के प्रदीप ज्ञवाली बन्दैछन् सरकारका प्रवक्ता ?
फाइल तस्वीर ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा पछिल्लो समय समीकरण बदलिएको छ । विशेषगरि नेकपाका उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभामा जाने भएपछि नेकपामा पहिलेको समीकरणमा केही फेरबदल आएको हो । 

गौतमले राष्ट्रिय सभामा जाने भए पछि नै सरकारमा केही मन्त्रीहरु थपिने पनि निश्चित भएको छ । किनकि यसअघि अर्थ, सूचना तथा सन्चार र सरकारको प्रवक्ताको जिम्मेवारी सम्हालेका डा. युवराज खतिवडा अब सरकारबाट बाहिरिएका छन् । 

तत्काल प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्थ मन्त्रालयको जिम्मेवारी कसलाई दिन्छन् भन्ने प्रष्ट भइसकेको छैन । तर, यसमा तीन जनाको नाम व्यापक चर्चामा रहेको छ । अब हुने अर्थमन्त्रीको नाममा नेकपा महासचिव विष्णु पौडेल, सुरेन्द्र पाण्डे र वामदेव गौतमको नाम चर्चामा आएको छ ।

तर, अहिले तत्काललाई प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थ मन्त्रालयको जिम्मेवारी आफैंले लिनसक्ने अनुमान पनि भएका छन् । यस विषयमा न अहिलेसम्म नेकपा सचिवालय बैठकले केही निर्णय गरेको छ, न नेकपा नेताहरुले कुनै अभिव्यक्ति दिएका छन् । 

अर्कोतिर, प्रधानमन्त्री ओलीले अहिले तत्काल मन्त्रिपरिषद्मा कुनै हेरफेर नहुने क्याबिनेट मिटिङमा मन्त्रीहरुलाई बताएका छन् । 

तैपनि नेकपाभित्र तत्काल परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका मन्त्री प्रदीप ज्ञवालीलाई सन्चार मन्त्रालयको जिम्मेवारी पनि दिने तयारी गरिएको बताइएको छ । यस्तो भएको खण्डमा उनलाई प्रधानमन्त्री ओलीले सरकारका प्रवक्ताको जिम्मेवारी पनि दिँदैछन् भन्ने चर्चा चुलिन थालेको छ ।



‘यस विषयमा कुनै निर्णय पनि भएको छैन, अहिले तत्काल यस विषयमा बोल्न सक्ने कुनै आधार पनि छैन,’ मन्त्री ज्ञवालीनिकट एक नेताले फरकधारलाई बताए, ‘तर, निकै पहिले देखि चर्चा भइरहेकाले मन्त्री ज्ञवालीले यो भूमिका पाउन सक्ने सम्भावना अब झन् बढेको चाहिँ हो ।’



  • प्रकाशित मिति : भदौ २१, २०७७ आइतबार १४:१६:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया