कार्यदलको प्रतिवेदनमाथि ओली–प्रचण्डबीच सहमति
स्थायी कमिटीको प्रस्ताव तय

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पार्टीको आन्तरिक विवाद समाधान कार्यदलले बुझाएको प्रतिवेदनमाथि सहमति जुटेको छ । कार्यदलले बुझाएको प्रतिवेदनलाई कार्यान्वयन गर्ने सन्दर्भमा बुधबार प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको छलफलमा सहमति जुटेको हो ।

गत साउन १४ गतेदेखि स्थगित भएको नेकपाको स्थायी कमिटीको बैठक आगामी शुक्रवार बस्दै छ । उक्त बैठक बस्नुअघि दुई अध्यक्षबीच कार्यदलको प्रतिवेदनमा सहमति जुटेको हो । प्रतिवेदमा सहमति जुटेपछि ओली–प्रचण्डले स्थायी कमिटीको प्रस्ताव तय गरेका छन् । गत असार ३० गते महासचिव विष्णु पौडेलको नेतृत्वमा गठन गरिएको कार्यदलले साउन ६मा अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएको थियो । 

सर्वसम्मत रुपमा बुझाएको उक्त सुझाब प्रतिवेदनका आधारमा अध्यक्षद्वय ओली र प्रचण्डले सहमतिको प्रस्तावलाई अन्तिम रुप दिएका हुन् । सहमतिको प्रस्ताव अब स्थायी कमिटी सदस्यहरुलाई अध्ययनका लागि पठाइने सचिवालयका एक नेताले जानकारी दिए । शुक्रबार बस्ने स्थायी कमिटी बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डले तयार पारेको प्रस्तावमा छलफल हुनेछ । 

दुई अध्यक्षबीच कार्यदलको प्रतिवेदनमा सहमति जुटेको स्थायी कमिटीको बैठकको प्रस्ताव तयार पारिएको नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले आजको छलफलमा अध्यक्षद्वयले साझा प्रतिवेदनलाई अन्तिम रुप दिएको जानकारी दिए । उनले भने, ‘आजको छलफलमा अध्यक्षद्वयले कार्यदलको प्रतिवेदनलाई अन्तिम रुप दिएका छन् । उक्त साझा प्रतिवेदन अब स्थायी कमिटीको बैठकमा छलफल हुनेछ ।’

१० असारबाट सुुरु भएको नेकपाको स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग उठेपछि बैठक भाँडिएको थियो । पटक–पटक स्थगित भएको स्थायी कमिटी पछिल्लोपटक साउन १३ गते स्थगित भएको थियो । त्यसको केही दिनमै दुई अध्यक्ष ओली र प्रचण्डले महासचिव पौडेलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका थिए । 



कार्यदलमा स्थायी कमिटी सदस्यहरु शंकर पोखरेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, भीम रावल र पम्फा भुसाल सदस्य रहेका थिए । कार्यदलले एक हप्ता गृहकार्य गरेर १७ बुँदे सुझाब प्रतिवेदन भदौ ६ गते अध्यक्षद्वयलाई बुझाएको थियो । भदौ १८ गते बसेको सचिवालयको बैठकमा उक्त प्रतिवेदनमा छलफल भएको थियो । उक्त बैठकले स्थायी कमिटीमा प्रस्तावका रुपमा लैजाने निर्णय गर्दै प्रस्ताव तयार पार्ने जिम्मा अध्यक्षद्वयलाई दिएको थियो ।

सोहीअनुसार नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डले बुधबार साझा प्रस्ताव तयार पारेका हुन् । दुई अध्यक्षबीच सुझाब कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्ने विषयमा सहमति जुटेसँगै नेकपाभित्र केही महिनादेखि चर्किएको विवाद समाधानको विन्दुमा पुगेको देखिन्छ ।
 



  • प्रकाशित मिति : भदौ २४, २०७७ बुधबार १७:१९:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया