बाग्लुङमा बाढीका कारण ११ जलविद्युत् आयोजनामा क्षति

बुधबार राति बाग्लुङको भुजीखोलामा आएको बाढीका कारण ११ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । लघुजलविद्युत् आयोजनामा क्षति पुगेपछि ढोरपाटन नगरपालिकाको बाढीग्रस्त क्षेत्रमा विद्युत् र सञ्चार सेवा विच्छेद भएको छ । 

मोबाइल टावरमा विद्युत् आपूर्ति रोकिँदा सञ्चार अवरुद्ध भएको छ । सञ्चार सेवा विच्छेद हुँदा वेलैमा जानकारी लिनदिन र समन्वयमा कठिनाइको स्थिति छ । उद्धारकर्ता र सहयताकर्मीसँग पनि सम्पर्क स्थापित हुन सकेको छैन । 

विपद्स्थलमा नपुगेसम्म बाढी प्रभावितका भोगाइ र पीडा बाहिर आउन सकेका छैनन् । लघुजलविद्युत् आयोजनामा क्षति पुग्दा वडा नं. १, २, ५, ६, ७, ८ र ९ वडा अन्धकारमय बनेको छ । बिजुली नहुँदा उद्धार, व्यवस्थापनलगायतका काममा समस्या भइरहेको छ । 

क्षति पुगेका आयोजनामध्ये कोही बृहद् र कुनै आंशिक मर्मत, सुधार गर्नुपर्ने स्थिति छ । विद्युत् सुचारु गर्न केही समय लाग्ने देखिन्छ । 

केन्द्रीय विद्युतीकरण नभएका कारण त्यसक्षेत्रका सर्वसाधारण लघु जलविद्युत्का भरमा छन् । लामो समय विद्युत् अवरुद्ध भएपछि मोबाइल सेवा पनि प्रभावित हुने गर्छ । ब्याट्रीले केही घण्टा मात्र थेगेपनि त्यसपछि टावर बन्द हुन्छ । 

बाढीले बुर्तिबाङ–ढोरपाटन सडक ठाउँठाउँमा क्षतविक्षत पारेको छ । सडक अबरुद्ध हुँदा बाढी प्रभावितलाई राहत सामग्री पुर्याउनसमेत कठिनाइ भइरहेको छ । अहिले त्यस क्षेत्रमा पुग्न दोगाडीबाट झण्डै तीन घण्टा पैदल हिँड्नुपर्छ । बाढीले सबैभन्दा बढी वडा नं. ९ मा क्षति पुर्याएको छ । 



बाढीमा परी १६ जनाको मृत्यु भएको छ । २२ जना अझै बेपत्ता छन् । बाढीबाट ८० घरमा पूर्ण र ५१ घरमा आंशिक क्षति पुगेको छ । एउटा स्वास्थ्य चौकी भवन, दुई विद्यालय, ११ वटा झोलुङ्गे, पाँचवटा ढलान र दशवटा काठे पुलमा क्षति पुगेको जनाइएको छ ।



  • प्रकाशित मिति : भदौ २०, २०७७ शनिबार १७:४०:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया