अफगानिस्तानका १९ वर्षीय मुजिवको विश्व क्रिकेटमा दबदबा
सीपीएल २०२० मा जमैकाका लागि धेरै विकेट लिन सफल अफगानी क्रिकेटर मुजिव उर रहमान र नेपालका सन्दीप लामिछाने । तस्बिर : सीपीएल-टी-२० को ट्विटरबाट

विश्व क्रिकेटमा अफगानिस्तान एक उदयीमान राष्ट्र हो। कुनै समय नेपालको चीर प्रतिद्वन्द्वी रहेको अफगानिस्तान क्रिकेट टोलीले अहिले नेपाललाई निकै पछि छाडिसकेको छ।

टेस्ट मान्यता समेत पाइसकेको अफगानिस्तानका थुप्रै खेलाडीहरु विश्वका धुरन्धर ब्याट्सम्यान÷बलरको हाराहारीमा पुगिसके। लामो समय अफगान टोलीको कप्तान रहेका मोहमद नाबी टोलीलाई आपत परेका बेला ब्याटिङ बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्ने सक्ने अलराउण्डर हुन्।

उनी एकदिवसीय र टी-२० दुवैमा आइसीसीको अलराण्डरतर्फ बरियताको पहिलो नम्बरमा छन्। ३५ वर्षीय नाबी विश्वका चर्चित फ्रेन्चाइज लिगका साथै राष्ट्रिय टोलीबाट पनि निरन्तर खेल्दै आएका छन्।

अफगानिस्तानका अर्का चर्चित क्रिकेटर हुन् रसिद खान। दायाँ हाते लेग स्पीनर रसिद लामो समयदेखि बलरतर्फ टी-२० बरियतामा पहिलो नम्बरमै छन् ।  बेलाबेलामा रसिदले ब्याटिङमा पनि आक्रामक प्रदर्शन आइरहेका छन्।

सानै उमेरमा उदाएका रहमान

पछिल्ला दिनमा उदाएका अफगानिस्तानका युवा क्रिकेटर हुन मुजिव उर रहमान। १९ वर्षीय रहमान अहिले आइसीसी टी-२० बरियताको दोस्रो नम्बरमा छन्। पहिलो नम्बरमा अफगानिस्तानकै रसिद  खान छन्।  दायाँ हाते अफब्रेक स्पीनर रहमानले २०१७ डिस्म्बर ५ मा यूएईमा भएको आयरल्याण्ड विरुद्धको एकदिवसीय खेलबाट राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए। त्यसको २ महिनापछि २०१८ फेब्रुवरी २ मा उनले यूएईको सोही मैदानमा जिम्बाबेविरुद्धको खेलमा टी-२० अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि डेब्यू गरे।



राष्ट्रिय टोलीबाट ४० एकदिवसीय प्रतियोगितामा भाग लिएका उनले ३९ इनिङमा बलिङ गरेका छन्। जसमा ६३ विकेट लिन सफल भएका छन्। टी-२० मा १९ खेलमा बलिङ गर्दा २५ विकेट लिएका छन्।



टेस्टको एक इनिङमा बलिङ गरेका उनले एक विकेट पनि लिएका छन्। मुजिवले विश्वकै सबैभन्दा चर्चित फ्रेन्चाइज क्रिकेटि लिग इन्डियन प्रिमियर लिग(आइपीएल)मा किंग्स ११ पञ्जाबबाट दुई सिजन खेलिसेकेका छन्। यसमा पनि उनले १६ खेल खेल्दा १७ विकेट लिएका छन्।

वेस्ट इन्डिज क्रिकेट बोर्डको आयोजनामा भएको क्याराबिन प्रिमियर लिग(सीपीएल) मा रहमानले यस सिजनमा जमैका तालवाजबाट खेले। जुन टोलीमा नेपालका सन्दीप लामिछाने पनि आवद्ध थिए। जमैका सेमीफाइनलबाट अघि बढ्न सकेन।

यसबीचमा टोलीबाट १० खेलमा बलिङ गर्दा १६ विकेट लिएका रहमान सीपीएलमा यस सिजनको सर्वाधिक विकेट लिने बलरको सूचीमा पहिलो नम्बरमा छन्। सीपएलको फाइनल खेल बाँकी छ। आज राति हुने खेलमा सेन्ट लुसिया जुक्सकका स्कट कुग्गेलिज्नले थप विकेट लिन नसकेको खण्डमा मुजिव नै यस प्रतियोगिताको सर्वाधिक विकेट लिने बलर बन्नेछन्। जमैकाका लागि मुजिवपछि धेरै विकेट लिने सन्दीप लामिछाने नै हुन् । उनले १० खेलमा बलिङ गर्दा १२ विकेट लिएका छन् ।

सीपीएलबाट मुजिव सिधै आइपीएल खेल्न यूएई जाने तयारीमा रहेको क्रिक इन्फोले जानकारी दिएको छ। मुजिवसँगै ट्रिनीडाडबाट आइपीएल खेल्न सिधै यूएई जानेमा अन्य दुई अफगानी क्रिकेटर नाबी र रसिद खान पनि रहेको क्रिक इन्फोले जानकारी दिएको छ।

नावी र रसिद सुरु हैदरावादबाट आइपीएल खेल्दै आएका छन् भने मुजिवले यसपाली पनि पञ्जाबबाट खेल्नेछन्।
टी-२० बरियतामा रसिद भन्दा १ तह पछि रहेका रहमान एक दिवसीयतर्फ भने रसिद भन्दा ६ स्थानमाथि छन्। रसिद खान ९औं स्थानमा रहँदा रहमान तेस्रो स्थानमै छन्।

एक दिवसीय बरियतामा मुजिव रहमान भन्दामाथि पहिलो नम्बरमा न्युजिल्याण्डका ट्रेन्ट बोल्ट र दोस्रो नम्बरमा भारतका जसप्रिट बुमराह छन्।  केही वर्ष अधिसम्म नेपालकै हाराहारीमा एसोसिएट राष्ट्रका रुपमा रहेको अफगानिस्तान क्रिकेटको क्षेत्रमा निकै अघि बढिसकेको छ। लामो समयदेखि विश्व क्रिकेटमा जमिरहेका राष्ट्रहरुलाई कडा टक्कर दिने अवस्थामा उक्लिसकेको छ  अफगानिस्तान।

यसपछि चर्चामा

यू-१९ विश्वकप २०१८ राम्रो प्रदर्शन गरेका रहमानले  एक दिवसीय विश्वकप छनोटमा निकै राम्रो प्रदर्शन गरेपछि विभिन्न फ्रेन्चाइज लिगमा निकै व्यस्त बलर बनेका थिए।

२०१८ मार्चमा भएको विश्वकप छनोटमा रहमानले निकै उत्कृष्ट प्रदर्शन गरेका थिए। अफगानिस्तान विजेता बनेको सो प्रतियोगितामा रहमानले ७ खेलमा १६ विकेट लिएर सर्वाधिक विकेट लिने बलर बनेका थिए। सो प्रतियोगिताको समूह चरणमा नेपालले पनि अफगानिस्तानसँग प्रतिस्पर्धा गरेको थियो।

६ विकेटले नेपाल पराजित भएको खेलमा मुजिवले नेपालको १ विकेट लिएका थिए। उनले ओपनर अनिल शाहलाई एलबिडब्ल्यू आउट गराएका थिए।

फाइनल खेलमा वेस्ट इन्डिजलाई हराउने क्रममा मुजिवले ९.५ ओभर बलिङ गरे जम्मा ४३ रन दिएर ४ विकेट लिएका थिए। २०१९ को एक दिवसीय विश्वकपमा रहमानले ७ खेलमा ७ विकेट लिएका थिए।

विश्व क्रिकेटमा सबैभन्दा छिटो उचाइमा पुग्न सफल भएको पछिल्लो टोली अफगास्नितान हो।  भर्खरै टेस्ट खेल्न थालेको अफगान टोलीका मुजिव  रहमान भर्खर १९ वर्ष ६ महिना पुगेका छन्।  उनले लामो समयदेखि टेस्ट खेल्दै आएका राष्ट्रका, बलिङमा लामो अवुभव भएका एकसे हस्तीलाई बलरलाई पछि पार्न सफल भइरहेका छन्।

क्रिकेटमा अघि बढ्ने प्रयासमा रहेको नेपालजस्तो टोली र यहाँका क्रिकेटका नव प्रतिभाहरुलाई मुजिव रहमान प्रेरणाका स्रोत हुन्।  कमजोर टोलीको एक उदयीमान खेलाडी पनि आफ्नो उत्कृष्ट प्रतिभाका कारण आफ्नो क्षेत्रमा दबदबा बनाउन सफल हुन्छ भन्ने उदारण हुन मुजिव रहमान।

  • प्रकाशित मिति : भदौ २५, २०७७ बिहीबार १५:४:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया