल्य औषतमा ९.२३ प्रतिशतले उकालो लागेको छ ।
पछिल्लो समय नेप्से परिसूचक उकालो लाग्दै गर्दा लगानीकर्ता सस्तो मूल्य भएका कम्पनीका सेयरको खोजीमा लागेकाले जलविद्युत् समूहको सेयर मूल्यमा चाप देखिएको विश्लेषकको भनाइ छ ।
पछिल्लो समय बजारमा सेयर कर्नरिङले बढी प्राथमिकता पाएकाले जलविद्युतमा आकर्षित हुन पुगेको सम्बद्ध लगानीकर्ता बताउँछन् ।
बजारमा बीमा समूहका परिसचक घटे पनि टर्नओभर भने उच्च रहेको छ । दोहोरो अंकले बढेको बजारमा बीमा समूहका परिसूचक भने तेहरो अंकमा घट्न पुगेका छन् । २५ अंकले बढेको नेप्से परिसूचकमा निर्जीवन बीमा समूहको परिसूचक भने १२६ अंकले घट्न पुगेको छ । यसैगरी जीवन बीमा समूहको परिसूचक पनि ८८ अंकले ओरालो लागेको छ ।
जलविद्युतले उचालेको बजारमा कारोबार रकम भने बीमा समूहको परिसूचकले बढाएको छ । बुधबार बजारमा नेपाल रिइन्स्योरेन्सको सबैभन्दा बढी साढे ६७ करोड रुपैयाँको सेयर कारोबार भएको छ । बजारमा सबैभन्दा बढी कारोबार हुने १० कम्पनीमा ७ कम्पनी बीमा समूहका छन् ।
बजारमा बिमाबाहेक समूहका परिसुचक भने उकालो लागेका छन् । बुधबार सबैभन्दा बढी जलविुद्यत् समूहको परिसूचक ९२ अंकले उकालो लागेको छ भने बजारमा सबैभन्दा बढी प्रभुत्व रहेको बैंकिङ समूहको परिसूचक १९.७८ अंकले बढेको छ ।
यसैगरी विकास बैंक समूह २६, व्यापार समूहको १६, अतिरिक्त ३७, उत्पादनमूलक ३१, र माइक्रोफाइनान्स समूहको परिसूचक १७ अंकले उकालो लागेको छ । बुधबार इन्स्योरेन्स समूहका कम्पनीको टर्नओभर उच्च हुँदा कारोबार रकम बढेर ४ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । जसमा १८६ कम्पनीको ९६ लाख ८६ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।