प्रदेश –२ः दलित हत्याको ‘हटस्पट’, एक हजार नदिँदा पनि हत्या
प्रतिकात्मक तस्वीर

असारको अन्तिम साता । सिरहाको लहान नगरपालिका १  मटियर्वाका १९ वर्षका रोशन रामको हत्या भयो । 

यो हत्यापछाडिको घटना जे छ, त्यो सुन्दा झट्ट विश्वास नहुन सक्छ । र, यति सानो विषयमा पनि कसैको हत्या होला भन्ने प्रश्न जन्मन सक्छ । तर, जसरी रामको हत्या भएको छ, त्यसले हाम्रो समाज कता तिर जाँदैछ भन्ने प्रश्न पनि उठाउँछ ।

रोशन राम लकडाउनमा साथीहरुसँग सीमावर्ती गाउँ पुगेका थिए । त्यहाँ उनी लागूपदार्थसहित पक्राउ परे । 

लागुपदार्थ किनबेच तथा ओसारपसार मुद्दामा उनी दोषी ठहर भए । २५ जेठमा जिल्ला अदालतले १० हजार धरौटी माग गर्यो । तर, रोशनसँग १० हजार थिएन । उनी पुर्पक्षका लागि जेल चलान भए ।

त्यहाँ उनी झन्डै एक महिना बसे । जेलमा बस्दा रोशनको दोस्ती भयो, जयकुमार यादवसँग । यादव रोशनको ससुराली गाउँ मिर्चैयाका थिए । त्यसैले यी दुईबीच छिटो दोस्ती जम्यो । एक महिना मात्र के भएको थियो, रोशनका बाबुले १० हजारको बन्दोबस्त गरे, रोशनलाई जेलबाट निकाले । 

त्यही जेल बसाइँमा रोशनले जयकुमारसँग ऋण लिएका थिए, एक हजार ।



जेलबाट छुटेपछि जयकुमार पनि रोशनसँग भेट्न उनको गाउँ पुगे, अनि आफूले दिएको ऋण फिर्ता मागे । २६ असारको कुरा हो यो । भर्खर जेलबाट छुटेका रोशनसँग एक हजार थिएन । उनले जयकुमारलाई पैसा फिर्ता तत्काल गर्न सकेनन् । 

रोशनको परिवारले जयकुमारलाई केही दिनमा पैसा फिर्ता गर्ने वाचा गरेको थियो । तर, जयकुमारले रोशनलाई ससुराली घुम्न जाऔँ भनेर बाइकमा चढाए र त्यहाँबाट लगे । जयकुमारसँग थिए, मुकुन्द पनि ।



रोशनको घरबाट गुडेको त्यो बाइक न उनको ससुराली पुग्यो, न रोेशन नै घर फर्किए । त्यही रात रोशनको हत्या भयो । कारण थियो– उनले एक हजार तिर्न नसक्नु । 

प्रदेश २ कै अर्को जिल्ला रौतहटमा पनि पछिल्लो समय हत्याका घटना निकै बढेका छन् । ३१ साउनमा निरन्जन रामको घाँटी रेटेर हत्या यसको उदाहरणका रुपमा लिन सकिन्छ । यो हत्यामा संलग्न भएको आशंकामा प्रहरीले विजय रामलाई पक्राउ गर्यो । तर, विजयको पनि हिरासतमा मृत्यु भयो ।

प्रदेशका यी दुई जिल्लामा यी तीन रामको मात्र होइन, अन्य हत्या पनि भएका छन् । प्रहरीकै एक तथ्यांकअनुसार पछिल्ला तीन महिनामा प्रदेश २ मा एक दर्जनभन्दा बढी दलितको हत्या भएको छ ।

जेठ यता मात्र प्रहरीका १३ दलितको हत्याको उजुरी परेको छ ।

अनाहकमा आफ्ना प्रदेशका निहत्था नागरिकको हत्या हुन थालेपछि प्रदेश –२ सरकार पछिल्लो समय तातेको छ । यहाँसम्म कि दलितहरूको हत्याका विषयमा छानबिन गर्न समिति पनि गठन गरेको छ । मुख्यमन्त्रीले गरेको एक ट्वीटका प्रदेशका आन्तरिक मामिला मन्त्रीको संयोजकत्वमा प्रदेश सभाका तीनजना सदस्यसहितको समिति गठन गरिएको छ । समितिलाई सबै घटनाको छानबिन गरी प्रतिवेदन दिनलाई १५ दिनको समय दिइएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीले यस्ता हत्याले हाम्रो समाज कता तिर गइरहेको छ भन्ने सन्देश दिने बताउँछिन् । उनका अनुसार यी हत्या कानुनी शासनको उपहास हुन् । 

सप्तरीका दलित अगुवा भोला पासवानका अनुसार अहिले प्रदेश –२ दलित गर्ने प्रदेशको रुपमा बन्दै गएको छ । पछिल्लो समय प्रदेश २ मा सबैभन्दा बढी हत्या दलितको भइरहेको उनी बताउँछन् । 

  • प्रकाशित मिति : भदौ २४, २०७७ बुधबार २२:३:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया