रौतहटको माधवनारायण नगरपालिका–२ मा रहेको हनुमान मन्दिरका पुजारीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
गोनाही नगरपालिका वडा नम्बर १ करुनिया बस्ने वर्ष ३६ का नरेश भन्ने राम नरेश राउत पटेल र सोही ठेगाना भएका वर्ष २८ का बालकुमार पटेल पक्राउ परेका हुन् ।
हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साह भदौ ३ गते राति कञ्चटमा गोली लागेको अवस्थामा मृत भेटिएका थिए । उनको हत्यारा पत्ता लगाउन माग गर्दै देशव्यापी रुपमा आन्दोलन भएका थिए ।
प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको विशेष प्रहरी टोलीले बौधिमाई नगरपालिका वडा नम्बर ७ वडकी बंकुल एरियाबाट उनीहरुलाई बुधबार बिहान पक्राउ गरेको हो ।
उनीहरुले अपराध स्वीकार समेत गरिसकेको प्रहरीले बताएको छ । रामनरेश पटेलले कटुवा पेस्तोल प्रयोग गरी पुजारीको हत्या गरेको र बालकुमार पटेलले घटनास्थलको निगरानी राखेको बुझिएको छ ।
पुजारीसँग ब्याजमा रकम लिएको र रकम तिर्ने क्रममा विवाद भएपछि राम नरेश पटेलले उनको हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।