बलिउड अभिनेत्री कंगना रनौट अब ठूलो पर्दामा मात्र सिमित भएकी छैनन् । उनी त भारतीय राजनीतिमा पनि यति ठूलो दबंग बनेकी छिन् कि उनको विषयमा विवाद कहिले भएको थिएन भनेर अब खोज्नु पर्ने समय आएको छ । अभिनयमा होस् या अन्य विभिन्न विवादमा झगडा नै गरेर किन नहोस्, कंगनाले बलिउडमा आफ्नो खास रुप देखाएकी छिन् ।
भारतको हिमाचल प्रदेशमा जन्मिएकी कंगनाले जब अभिनय गर्ने योजना बनाएकी थिइन्, तब उनलाई थिएटर निर्देशक अरविन्द गौडले दिल्लीमा अभिनय सिकाएका थिए । त्यहाँबाट कंगनाले आफ्नो पाइला चालिन्, मुम्बईका लागि । मुम्बई आएपछि कंगनालाई जुन संघर्षका साथ अगाडि बढ्नु परेको थियो, त्यसमा उनलाई साथ दिएका थिए, आदित्य पन्चोलीले ।
पन्चोली र कंगनाको दोस्ती कति गहिरो भयो भने उनीहरुबीचको दोस्तीलाई केहीले त नकारात्मक रुपमा समेत हेरे । कतिले कंगना र आदित्य प्रेममा चुर्लुम्म डुबेको पनि बताए ।
अहिले फेरि तिनै कंगना चर्चामा छिन् । अहिले उनी चर्चामा आउनुको कारणबारे केही पछि छलफल हुने नै छ । अहिले लागौँ, कंगनाले कसरी बलिउडको यात्रा तय गरिन् भन्नेबारे ।
यो सन् २००६ को कुरा हो ।
यही वर्ष कंगनाले पहिलो पटक एउटा लिड रोल पाइन्, फिल्म ग्याङस्टरमा । उनलाई यो रोल दिएका थिए, महेश भट्टले । महेश भट्टकै कारण अनुराग बसुको निर्देशनमा यो फिल्ममा कंगनाले रोल पाएकी थिइन् ।
यो फिल्ममा जुन भूमिकामा कंगना देखिएकी थिइन्, त्यसले नै उनलाई चर्चामा ल्याइदियो । किनकि यो फिल्ममा उनले परविन बबीको जीवनमा आधारित भूमिका निर्वाह गरेकी थिइन् । अनि यही फिल्मबाट कंगनाले बलिउडमा राम्रो छाप पनि छोडिन् । उनको बुलन्द अभिनयका कारण उनको वाहवाही मात्र भएन, फिल्मफेयर बेस्ट डेब्यू अवार्ड पनि उनले पाइन् ।
त्यसपछि त कंगनाले पछाडि फर्किएर हेर्नु परेको छैन ।
सन् २००७ मा कंगनाका फिल्म वो लम्हे र लाइफ इन अ मेट्रोले उनलाई थप चर्चा बनायो । यति मात्र होइन, सन् २००७८ मा उनले गरेको फिल्म फेसनले कंगनालाई अर्को सफलता दियो ।
यो फिल्ममा कंगनाको भूमिका छोटो थियो, लिड रोलमा प्रियंका चोपडा थिइन् । तर, यसकै कारण उनको अभिनयको थप चर्चा हुन थाल्यो । कतिसम्म भने यसका लागि नै उनलाई राष्ट्रिय पुरस्कार पनि दिइयो । अनि यही वर्ष उनको अर्को फिल्म राज ३ पनि रिलिज भयो ।
कतिसम्म सन् २००८ मा उनको चर्चा हिरो अध्ययन सुमनसँग प्रेममा भएको हुनसक्ने भन्दै भारतीय मिडियामा खुब चर्चा चल्यो ।
अर्कोतिर चर्चाको शिखरमा पुगे पनि कंगनामाथि अर्को आरोप पनि लाग्न थाल्यो– उनी एकै प्रकारका रोलमा मात्र देखिएकी छिन् । हो, भारतमा जो अभिनेतालाई जुन रोलमा हिट भएको अनुमान गरिन्छ, त्यही रोलमा उनीहरुलाई अगाडि बढाउन थालिन्छ ।
कंगनालाई सन् २०११ म अर्को फिल्मको अफर आयो, रोमान्टिक । यसले उनलाई यसअघिको सिरियस रोलमा मात्र काम गर्ने अभिनेत्रीको रुपबाट फेर्न सहयोग पनि गर्यो । अनि कंगनाको जीवनको करिअरको ग्राफलाई नयाँ ढंगमा मोडिदियो ।
यसले बक्स अफिसमा पनि राम्रो सफलता पायो । सन् २०१४ सम्म आइपुग्दा त कंगना बक्स अफिसकी क्विन भनेर पो चिनिन थालिन् । यही वर्ष फिल्म क्विन पनि रिलिज भयो, अनि बलिउडमा कंगनाले आफ्नो अर्को उचाइ देखाउन सफल भइन् ।
कंगनालाई भाग्यले साथ दिइरह्यो, उनले आफ्नो सफलतालाई थप अगाडि बढाउँदै लैजान पाइन् । हो, कंगनाको जीवनमा केही २–४ वटा फ्लप फिल्मको नाम पनि नआउने होइन, तर उनी अहिले अभिनयको शिखरमा छिन । मर्णिकर्णिकामा कंगना झाँसीकी रानी बनिन् । यो फिल्मको निर्देशन पनि उनी आफैंले गरेकी थिइन् ।
सुरुवातमा उनी विवादमा पर्न थालेकी थिइन् । तर, विवाद बढ्दै जाँदा पनि कंगनालाई थप फाइदा पुग्दै गयो, उनी विवादकी रानी बन्दै गइन् । उनले आफ्नो करिअरमा सहयोग गरेकाहरुलाई पनि आफ्नो विवादको केन्द्रमा तान्न थालिन् ।
क्तिसम्म भने कंगनाले त आदित्य पन्चोलीविरुद्ध पनि प्रहरीमा उजुरी दिइन् । उनले मदिरा पिएर आफूमाथि उत्पीडन गरेको आरोप कंगनाले लगाउन थालेकी थिइन् । अनि मिडियामा उनका यी कुरा निकै आउन थाले । आदित्य तिनै थिए जसले कंगनालाई उनको करिअरको सुरुवाती चरणमा निकै ठूलो सहयोग गरेका थिए ।
सन् २०१० मा फिल्म काइट्स जब फ्लप भयो, कंगनाले निर्देशक अनुराग बसुविरुद्ध नै उजुरी गरिन् । बसु उनको पहिलो फिल्मका निर्देशक थिए । उनले यसपटक बसुलाई आरोप लगाएकी थिइन्, आफूलाई पहिले जुन रोल भनेर बसुले ल्याएका थिए, त्यो रोल त्यति ठूलो थिएन ।
फिल्म राज ३ पछि पनि कंगनाको विवाद सुमनसँग भयो । उनीसँग ब्रेकअप भएको उनले नै घोषणा गरिन् ।
त्यसपछि उनको विवाद सुरु भयो, अभिनेता ऋतिक रोशनसँग । ऋतिकसँग कंगनाले जे विवाद गरेकी थिइन्, त्यसले बलिउडमा अहिले पनि बारम्बार हंगामा सिर्जना गरिरहेको हुन्छ ।
ऋतिकमाथि कंगनाले यति ठूलो आरोप लगाएकी थिइन् कि ऋतिक यही मुद्दामा प्रहरी चौकीसम्म पनि पुगे ।
ऋतिकसँगको विवाद केही मत्थर भएपछि कंगना फेरि विवादमा जोडिइन्, करण जौहरसँग । करण जौहरलाई उनले फिल्मी माफिया मात्र बताइनन्, भारतमा भाइभतिजावादलाई प्रश्रय दिएको आरोप पनि लगाइन् । कतिसम्म भने करण जौहरको कार्यक्रममा नै पुगेर पनि कंगनाले उनीविरुद्ध आरोप लगाएकी थिइन् ।
त्यसो त करणसँग काम गरेको फिल्म उंगलीमा कंगनालाई नराम्रो असफलता मिलेको थियो ।
फिल्म तनु वेड्स मनुजस्तो फिल्ममा कंगनाले काम गरेकी थिइन्, निर्देशक आनन्द एल रायसँग । तर, उनीसँग पनि कंगनाको विवाद रहिरहेको थियो । सन् २०१५ देखि त यी दुई जना सँगै देखिएका पनि छैनन् ।
सन् २०१८ मा मिटू अभियान सुरु भएपछि कंगना थप चर्चामा आउन थालिन् । उनले बलिउडका केही हस्तीहरुमाथि आरोप मात्र लगाइनन्, यसका कारण केही अभिनेताहरुसँग उनको बोलचालपनि बन्द भयो । मनिकर्णिका फिल्मको सुटिङमा नै यस विषयमा विवाद हुँदा यो फिल्म निर्देशनको जिम्मा पनि कंगनाको हातमा पुगेको थियो ।
अहिले फेरि कंगना भारतमा निकै ठूलो चर्चामा आएकी छिन् । अनि उनलाई सबैले भन्न थालेका छन्, ‘उनी ठिक कुरा गरिरहेकी एक अभिनेत्री हुन् ।’
यहीबीच उनले अन्तर्वार्तामा पनि भन्न थालेकी छिन्– म जे छु, आफ्नै दमका कारण छु ।
अहिले बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधनपछि कंगना फेरि चर्चामा आएकी छिन् । उनले पूरै फिल्मी हस्तीहरुलाई आफ्नो वचनबाट निकै तनावमा पारेकी छिन् । अनि बलिउडमा भइरहेको नेपोटिज्मबारे खुलेर चर्चा गर्न थालेकी छिन् ।
अब त उनले आफ्नो निशानामा सलमान खान, शाहरुख खान तथा आमिर खानलाई समेत पारेकी छिन् ।
यतिमात्र होइन, यही विवादमा उनले महेश भट्टलाई पनि मुछिदिएकी छिन् ।
सुशान्तको आत्महत्याको कारण जब ड्रग्स हो भन्ने पत्ता लागेको छ, कंगानाले बलिउडका चर्चित कलाकार सबैको टेस्ट गर्नु पर्ने माग राख्न थालेकी छिन् ।
अब त उनी सामाजिक सन्जालमा कति सक्रिय हुन थालेकी छिन् भने उनले राजनीतिक टिप्पणीहरु पनि गर्न थालेकी छिन् । कंगनाका बयानहरुले मोदी सरकारलाई समर्थन गरेको विश्लेषण अब हुन थालेका छन् ।
उनले गर्ने ट्विटरहरुले अहिले राजनीतिक रुपमा पनि भारत तातिन थालेको छ । उनले बोल्न थालेको चर्को आवाजकै कारण हुनुपर्छ, महाराष्ट्रको उद्धव ठाकरेको सरकार र उनबीच युद्ध नै सुरु भएको भारतीय मिडियाले बताउन थालिसकेका छन् ।
अब भारतीय जनता पार्टीले खुलेर कंगनाको समर्थन गर्न थालेको छ, महाराष्ट्रको शिवसेनाले उनको विरोध गर्न थालेको छ ।
यो सबको पछाडि अब कंगनाको मुभमेन्ट भारतमा भारतीय जनता पार्टीको सरकारमा हुने सम्भावना बढ्दै गएको विश्लेषण हुन थालेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।