कोरोना प्रभावले कुखुराको मासुको मूल्य घट्यो

तीन सातादेखि जारी निषेधाज्ञाले फर्ममा तयारी अवस्थामा रहेका कुखुरा बजारसम्म नपुग्दा मासुको मूल्यमा गिरावट आएको छ । पोल्ट्रीको राजधानीका रुपमा परिचित चितवनबाट बाहिरी जिल्लासम्म कुखुरा निर्यात गर्न नसक्दा मासुको मूल्यमा गिरावट आएको हो ।

एक साताअघि प्रतिकेजी खुद्रा रु ४२० रहेको कुखुराको मासुको मूल्य अहिले रु २०० पुगेको छ । कोरोना सङ्क्रमण तीव्र गतिमा बढ्दै गएपछि ५० भन्दा बढी जिल्लामा निषेधाज्ञा गरिएको छ । कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि लागु गरेको निषेधाज्ञाका कारण जिल्लाका मासु पसलहरु केही घण्टामात्र खुल्ने गरेका छन् ।

नेपाल कुखुरा व्यवसायी मञ्चका कार्यकारी अधिकृत शिवप्रसाद बरालले पोल्ट्री व्यवसाय अति संवेदनशील क्षेत्र भएकाले निर्वाधरुपमा सञ्चालन नहुँदा कृषक प्रत्यक्ष मारमा परेको बताए । ‘४५ दिनभन्दा बढी कुखुरा पाल्दा उत्पादन लागत पनि उठ्दैन,’ उनले भने, ‘कुखुरा र तरकारी एउटै जस्तै हो । लामो समयसम्म भण्डार गरेर राख्न मिल्दैन । अहिले मासु खपत हुने ठाउँ बन्द जस्तै छ ।’

नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष टीकाराम पोखरेलले बजार खपतको अनुमान गरेर कुखुराको चल्ला हाल्ने गरे पनि मुख्य खपत हुने ठाउँ बन्द हुँदा समस्या उत्पन्न भएको बताए । सामान्यतया ब्वायलर कुखुराको चल्ला कोरल्न २२ दिन लाग्छ । २२ दिनअघि गरेर अनुमान अहिले नमिल्दा कुखुराको उत्पादन बढी र खपत कम हुँदा मूल्यमा भारी गिरावट आएको उनको भनाइ छ ।  

निषेधाज्ञाको प्रभाव चल्ला उत्पादन गर्ने ह्याचरी पनि परेको छ । प्रति साता ४५ लाख चल्ला उत्पादन हुने यहाँ लकडाउनका कारण ३० लाख प्रति साता उत्पादन हुने गरेको छ । उत्पादन भएको चल्लामध्ये ५० प्रतिशतमात्र बिक्री हुने गरेको अध्यक्ष पोखरेल बताए । बाँकी चल्ला अहिले पनि मारेरै फाल्नुपर्ने अवस्था छ । लागत मूल्यको ५० प्रतिशत कममा पनि चल्ला बिक्री भएका छैनन् ।

एउटा चल्लाको हालको मूल्य रु ३० छ भने लागत मूल्य रु ५६ पार्न आउने व्यवसायी बताउँछन् । उपत्यकामा पाँच लाख केजी मासु खपत हुन्छ भने नेपालभर दैनिक १० लाख किलो मासु खपत हुने गर्दछ । यहाँबाट काठमाडौँ, पोखरा र बुटवलमा कुखुरा निर्यात गर्ने गरिन्छ ।





  • प्रकाशित मिति : भदौ २०, २०७७ शनिबार १४:५१:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया