अबको अर्थमन्त्री को ? गौतम, पौडेल वा पाण्डे !

युवराज खतिवडाले शुक्रबार राजीनामा दिएपछि अहिले अर्थ मन्त्रालय प्रधानमन्त्री केपी शर्मा ओलीले नै सम्हालेका छन् । अब प्रधानमन्त्रीले अर्थमन्त्रीमा कसलाई नियुक्त गर्लान् भन्नेमा धेरैको चासो छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल मन्त्रिपरिषद् पुनर्गठन नहुने बताए पनि ढिलो–चाँडो सो मन्त्रालय परिपूर्ति गर्नुपर्ने दबाब प्रधानमन्त्रीलाई छ । 

सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने कोटाअन्तर्गत राष्ट्रिय सभाको सदस्य बनेर अर्थमन्त्री बनेका खतिवडा दुईवर्ष ६ महिनाको कार्यकाल पूरा गरेर बिदा भएका छन् । उक्त कोटामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई पठाउने ६ महिनाअघिको निर्णय पार्टीले कार्यान्वयन गर्ने भएपछि खतिवडा बिदा भएका हुन् । खतिवडाको म्याद ६ महिनाअघि नै समाप्त भइसकेको थियो । यद्यपि, ६ महिनासम्म सांसद नभए पनि मन्त्री बन्न पाउने व्यवस्थाअन्तर्गत उनी पाँच महिनाअघि पुनः अर्थमन्त्रीमा नियुक्त भएका थिए । 

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओलीले रुचाएका खतिवडालाई नै पुनः सांसद मनोनीत गरेर मन्त्री बनाउने ओलीको तयारी रहेको चर्चा चलिरहेका बेला पार्टीले गौतमलाई राष्ट्रिय सभामा पठाउने भएपछि खतिवडाले आफू बाधक नबन्ने भन्दै मन्त्री पदबाट राजीनामा दिएर बाटो खाली गरिदिएका छन् । मन्त्री खतिवडाको राजीनामासँगै नेकपाभित्र अबको अर्थमन्त्री को बन्ने भन्ने चर्चा सुुरु भएको छ । 

अर्थमा क–कसको सम्भावना ?

आगामी अर्थमन्त्रीमा पूर्वएमालेकै प्रतिनिधित्व रहने लगभग पक्का छ । सो पदका लागि नेकपा उपाध्यक्ष वामदेव गौतम, महासचिव विष्णु पौडेल र पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको नाम चर्चामा छ । 



सरकारले राष्ट्रियसभामा सिफारिस गर्ने भएपछि उपाध्यक्ष गौतमले अर्थ मन्त्रालय सम्हाल्न जाने इच्छा देखाएका छन् । स्रोतका अनुसार उनले आफूनिकटका नेताहरुलाई अर्थ मन्त्रालयसहित दोस्रो वरीयता लिएर सरकारमा जाने बताइसकेका छन् । ६ महिनाअघि गरिएको उक्त निर्णय कार्यान्वयन गराउनका निम्ति नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाललगायतले यसपटक पनि पहलकदमी गरेका थिए । गौतमलाई दोस्रो वरीयतासहित सरकारमा लैजानका लागि प्रधानमन्त्री ओलीइतर पक्षले लबिङ सुुरु गरिसकेको छ । 

प्रधानमन्त्री ओलीले भने अर्थ मन्त्रालय सकेसम्म आफैँले राख्न चाहेका छन् । खतिवडाको राजीनामासँगै सो मन्त्रालयको जिम्मेवारी आफैँले लिएका प्रधानमन्त्री ओली कोभिड–१९को महामारीको समय रहेकाले सकभर अर्थ मन्त्रालय अरुलाई नदिने पक्षमा रहेको स्रोतको भनाइ छ । स्रोतका अनुसार खतिवडालाई आर्थिक सल्लाहकार बनाएर बालुवाटारबाटै अर्थ मन्त्रालय चलाउने प्रधानमन्त्री ओलीको चाहना छ । 



अर्थ मन्त्रालयको जिम्मेवारी आफूबाहेक अरु कसैलाई दिनै परे उनको पहिलो प्राथमिकता आफ्ना विश्वासपात्र नेकपा महासचिव विष्णु पौडेल हुन सक्ने स्रोतको भनाइ छ । यसअघि पनि अर्थमन्त्री चलाइसकेका र संकटको बेला आफूलाई सहयोग गर्दै आएका पार्टी महासचिव पौडेललाई अर्थ मन्त्रालय दिन सकिने ओलीले आफूनिकटलाई बताइसकेका छन् । नेता पौडेललाई प्रचण्ड–नेपाल पक्षले पनि स्विकार्ने ओलीको विश्वास छ । 

यसैगरी, अर्को विकल्प खोज्नुपर्ने अवस्थामा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट नेता सुरेन्द्र पाण्डेलाई ओलीले अर्थ मन्त्रालयको जिम्मेवारी दिन सक्छन् । पाण्डेलाई अर्थ मन्त्रालय दिएमा नेपाल पक्षको पनि साथ रहने ओलीको बुझाइ छ । पछिल्लो समय प्रधानमन्त्री ओलीलाई साथ दिँदै आएका कारण पनि उनले नेता पाण्डेलाई ल्याउन सक्ने सम्भावना छ । 

  • प्रकाशित मिति : भदौ २०, २०७७ शनिबार १९:६:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया