सहकारी पार्टी नेपाल विवेकशील नेपाली दलमा गाभिएको छ । दुई पार्टीबीच आइतबार सोसम्बन्धी सहमति भएको हो । ‘सहमतिअनुसार एकीकृत दलको नाम विवेकशील नेपाली दल नै रहने र विधान र राजनीतिक दस्तावेज पनि विवेकशील नेपाली दलकै कायम रहने छ,’ विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विवेकशील नेपाली दलको २०७६ कार्तिकमा सम्पन्न नीति तथा राष्ट्रिय सम्मेलनबाट निर्वाचित सङ्घीय समिति बिस्तार गर्दै सहकारी पार्टीका केन्द्रीय पदाधिकारीलाई सम्मिलित गरिने सहमति भएको अध्यक्ष पाण्डेको भनाइ छ ।
रविन्द्र मिश्र नेतृत्वको साझा पार्टी र विवेकशील दलबीच एकीकरण हुने चर्चा चलिरहेका बेला विवेकशीलले अर्को एक समूहलाई आफूमा गाभेको हो । अन्य तहगत नेतृत्वमा क्षमता र योग्यताका आधारमा उचित जिम्मेवारी प्रदान गरिने सम्झौता पत्रमा उल्लेख रहेको उनले बताएका छन् ।
२०६९ देखि नेपालमा वैकल्पिक राजनीति स्थापित गर्ने भनी सक्रिय रहेको विवेकशील नेपाली दल र सहकारी आन्दोलनलाई संस्थागत गर्ने र उत्पादनमा केन्द्रित गर्ने नीति तय गर्दै राजनीतिमा सहकारी संस्कृति नारासहित २०७० सालदेखि देखी सक्रिय रहेको सहकारी पार्टी नेपालबीच एकीकरण भएको हो ।
विवेकशील पार्टीका अध्यक्ष पाण्डे हुन् भने सहकारी पार्टी नेपालका अध्यक्ष हिरामणि पौडेल हुन् । यो सम्मिलनसँगै विवेकशील नेपाली दलले मूल्यमान्यता, विचार र राजनीतिक एजेन्डा मिल्ने सम्पूर्ण व्यक्ति, समूह र पार्टीहरूलाई सहकार्य, सम्मिलन र एकताको लागि विवेकशीलकै घोषित नीतिअनुरूप आह्वान गरेको बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।