ओली–गौतम गोप्य भेट, के भयो छलफल ?
फाइल तस्वीर ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले आफू राष्ट्रिय सभा जान तयार रहेको र पार्टीले यसअघि नै निर्णय गरिसकेकाले आफूलाई राष्ट्रिय सभा लैजानु पर्ने माग राखेपछि राष्ट्रिय राजनीति र नेकपाभित्रको राजनीति तरंगित भएको छ । 

यसअघि नेकपाले २० फागुनमा बसेको सचिवालय बैठकमा उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेको थियो । तर, यो निर्णय अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन । निर्णय कार्यान्वयन नभएकाले उपाध्यक्ष गौतम नेतृत्वप्रति रुष्ट भएका छन् । 

त्यसैले बुधबार साँझ उनले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर आफूलाई सहयोग गर्न अनुरोध गरेका छन् । ‘उहाँहरुबीच राष्ट्रिय सभामा अब पार्टीले गर्ने मनोनयनकै विषयमा छलफल भएको थियो,’ प्रचण्डनिकट एक नेताले फरकधारलाई भने, ‘वामदेव कमरेड साँच्चिकै राष्ट्रिय सभामा जान चाहनुहुन्छ र सरकारमा सहभागी हुन पनि । उहाँको यो चाहनामा अध्यक्ष प्रचण्ड पनि सकारात्मक हुनुहुन्छ ।’

यही विषयमा छलफल गर्न नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली  र पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार भेट भएको थियो । तर, यो छलफलमा कुनै निष्कर्ष निस्किएन । नेकपा स्रोतका अनुसार प्रधानमन्त्री ओली राष्ट्रिय सभामा यसपटक अर्थमन्त्रीसमेत रहेका डा. युवराज खतिवडालाई नै लैजान चाहन्छन् ।

तर, गौतमले आफ्नो इच्छा जाहेर गरिसकेपछि यसलाई सम्बोधन गर्ने पक्षमा प्रचण्ड छन् ।

बालुवाटारमा ओली र प्रचण्डबीचको छलफल सकिएपछि गौतम ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । 



स्रोतका अनुसार यो भेटमा ओलीले फेरि एकपटक गौतमलाई प्रतिनिधिसभाको उम्मेदवार बन्न आग्रह गरेका छन् । तर, गौतमले अहिले प्रतिनिधिसभाको उम्मेदवार बन्न सम्भव नभएको बताएका छन् । झन्डै एक घन्टा भएको यो छलफलमा पनि कुनै निष्कर्ष निस्किन नसकेको स्रोतको दाबी छ । 

बिहीबार दिउँसो नेकपाले सचिवालय बैठक बोलाएको छ । यो सचिवालय बैठकले गौतमको यो मागबारे निर्णय गर्नसक्ने अनुमान गरिएको छ ।



  • प्रकाशित मिति : भदौ १७, २०७७ बुधबार २२:४२:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया