प्रधानमन्त्री ओलीकाे प्रश्न– मन्त्रिपरिषद् पुनर्गठनको हल्ला कसले चलायो ?
फाइल फोटो

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन आफुविरुद्ध गरिएको प्रचार मात्र भएको बताएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले त्यस्तो बताएका हुन् ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले तत्काल मन्त्रिपरिषद् पुनर्गठन नहुने संकेत गर्दै मन्त्रिपरिषद् पुनर्गठन आफुविरुद्धको अनर्गल प्रचार मात्र भएको बताए । ‘हल्लाको पछि नलाग्नुहोस्, मन्त्रीपरिषद् पुनर्गठन हुँदैन । ढुक्कसँग आफ्नो जिम्मेवारी पूरा गर्न लाग्नुहोस्,’ बैठकमा प्रधानमन्त्री ओलीले भने, ‘सबै मन्त्रीले आफ्ना मन्त्रालयको कमाण्ड लिएर चलाउनुहोला, मिडियामा आएका हल्ला अडकलका भरमा आएका हुन् ।’ 
मन्त्रिमण्डल पुनर्गठनको कुरा कहाँबाट आएको हो भन्ने प्रश्न गर्दै उनले भने, ‘कसरी हल्ला चलेको छ, मैले कहीँ बोलेकै छैन ।’बैठकमा प्रधानमन्त्री ओलीले रिक्त रहेको ठाउँमा नयाँ मन्त्री नियुक्त गरे पनि सिंगो मन्त्रिपरिषद् भने पुनर्गठन नहुने संकेत गरेको एक मन्त्रीले बताए । 
गत असारबाट शुरु भएको नेकपाको आन्तरिक विवाद समाधान गर्न महासचिव विष्णु पौडेलको नेतृत्वमा गठित सुझाव कार्यदलले मन्त्रिपरिषद् पुनर्गठन गर्न सुझाव दिएको छ । हाल उक्त कार्यदलको प्रतिवेदनमाथि छलफल भइरहेका बेला प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन नहुने संकेत गरेका हुन् । 





  • प्रकाशित मिति : भदौ १९, २०७७ शुक्रबार १५:३२:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया