फरकधार बैंकिङ वाच–१
मर्जरपछिका बैंकमा कर्मचारी व्यवस्थापन भाँडभैलो

बैंक तथा वित्तीय संस्थाको संख्या घटाउन केही वर्षयता आक्रामक रुपमा नेपाल राष्ट्र बैंकले अख्तियार गरेको छ– मर्जरको नीति । 

यसले बैंक तथा वित्तीय संस्थाको संख्या त घटाएको छ । तर, सँगसँगै अर्को समस्या पनि बैंकहरुमा उब्जाएको छ । विशेषगरि मर्जरपछिका बैंकहरुमा कर्मचारी व्यवस्थापन निकै ठूलो चुनौतीका रुपमा देखिएको छ । कतिसम्म भने केही बैंकले कर्मचारीको व्यवस्थापनको नाममा विभेद गरेका घटनाहरु अब बाहिर आउन थालेका छन् ।

मर्जर पछिका कतिपय बैंकमा उच्च पदस्थ कर्मचारीहरु नै आफूहरुमाथि विभेद हुन थालेको बताउन थालेका छन् । यसले गर्दा बैंकहरुले राम्रो काम गर्न नसकेको देख्न सकिन्छ । 

केही वर्ष यता समय १ सय ८७ ओटा बैंक तथा वित्तीय संस्था मर्जर÷प्राप्ति प्रक्रियामा सामेल भए । यसमध्ये १ सय ४२ संस्थाको इजाजत खारेज भएर कूल ४५ संस्था मात्र कायम रहेका छन् । यसमध्ये मर्जर तथा प्राप्ति भएका बैंक तथा वित्तिय संस्था भित्र कर्मचारी सरुवा–वढुवा लगायतमा नराम्रोसँग विभेद देख्न सकिन्छ ।

यसको उदाहरण हो, बैंक अफ काठमाडौं । ४ वर्षअघि लुम्बिनी बैंकसँग मर्जरमा गएको बैंक अफ काठमाडौंमा कर्मचारी व्यवस्थापनमा भाँडभैलो देखिएको छ । बैंकका कर्मचारी व्यवस्थापनमा बैंक अफ काठमाडौंमा अहिले यो सबैभन्दा टड्कारो समस्याका रुपमा देखिएको छ । पछिल्लो समय बैंक अफ काठमाडौंले सिइओसँग समयसमयमा बहस गर्न खोज्ने वा पहिले बैंक अफ काठमाडौंका कर्मचारीलाई कडा निगरानीमा मात्र राखेको छैन, उनीहरुमाथि विभेद पनि सुरु गरेको छ ।

चार वर्षअघि मर्जरपछि सिइओ बनेका अजय श्रेष्ठले तत्कालीन सञ्चालकसँगको विवादपछि ५ महिनामा राजिनामा दिए । बैंकले त्यसपछि तत्कालीन लुम्बिनी बैंकका सिइओ शोभनदेव पन्तलाई सिइओमा नियुक्त गर्यो । पन्त सिइओमा नियुक्त भएसँगै मर्जरअघिका बैंकका सिइओ श्रेष्ठमाथि फर्जी जग्गाको धितोमा कर्जा दिएको आरोप लगाएर मुद्दासमेत हालियो । पन्त सिइओ बनेपछि उनले नै व्यवस्थापनलाई उक्साएर यस्तो काम गर्न लगाएको आरोप अहिले पनि विभिन्न बैंकरहरु लगाउँदै आएका छन् ।



श्रेष्ठमाथिको यो आरोप लगाउन सफल भएपछि शोभनदेव पन्त मर्जरअघिका बैंक अफ काठमाडौंका कर्मचारीहरुको व्यवस्थापनमा रूखो रुपमा प्रस्तुत भएका छन् । उनले लुम्बिनी बैंकबाट आएका कर्मचारीलाई काख र बैंक अफ काठमाडौंबाट आएका कर्मचारीलाई पाखा गर्न थालेको बैंक अफ काठमाडौंमा कार्यरत एक बैंकरले फरकधारसँग बताए ।

‘त्यसका लागि उनले सबैभन्दा पहिले बैंक अफ काठमाडौंका कर्मचारीलाई दुर्गममा सरुवा गर्ने नीति लिएका छन्,’ बैंक अफ काठमाडौंमा कार्यरत एक उच्चपदस्थ कर्मचारीले फरकधारलाई बताए, ‘यसले गर्दा पछिल्लो केही महिनामा नै बैंक अफ काठमाडौंमा उच्चपदस्थ केही कर्मचारीहरुले जागिर छोड्न बाध्य हुनु परेको छ ।’



फरकधारले पछिल्लो वर्षमा बैंक अफ काठमाडौंमा कार्यरत उच्चपदस्थ कर्मचारीहरुलाई कसरी निकालिएको छ भन्ने विषयमा एउटा लामो अनुसन्धान गरेको छ । बैंकले आफ्नो कर्मचारी व्यवस्थापन नियमावली नै गलत तरिकाबाट फेरेर कर्मचारीमाथि विभेद गरिएको खुलासा भएको छ । यस विषयमा फरकधारमा थप सामग्रीहरु प्रकाशन हुँदैछन् ।

एकातिर बैंकहरुले आफ्नो कर्मचारी व्यवस्थापनमा भाँड भैलो देखाएका छन् भने अर्कोतिर नेपाल राष्ट्र बैंकले यसलाई बेवास्ता गर्दै आएको छ ।

मर्जर तथा प्राप्तिपछि संस्थाहरुको कर्मचारी व्यवस्थापन पक्ष बैंक स्वयंले गर्नुपर्ने र यसको प्रतिबद्धता गर्ने गरेकाले नेपाल राष्ट्र बैंकको कार्यक्षेत्र नपरेको भन्दै केन्द्रीय बैंक पन्छिएको छ । केन्द्रिय बैंकका बैंक तथा वित्तिय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले मर्जरको स्वीकृति दिँदा अन्तिममा सबै व्यवस्थापन मिलाएर अगाडि लैजाने बैंकले बताएपछि मात्र आफूहरुले स्वीकृति दिने गरेको बताउँछन् । 

‘कर्मचारी व्यवस्थापन कसरी गर्छौ भनेर त सोध्छौँ,’ उनले भने, ‘उनीहरुले सबैलाई मिलाएर व्यवस्थापन गर्छौ भनेपछि एकिकृत कारोबारको अन्तिम स्वीकृति दिने गरेका छौँ । फेरि कर्मचारी व्यवस्थापनको जिम्मेवारी नियामक निकायको काम पनि होइन ।’

तर, पछिल्लो समय बैंक अफ काठमाडौंबाट नै बिदा गरिएका केही कर्मचारी आफूविरुद्ध अन्याय भएको भन्दै नेपाल राष्ट्र बैंकमा उजुरी दिन पुगेका छन् ।

बैंक अफ काठमाडौंमा मात्र होइन, पछिल्लो समय मर्जरमा गएको ग्लोबल आइएमई बैंकमा पनि अब कर्मचारी व्यवस्थापन चुनौति बनेको छ ।

पछिल्लो पटक जनता बैंकसँग बिग मर्जर गरेको ग्लोबल आईएमई बैंकमा कर्मचारी व्यवस्थापन लगायतको सबै व्यवस्थापकिय पक्ष सम्हाल्न प्रमुख कार्यकारी अधिकृतमा रत्नराज बज्राचार्यलाई नियुक्त गरिएको अध्यक्ष चन्द्र ढकालले बताए । तर यसअघिका सिइओ पर्शुराम कुँवरले राजीनामा दिएको र रिक्त रहेको सिईओ पदमा उनलाई ल्याएको बताए ।

मर्जर तथा प्राप्तिको लामो अनुभव समेटिसकेका र जनता बैंकलाई ग्लोबलसँग सफल बिग मर्ज गराएका ११ महिना कार्यकाल बाँकी छँदै स्वास्थ्यको कारण देखाएर राजीनामा गरेका निवर्तमान सिइओ पर्शुराम कुँवर मर्जर पछि कर्मचारी व्यवस्थापनमा विभेद गर्न नहुने तर्क गर्छन् । कर्मचारी व्यवस्थापन सानो मुद्दा भएको र यसलाई विभेद रहित ढंगबाट सुझाउनु पर्ने उनको भनाइ छ । 

तर, बैंक अफ काठमाडौंमा अहिले पनि कर्मचारीहरूमाथि व्यवस्थापन र सिइओ पन्तले गरेको विभेदका उदाहरण प्रशस्त छन् । पन्तले त आफूलाई मन नपरेको र मर्जरअघिका बैंक अफ काठमाडौंका कर्मचारीलाई दुर्गममा सरुवा मात्र गरेका छैनन्, उनीहरुलाई जागिरबाट बिदा हुन पनि बाध्य बनाएका छन् ।

  • प्रकाशित मिति : भदौ २४, २०७७ बुधबार १२:२१:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया