देउवालाई महेश आचार्यले भने- ‘विधानविपरीतका निर्णयहरु रोक्नुस् !’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले सभापति शेरबहादुर देउवालाई पत्र लेख्दै विधान विपरीतका कामहरु रोक्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा पत्र सार्वजनिक गर्दै आचार्यले उपसभापति, महामन्त्रीलगायतका पदाधिकारीहरूको असहमति रहँदा रहँदै पनि विभाग गठन गरिएकोप्रति आपत्ति जनाएका छन् ।

यस्तो छ आचार्यको पत्र 

आदरणीय सभापतिजी,
तपाईंबाट गरिएका विभाग गठन लगायतका पार्टीको समायोजन,क्रियाशील सदस्यता सम्बन्धी पछिल्ला केही निर्णयहरु पार्टी विधान विपरीत र गम्भीर विवाद सिर्जना गर्ने ढोगका देखिए । यिनलाई सच्याएर सम्पूर्ण पार्टी पङ्क्तिलाई एकताबद्ध गराएर महाधिवेशनतर्फ लैजाने दायित्व निर्वाह गर्न हार्दिक अनुरोध गर्दछु।
१. हाम्रो विधानको दफा ६० ले पार्टीका सबै तहमा गठन गर्ने भनिएका विभाग / समिति / विभिन्न निकायहरु महाधिवेशन सम्पन्न भएको ६ महिना भित्र गठन गरिसक्नु पर्नेछ भन्ने समयको बाध्यकारी व्यवस्था गरेको छ । आफ्नो ४ वर्षको कार्यकालमा गठन नगरिएको विभाग विशेष परिस्थिति देखाई महाधिवेशन सम्पन्न गर्न थपिएको एक वर्षको पनि आधा  अवधि गुजारेर महाधिवेशनको मुखमा गठन गर्नु विधानको भावना र मर्मको गम्भीर उलंघन हो ।
२. विधानको दफा ३७ (१) ञ ले विभागले प्रत्येक ६ महिनामा कार्यसम्पादन प्रगति प्रतिवेदन केन्द्रीय कार्यसमितिमा बुझाउनु पर्नेछ भनेको छ। ६ महिनाको कार्यकाल पनि बाँकी नहुने अहिले गठन गरिएका विभागले महाधिवेशनको तीब्र चटारोमा कहिले आफ्ना कार्ययोजना बनाउलान्, कहिले देशको समसामयिक मुद्दामा छलफल गर्लान्, कहिले आफ्ना सुझाव र प्रगति प्रतिवेदन केन्द्रीय समितिलाई देलान् अनि म्याद गुज्रिएको केन्द्रीय समितिले कहिले सुझाव कार्यान्वयन गर्ला ? यो कुराको हेक्का नराखी गठन हुने विभागले संगठन बलियो हैन, पार्टीभित्र विवाद र गुटबन्दीलाई उत्कर्षमा पुर्याउँछ । हाम्रो पार्टीका हजारौँ साथीलाई र तिनको प्रतिभालाई गुटबन्दीको स्वार्थ र दलदलमा नचाहँदा नचाहँदै फसाउनेछ।
३. विधानको दफा २४ (३) ले विभागको कामको समीक्षा गर्ने अधिकार केन्द्रीय कार्य सम्पादन समितिलाई दिएको छ। तर दुर्भाग्यबस सभापतिजीले कार्य सम्पादन समिति समेत बनाउन सक्नु भएको छैन । विभाग गठन हुने तर विभागको कामको समीक्षा गर्ने अधिकार पाएको समिति नहुने अवस्था के संगठन बलियो बनाउने संकल्प मान्न सकिन्छ र ?
४. विधानको दफा ४ (१०) ञ ले महाधिवेशनको ६ महिना अघि क्रियाशील सदस्यता पाएको र नवीकरण गरेको सदस्यले मात्र महाधिवेशनमा मतदान र उम्मेदवार हुन पाउने व्यवस्था गरेको छ। विधानको दफा ५० (६) मा पनि महाधिवेशन भन्दा ६ महिना अघि नै क्रियाशील सदस्यता र नवीकरण गरेकाले मात्र उम्मेदवार हुन पाउने कुरासँगै महाधिवेशनको ६ महिना अघि नया क्रियाशील सदस्यता वितरण र नवीकरणको काम बन्द गर्ने व्यवस्था गरेको छ । यी दुवै व्यवस्था द्वारा विधानले पार्टी पदाधिकारीलाई महाधिवेशनको मुखमा आफूखुसी सदस्यता वितरण र नवीकरण गरी महाधिवेशनलाई प्रभावित पार्न सक्ने सम्भावनाबाट रोकेको छ। विधानमा यो व्यवस्था त्यसै आएको होइन पुराना अनुभवका कारणबाट आएको हो । यसरी विधानले महाधिवेशनको मुखमा क्रियाशील वितरण र नवीकरण जस्ता संगठनका आधारभूत कार्यलाई समेत रोकेर महाधिवेशनको निष्पक्षता प्रत्याभुत गर्न चाहेको मर्म विपरीत तोकिएको काम गर्ने समय र सम्भावना नै नभएको अवस्थामा हजारौँको संख्यामा साथीहरुलाई विभाग र समितिमा गरिएको नियुक्तिको वैधता र औचित्य कसरी पुष्टि हुन सक्छ ?
आदरणीय सभापतिजी, यसबाहेक जुन महाधिवेशनले तपाईंलाई सभापतिमा निर्वाचित गर्यो त्यही महाधिवेशनले निर्वाचित गरेको महामन्त्री, कोषाध्यक्ष र ठुलो संख्यामा केन्द्रीय सदस्य असहमत हुँदा हुँदै गरिएको निर्णयको साङ्गठानिक महत्व र प्रभावकारिता कति होला ?
५. हाम्रो विधानको दफा ५१ (१) ले महाधिवेशनमा निर्वाचित सभापतिले ४० जना महाधिवेशन प्रतिनिधि मनोनयन गर्न पाउने व्यवस्था छ। तर विचारणीय कुरा के छ भने यहि दफाले यस्ता प्रतिनिधिको कार्यकाल नया महाधिवेशनको प्रक्रिया प्रारम्भ भए पछि स्वत: समाप्त हुने व्यवस्था गरेको छ । यो प्रावधानको आशय पनि सभापतिद्वारा मनोनित प्रतिनिधिबाट निर्वाचन प्रभावित नहोस भन्ने नै हो।
६. पार्टी विधानको दफा ५०(८) का अनुसार पार्टीको कुनै पनि तहको सभापतिको मृत्यु भई वा राजीनामाका कारण पद रिक्त भएमा कार्यवाहक सभापति बनाउने र ६ महिना भित्र अधिवेशन द्वारा सभापति चयन गर्ने विधि छ। तर महाधिवेशनको प्रक्रिया प्रारम्भ भएको अवस्थामा भने सभापतिको चुनाव समेत गर्नु पर्दैन,गर्न मिल्दैन र नया महाधिवेशनले नै सभापति चुन्छ।
आदरणीय सभापतिजी, महाधिवेशनको प्रक्रिया सुरु भए पछि माथी उल्लेखित विधानले गर्न रोकेका काम, विभिन्न निकायको कार्यकाल सम्वन्धी व्यवस्था र निष्पक्ष निर्वाचनका मान्यताहरुको पालना हामीले आफ्नै पार्टी भित्र गर्न सकेनौँ भने हामीले वर्तमान कम्युनिष्ट सरकारको स्वेच्छाचारिताका विरुद्ध जनता परिचालन गर्ने नैतिक बल गुमाउनेछौँ । महाधिवेशनमा दिशाहीनता , चरम गुटबन्दी र अनुशासनहीनताले प्रश्रय पायो भने संघर्ष, समर्पण र शहादतबाट बनेको हाम्रो पार्टी र साथीहरुको विशाल पंक्तीका सामु हामी अपराधी प्रमाणित हुनेछौँ । सभापतिजी मैले भरसक आफूलाई र आफ्नो विवेकलाई कहिल्यै गुटको बन्दी बनाईन, अपमान र उपेक्षा मंजुर गरे तर सधैं पार्टीहित र एकताको पक्षमा काम गरे।
यही नैतिक बलमा उभिएर सार्वजनिक रुपमा तपाईलाई सम्बोधन गर्दै यो पत्र लेख्दैछु । यो पत्र लेख्न बस्दा तपाईँप्रति मेरो कुनै दुर्भावना छैन केवल हाम्रो पार्टीको भविष्य,भूमिका र एकता प्रतिको मेरो चिन्ता अभिव्यक्त छ जुन पार्टी बनाउन तपाई स्वयंको जीवन र जवानी समर्पित रह्यो।
महेश आचार्य
केन्द्रीय सदस्य / नेपाली कांग्रेस





  • प्रकाशित मिति : भदौ २१, २०७७ आइतबार १८:१:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया