इन्टरनेटमा किन बारम्बार दोहोरिन्छ स्पिडको समस्या ? : कम्पनीबीचको अस्वस्थ प्रतिस्पर्धा मुख्य कारण

नेपालमा इन्टरनेट प्रयोगकर्ताले पैसा तिरेअनुसार सेवा नपाएको गुनासो सुनिँदै आएको छ । सेवा प्रदायकले बिक्री गर्ने बेला भनेको ‘स्पिड’मा इन्टरनेट चलाउन पाउनु नेपालीको सपनाजस्तै बनेको छ । यस विषयमा सधै सेवा प्रदायक र उपभोक्ताबीच विवाद समेत हुने गरेको छ । 


उपभोक्ताले भने अनुसारको सेवा नपाउनुमा कम्पनीको अनेक बाध्यता रहेको सेवा प्रदायकको भनाइ छ । शनिबार आयोजित एक कार्यक्रममा सेवा प्रदायकका प्रतिनिधिले विदेशबाट आयात हुने ब्यान्डविथ, सर्भर र इन्टरनेट ‘सेयरिङ’ तथा वितरणका लागि प्रयोग हुने उपकरणका यस्तो समस्या आएको बताए । नेपालमा इन्टरनेट प्रयोग गरेर भिडियो हेर्ने प्रचलन व्यापक बनिरहेकाले आयात गरिएको सीमित ब्यान्डविथ नै सबैतिर प्रयोग हुँदा इन्टरनेटको गति कम भएको उनीहरूको तर्क छ ।


भने अनुरुपको सेवा नपाउनु जिम्मेवारी इन्टरनेट सेवा प्रदायक मात्र नहुने सुबिसु इन्टरनेटका प्रमुख कार्यकारी अधिकृत विनयमोहन साउदको भनाइ छ । चर्को प्रतिस्पर्धाका कारण सेवा प्रदायकले आफूसँग भएको क्षमताभन्दा धेरै एमबिपिएस दिन्छु भनेका पनि हुन सक्छन्, उनले भने, ‘हामी त उपभोक्ता र सर्भर अथवा एप्लिकेसनबीचको पुल हौँ । कुनै एकमा समस्या आउँदा इन्टरनेटको गति कम हुन्छ र गाली हामी खान्छौँ ।’ सेवा प्रदायकले यसमा सबै पक्षबीचको गल्ती हुने भने पनि सीमित ब्यान्डविथलाई आफ्नो क्षमताभन्दा बढी ग्राहकलाई वितरण गर्न थालेपछि नै इन्टरनेटमा समस्या सुरु हुने गरेको सरोकारवालाको भनाइ छ ।


यो समस्या कहिल्यै समाधान हुन नसक्ने इन्टरनेट सेवा प्रदायक भायनेटका प्रबन्ध निर्देशक विनय बोहराको दाबी छ । भविष्यमा यस्ता समस्या थप बल्झिने उनको तर्क छ । अहिले टिकटकका कारण नै इन्टरनेट ‘स्लो’ भएको छ । भोलि यस्तै अर्को एप आउला । धेरै इन्टरनेट खपत गर्ने अर्को एप्लिकेसन आउँदा भविष्यमा इन्टरनेट केही स्लो हुनसक्छ । नेपालमा पछिल्लो समयमा भएको इन्टरनेटसम्बन्धी समस्या भने भिडियोकै कारण भएको उनको भनाइ छ । कुल इन्टरनेट सामग्रीमध्ये ८० प्रतिशत भिडियोमै खपत भइरहेको र लकडाउनको समयमा त कुल इन्टरनेटको खपत दोब्बर हुँदा पनि समस्या बढिरहेको उनले बताए । 


इन्टरनेटको खपत बढे पनि त्यसलाई व्यवस्थापन गर्ने पूर्वाधार र उपकरण नहुँदा पनि इन्टरनेटसँग सम्बन्धित समस्या बल्झिरहेको सेवा प्रदायक बताउँछन् । ठूला प्लेटफर्मका सर्भर र एक्सचेन्ज नेपालमा राख्नसके इन्टरनेटको गुणस्तर सुधार्न सकिने उनीहरूको भनाइ छ । प्रतिस्पर्धाका नाममा इन्टरनेट सेवा प्रदायकबीच हुने अस्वस्थ प्रतिस्पर्धाका कारण पनि ग्राहकले गुणस्तरीय इन्टरनेट नपाएको बोहराको भनाइ छ ।


इन्टरनेट अपेक्षित नहुनुका पछाडि दुई कारण देख्छन् दूरसञ्चार विज्ञ आनन्दराज खनाल । नियामकबाट सहजीकरणको अभाव र अर्कोे स्वयं आइएसपी । कोभिड–१९ जस्तो सङ्कटको समयमा विश्वका अन्य धेरै देशले आफ्ना सेवा प्रदायकलाई सहजीकरण गरिदिए पनि नेपालमा केवल एकतर्फी निर्देशन दिने काम मात्र भएको उनको आरोप छ । विदेशमा ब्यान्डविथको पैसा भुक्तानी गर्न यता र उता धाउनुपर्ने बाध्यता छ, उनले भने, ‘सरकारले पनि निर्देशन मात्रै दिने तर गुणस्तर सुधारका लागि नीतिगत र व्यावहारिक काममा ध्यान दिएको देखिँदैैन ।’ सेवा प्रदायकले पनि इन्टरनेट जडानका बखत आफैँ उपकरण उपलब्ध गराउने अनि राउटरकै कारण स्पिड कम भएको भनेर तर्किने अवस्थाले पनि ग्राहकको तहमा समस्यामा आएको उनको भनाइ छ । 
 





  • प्रकाशित मिति : भदौ २१, २०७७ आइतबार १३:२५:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया