आगामी जुलाईमा हुने ओलम्पिक सर्दैन : आइओसी


कोरोना भाइरसको महामारी नियन्त्रणमा नआए पनि अर्को वर्ष हुने ‘टोकियो ओलम्पिक’ नरोकिने अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)का उपाध्यक्ष जोन कोट्सले बताएका छन्।

चीनबाट २०१९ को अन्त्यमा सुरु भएर छोटो समयमै पूरा विश्वमा फैलिएकोे कोरोना भाइरस महामारीका कारण २०२० जुलाईमा तय भएको ओलम्पिक खेल एक वर्षका लागि सार्ने निर्णय भएको थियो ।

जापान सरकार, जापानी आयोजक, आइओसी तथा आइओसीका सदस्य राष्ट्रहरुको सामूहिक निर्णयमा २०२१ जुलाई २३ बाट सुरु हुने गरी एक वर्षका लागि ओलम्पिक स्थगित गरिएको थियो । आइओसीले यसअघि नै ओलम्पिक २०२१ भन्दा ढिलो नगर्ने बताइसकेको थियो ।

‘सुनामीले पूरा देश ध्वस्त बनाए पनि जापानले ओलम्पिक संरचनाका पुनर्निर्माण खेलभावना अनुसार समयमै गरेको थियो,’ २०११ मा जापानमा आएको सुनामी र भुइँचालोको उदाहरण दिँदै आइओसी उपाध्यक्ष कोट्सले भने, ‘अहिले पनि कोभिडलाई जित्दै त्यसैगरी काम हुनेछ ।’

टोकियो ओलम्पिक २०२० जुलाईमै थोरै दर्शकका साथ गर्न सकिने विकल्प भए पनि कोरोना महामारीको डरले एकै जना दर्शक रंगशालासम्म नआउलान् भन्ने डरका कारण गर्न नसकिएको स्थानीय आयोजना प्रमुख तोसिरो मुतोले भनेका थिए ।

उद्घाटन तथा समापन समारोहको भव्यतामा सम्झौता गर्नुका साथै सहभागी देशबाट आउने पदाधिकारी तथा अन्य अधिकारीको संख्या घटाएर खेल गर्न गर्न सकिने विकल्पको विषयमा उनले कुरा गरेका थिए ।



२०२० मा हुने तय भएको ओलम्पिकमा २ सय देशका ११ हजारभन्दा बढी खेलाडीको सहभागिता निश्चित थियो । हाल जापानका सबै अन्तर्राष्ट्रिय सिमा–नाका बन्द छन् । तर, अर्को वर्षसम्म खुलिसक्ने आइओसी तथा स्थानीय आयोजकले आशा लिएका छन् ।

विश्वका विशेषज्ञहरुले कोरोना विरुद्धको खोप विकास नभएसम्म ओलम्पिक जस्तो ठूलो खेल मेला आयोजना गर्नु जनस्वास्थ्यका दृष्टिले सुरक्षित नहुने बताइरहँदा तोसिरो मुतोले भने भाइरसको खोप तयार हुनुको ओलम्पिक आयोजना गर्ने निर्णयसँग कुनै सम्बन्ध नरहेको बताए ।




टोकियो २०२० का अध्यक्ष योसिरो मोरीले २०२१ मा आयोजना गर्न नसके ओलम्पिकको यो संस्करण रद्ध गर्नुपर्ने बताएका छन् । ओलम्पिक खेल यसअघि विश्व युद्धका कारण एकपटक रद्ध भएको थियो ।

  • प्रकाशित मिति : भदौ २४, २०७७ बुधबार १३:३६:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया