‘उपत्यकाको निषेधाज्ञा अझै सहज बनाइने’

काठमाडौं उपत्यकामा लगाइएको तेस्रो चरणको निषेधाज्ञा बुधबारसम्म जारी छ । भदौ ३ गतेबाट सुरु भएको उपत्यकाको निषेधाज्ञा बुधबार राति १२ बजेदेखि सकिँदैछ ।

उपत्यकामा अब चौथो चरणको निषेधाज्ञाबारे छलफल गर्न पुनः तीन जिल्लाका सिडिओहरू आन्तरिक छलफलमा जुटेका छन् । जारी निषेधाज्ञा थप्ने वा कसरी गर्ने भन्ने बारेमा तिनै जिल्लाका सिडिओहरू विज्ञसँग सल्लाह पनि लिन थालेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । 

२४ गतेपछि पनि निषेधाज्ञा थप भए पनि बजार भने केही सहज बनाउन बारे छलफल सुरु गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको भनाइ छ । 

उनका अनुसार निषेधाज्ञाले मजदुर बढी मर्कामा परेकाले उनीहरूलाई ध्यानमा राखी बजार अब केही खुकुलो पार्ने तयारी छ । तर, स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने सर्तमा मात्र बजार खुकुलो बनाउने उनी बताउँछन् । 

‘संक्रमण कम नभएकाले निषेधाज्ञा थपिएला जस्ता देखिएको छ, निषेधाज्ञा थपिए पनि सुरक्षाका मापदण्ड अपनाएर बजार खोल्नुपर्छ भन्ने राय आइरहेको छ,’ दाहालले भने, ‘सम्भवतः अब निषेधाज्ञा केही सहज बनाएर अगाडि बढिन्छ होला ।’

यता गृह मन्त्रालयले पनि पहिलेको भन्दा निषेधाज्ञा केही खुकुलो हुने संकेत गरेको छ । गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले फरकधारसँग कुरा गर्दै दैनिक मजदुरी गर्नेलाई धेरै कठिनाइ हुन थालेकाले उपत्यकाको निषेधाज्ञा खुकुलो पारिने जानकारी दिए । 



अब केके खोल्ने बारे राय लिन थालिएको उनी बताउँछन् । विज्ञ तथा स्वास्थ्य मन्त्रालयको सुझावअनुसार सुरक्षा सावधानी अपनाएर केही खुकुलो पारिने उनको भनाइ छ । 

उपत्यकामा निषेधाज्ञा लगाएको १९ दिन पूरा भएको छ । तर, पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले उपत्यकामा कोरोना संक्रमितको संख्या घट्नुको साटो बढ्दै गएको देखाएको छ ।



  • प्रकाशित मिति : भदौ २२, २०७७ साेमबार १३:२३:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया