विश्व क्रिकेटमा नेपालले बनाएका केही रेकर्डहरू

नेपाली क्रिकेट टिमले आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेलको २४ वर्ष पूरा गरेको छ । आजभन्दा ठिक २४ वर्ष अगाडि अर्थात् १९९६ सेम्टेम्बर ६ का दिन नेपालले मलेसियामा भएको एसिसी ट्रफी अन्तर्गत बङ्गलादेश विरुद्धको खेलबाट अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेको थियो । यी २४ वर्षमा नेपालले आफूलाई विश्व क्रिकेटमा एक उदीयमान राष्ट्रका रूपमा स्थापित गरिसकेको छ ।

नेपालले यस बीचमा प्रथम श्रेणी, टि–२० विश्वकप हुँदै एक दिवसीय मान्यतासम्मको यात्रा तय गर्यो । सन २०१४ को टि–२० विश्वकप खेलेको नेपालले २०१८ मा एकदिवसीय मान्यता  प्राप्त गरेको हो । नेपालले यहाँसम्म आइपुग्दा विभिन्न रेकर्डहरू आफ्नो नाममा गर्न सफल भएको छ । तीमध्ये केही निम्न लिखित छन ः

विपक्षीलाई १० रनमा अल आउट

क्रिकेटमा कुनै टिम मात्र १० रन बनाएर आउट हुनसक्छ भन्दा सबैलाई पत्यार नलाग्न सक्छ तर नेपालले २००६ मा मलेसियामा भएको एसिसी ट्रफी अन्तर्गत म्यानमार विरुद्धको खेलमा यो रेकर्ड कायम गरेको हो । नेपालले म्यनमारविरुद्ध १२.१ ओभर बलिङ गर्दै १० रनमा अल आउट गराएको थियो ।

नेपालका मेहबुव आलमले ६.१ ओभरमा ३ मेडनसहित ३ रन दिएर ७ विकेट हात पार्दा विनोद दासले ६ ओभरमा २ मेडनसहित ४ रन दिएर ३ विकेट हात पारेका थिए ।

नेपालले उक्त खेल २ बलमानै जित्दै अर्को रेकर्ड बनाएको थियो । जसमा ओपनर द्वय महेश क्षेत्री तथा धिरेन्द्र चन्दले समान ३ रन बनाउँदा अतिरिक्त ५ रन प्राप्त भएको थियो ।



शक्ति गौचनको किफायती बलिङ

नेपालका शक्ति गौचनले १० ओभरमा ८ मेडन सहित मात्र २ रन दिएर ३ विकेट हात पर्दै प्रथम श्रेणीको सबैभन्दा उत्कृष्ट बलिङ फिगर आफ्नो नाममा गराएका हुन् ।



उनले सन् २०१२ मा भएको आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन चारमा घरेलु टोली मलेसियाविरुद्ध यो रेकर्ड बनाएका थिए ।

एकै ओभरमा ५ विकेट

नेपाली महिला क्रिकेट टिमकी कप्तान रुविना क्षेत्रीले सन् २००९ मा मलेसियामा भएको एसिसी वुमेन्स च्याम्पियन्ससिप अन्तर्गत सिङ्गापुर विरुद्धको खेलमा यो रेकर्ड बनाएकी थिइन् । उनी अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ५ विकेट हात पार्ने एक मात्र नेपाली खेलाडी हुन् । 

एकै खेलमा १० विकेट 

निश्चित ओभरको एकै खेलमा एउटै बलरले १० विकेट लिनु निकै मुस्किल काम हो तर नेपालका मेहबुब आलमले एकै खेलमा १० विकेट हात पार्दै यो काम मुस्किल भए पनि असम्भव छैन भनेर प्रमाणित गरिदिए । 

उनले सन २००८ मा जर्सीमा भएको आइसिसी वल्ड क्रिकेट लिग डिभिजन पाँचमा मोजाम्बिक विरुद्धको खेलमा एक्लैले १० विकेट हात पारेर सबैलाई अचम्मित पारिदिएका थिए ।

मेहबुव आलम कुनै पनि निश्चित ओभरको क्रिकेटमा एकै खेलमा १० विकेट हात पार्ने पहिलो खेलाडी हुन् । उनले ७.५ ओभर बलिङ गर्दा १९ रन खर्चिएका थिए ।

एकदिवसीय अन्तर्राष्ट्रियमा अर्धशतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी 

कुशल मल्लले १५ वर्ष ३४० दिनको उमेरमा गत वर्ष नेपालकै कीर्तिपुरमा भएको आइसिसी विश्व क्रिकेट लिग–२ अन्तर्गत अमेरिका विरुद्धको खेलमा अर्ध शतक प्रहार गर्दै यो रेकर्ड आप्mनो नाममा गराएका थिए । उक्त खेलमा उनले ५१ बलमा ५० रन प्रहार गरेका थिए ।

महिला टि–२० को उत्कृष्ट बलिङ फिगर 

अञ्जली चन्दले २.१ ओभरमा बिना कुनै रन ६ विकेट हात पार्दै यो रेकर्ड आप्mनो नाममा गराएकी थिइन् । 

उनले गत वर्ष नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत माल्दिभ्स विरुद्धको खेलमा यो रेकर्ड बनाएकी हुन् ।

टि–२० अन्तर्राष्ट्रियमा १० औं नम्बरमा आएर सर्वाधिक रन बनाउने

यो रेकर्ड नेपालका अलराउन्डर सोमपाल कामीले आफ्नो नाममा गराएका छन् । सन २०१८ मा हङकङ विरुद्धको खेलमा १० औं नम्बरमा ब्याटिङ गर्न आएका सोमपालले ३० बलको सामना गर्दै ४० रन बनाएर यो रेकर्ड बनाएका थिए ।

यु–१९ एकदिवसीय विश्वकपमा उत्कृष्ट बलिङ फिगर

राहुल विश्वकर्माले ०.४७ को इकोनोमीमा ३ रन दिएर ६ विकेट हात परेका थिए । यो यु –१९ एकदिवसीय विश्वकपमा उत्कृष्ट बलिङ फिगर हो । 

उनले सन् २०१२ मा अस्ट्रलियामा भएको यु–१९ एकदिवसीय विश्वकपमा पपुवा न्युगिनी विरुद्धको खेलमा ६.२ ओभर बलिङ गर्दै ४ मेडनसहित यो रेकर्ड बनाएका थिए ।

टि–२० अन्तर्राष्ट्रियमा अर्धशतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी

सन्दीप जोराले सन् २०१९ मा संयुक्त अरब इमिरेट्स (युएइ) विरुद्धको खेलमा ४६ बलको सामना गर्दै ५३ रनमा अविजित रहँदै यो रेकर्ड कायम गरेका थिए । उक्त खेलमा अर्धशतक प्रहार गर्दा उनी १७ वर्ष १०३ दिनका थिए । 

एकदिवसीय अन्तर्राष्ट्रियमा विपक्षीलाई सबैभन्दा कम स्कोरमा अलआउट

यो रेकर्ड संयुक्त रूपमा नेपाल र श्रीलंकाको नाममा छ । श्रीलंकाले सन् २००४ मा जिम्बाबेलाई १८ ओभरमा ३५ अलआउट गरेर यो रेकर्ड कायम गर्दा नेपालले गत वर्षको माघ ५ मा नेपालकै टियु क्रिकेट मैदानमा आइसिसी क्रिकेट लिग २ अन्तर्गत भएको खेलमा अमेरिकालाई १२ ओभरमा ३५ रनमा अलआउट गर्दै यो रेकर्ड बराबरी गरेको थियो तर नेपालले कम बलमा विपक्षीलाई अल आउट गरेको थियो । 

अमेरिकालाई सस्तैमा समेट्न सन्दीप लामिछानेले ६ ओभर बलिङ गर्दै एक मेडन सहित १६ रन खर्चिएर ६ तथा सुशन भारीले ३ ओभर बलिङ गर्दै १ मेडनसहित ५ रन खर्चिएर ४ विकेट हात पारेका थिए । उक्त खेलमा नेपाल ८ विकेटले विजयी भएको थियो ।

लक्ष्य पछ्याउने क्रममा टि–२० अन्तर्राष्ट्रियमा शतक प्रहार गर्ने विश्वकै पहिलो कप्तान

यो रेकार्ड नेपालका पूर्व कप्तान पारस खड्काको नाममा छ । उनले गत वर्षको असोज ११ मा सिंगापुर विरुद्धको खेलमा ५२ बलको सामना गर्दै अविजित १०६ रन प्रहार गरेर यो रेकर्ड बनाएका थिए । उक्त खेलमा नेपालले ९ विकेटको जित हात पारेको थियो ।

  • प्रकाशित मिति : भदौ २१, २०७७ आइतबार १४:३९:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया