प्रशंसा र भजन मात्रै गाउने चाकडीबाजको भर हुँदैन : प्रवक्ता श्रेष्ठ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले स्वार्थ बोकेका चाकडीवाजले जुनसुकै बेला साथ छोड्न सक्ने भन्दै त्यस्ताको भर पर्न नहुने बताएका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै प्रवक्ता श्रेष्ठले त्यस्ता चाकजीवाजले प्रशंसा र भजन मात्रै गाउने भन्दै आलोचनात्मक चेत भएकाको मात्रै भर पर्नुपर्ने बताएका हुन् ।

‘आलोचनात्मक चेत भएका साँच्चैका हितैषीले आफूले ठिक नदेखेको कुरा समयमै भन्छन् र गल्ती गर्न वा पतनबाट बचाउँछन्, जबकि निहीत स्वार्थ केन्द्रित  अन्ध चाकडीवाजले प्रशंसा र भजन मात्रै गाँउछन् र डुबाउँछन् । त्यसैले आलोचनात्मक चेत भएका मित्रहरुमा भर गरौँ, स्वार्थी अन्ध प्रशंसकमा होइन’, फेसबुकमा लेखेका छन् ।

विवेक भएकाहरुले मूर्खले जस्तो सुर्याँई नदेखाउने श्रेष्ठको भनाइ छ । उनले अगाडि भनेका छन्, ‘विचारसहितको विवेक भएका मुर्खले जस्तो सुर्याँई नदेखाउन सक्छन् र निर्णय एवं कार्य गर्नुअघि संशयकारी जस्ता देखिन सक्छन्। तर विचारसहितका विवेकीहरु नै सुरा मुर्ख भन्दा भर पर्न लायक हुन्छन् ।’‬

उनले लोकतान्त्रिक पद्धतिमा विचार सुन्ने र छलफल गर्ने धैर्यता चाहिने बताएका छन् ।‘‪लोकतान्त्रिक पद्धतिअन्तर्गत कार्य गर्दा केही प्रक्रियागत ढिलाई हुन सक्छ । विचार सुन्ने सहिष्णुता र छलफल गर्ने धैर्यता चाहिन्छ लोकतन्त्रमा। निरङ्कुश तानाशाहीतन्त्र छलफलको  ‘झञ्झट’बाट मुक्त र छिटो काम हुने व्यवस्था लाग्न सक्छ । तर लोकतन्त्र नै उत्तम हुन्छ, निरङ्कुशतन्त्र होइन’, श्रेष्ठले फेसबुकमा लेखेका छन्  । ‬

प्रवक्ता श्रेष्ठ पछिल्लो समय नेकपाभित्रको जारी शक्ति संघर्ष र प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।





  • प्रकाशित मिति : भदौ २२, २०७७ साेमबार १६:४६:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया