संक्रमणको ‘हटस्पट’ बनेको वीरगन्ज यसरी बन्दैछ ‘ग्रिन’ जोन

करिब एक महिना अगाडिसम्म देशभरिमा कोरोना संक्रमण फैलिरहँदा वीरगन्ज महानगरपालिका कोरोना संक्रमणको ‘हटस्पट’बनेको थियो । दिनहुँ डेढ सयको हाराहारीमा संक्रमितको संख्या हुने गर्थ्यो । 

तीन अंकसम्म संक्रमितको संख्या पुगेको वीरगन्जमा भने अहिले एक र दुई अंकमा झरेको छ । स्थानीय प्रशासनको विवरण अझ एक अंकमै सीमित हुन थालेको छ । यद्यपि, चैतको पहिलो सातादेखि नेपालमा संक्रमण विस्तारै फैलिँदा  वीरगन्ज भने ‘रेड’ जोनमा नै पर्न थालिसकेको थियो । 

पछिल्लो समय त मेयर, सांसदसम्म, सुरक्षाकर्मी, स्वास्थ्यकर्मीदेखि पत्रकारसम्म कोरोनाबाट संक्रमित भए । जसले गर्दा वीरगन्जको अवस्था भयावह हुन थाल्यो । 

तथ्यांकमै हेर्ने हो भने देशभरिमा कोरोनाबाट अहिलेसम्म ३१२ जनाको कोरोनाका कारण मृत्यु हुँदा सबैभन्दा बढी पर्सामै ३५ जनाको ज्यान गएको तथ्यांक छ । यसैगरी देशभरिमा संक्रमितको ४९ हजार २ सय १९ पुग्दा वीरगन्जमै मात्र २ हजार ४२० जना संक्रमितको संख्या देखियो । 

तथ्यांक अनुसार संक्रमित बढी हुने जिल्लामध्ये अहिले पनि राजधानीपछि दोस्रो नम्बरमा छ, वीरगन्ज महानगरपालिका । यद्यपि, केही महिना अगाडिसम्म वीरगन्ज भने सबैभन्दा बढी संक्रमित हुने जिल्लामा पर्थ्यो । जुन अवस्था अहिले फेरिँदै गएको छ । केही महिना अगाडिसम्म दैनिक १५० जना संक्रमित हुँदा अहिले भने एक र दुई अंकमा सीमित भइसकेको छ । 

तथ्यांक अनुसार अहिले वीरगन्जमा कोरोना संक्रमित हुनु भन्दा बढी निको हुनेको संख्या बढ्न थालेको छ । स्थानीय प्रशासनका अनुसार १ हजार ५८८ निको भएर घर फर्किसकेका छन् । जसका कारण कोभिड अस्पताल समेत पहिलाको तुलनामा खाली हुन थालेका छन् । ‘रेड’ जोनमा रहेको वीरगन्ज महानगरपालिका अहिले ‘ग्रिन’ जोनमा जाने तरखरमा आइसकेको छ । 



अहिले एक अंकमा मात्रै सक्रिय संक्रमित 

वीरगन्जमा अहिले पहिलेको भन्दा संक्रमित हुनेको संख्या दिनहुँ घट्न थालेको छ । तीन अंकसम्म पुगेको संक्रमित संख्या अहिले भने एक र दुई अंकमा झर्न थालेको पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ बताउँछन् । उनका  अनुसार आज ६ जना मात्र सक्रिय संक्रमित छन् । यसैगरी हिजो बुधबार पनि ६ जना संक्रमित भएका छन् । त्यसको अघिल्लो दिन पनि ६ जना मात्रै संक्रमित भएको प्रशासनले जनाएको छ । यहाँसम्म कि पछिल्लो दुई सातामा संक्रमितको संख्या ५० पनि नकटेको उनी बताउँछन् । यसो हुनुको पछाडि प्रशासनको रणनीति नै मुख्य रहेको उनको जिकिर छ । 



प्रमुख जिल्ला अधिकारी तामाङका अनुसार संक्रमितको संख्या धेरै बढ्न थालेपछि स्थानीय प्रशासनले संक्रमित बढ्नुको कारण खोज्यो । त्यसपछि समस्या रोक्नमा प्रशासनले केही रणनीति अवलम्बन गरेको उनी बताउँछन् । 

उनका अनुसार भारतको सीमामा पर्छ, वीरगन्ज । ‘सीमा–नाका खुला थिए । हामीले कडाइ गर्दा गर्दै पनि लुकिछिपी आउने क्रम पनि बढ्यो’ उनले भने, ‘मानिसहरू यसरी भित्र प्रवेश गरे कि हामीले सबैका लागि क्वारेन्टिनको व्यवस्था समेत गर्न सकेनौँ ।’ जसले गर्दा यता बढी संक्रमित हुन थाल्यो ।’ उनी भन्छन्, ‘यो थाहा पाएपछि प्रशासनले आफ्नो रणनीति बदल्यो । र, त्यही रणनीति अहिले सञ्जीवनीको काम गरिरहेको छ ।’

नाकाहरू बन्द 

पर्साका प्रमुख जिल्ला अधिकारी तामाङका अनुसार प्रशासनले खासगरी यी रणनीति अपनायो । पीसीआर जाँच गर्ने, सीमामा कडाइ गर्ने, कन्ट्याक्ट ट्रेसिङ गर्ने, कोभिड अस्पतालको पर्याप्त व्यवस्था गर्ने, सीमामा कडाइ तथा मान्छेको चहलपहल बन्द गर्ने रणनीति अपनायो । सिडिओ तामाङ भन्छन्– ‘खुला सीमाका कारण संक्रमण बढेको थियो । त्यसैले, नाकामा कडाइ गर्‍यौं । संक्रमितहरुको उचित व्यवस्थापन गर्‍यौं ।’ 

‘यसका साथै मानिसहरू अनावश्यक रुपमा नहिँडुन् भनेर सेना पनि परिचालन गर्‍यौं । निषेधाज्ञा गर्‍यौं’ प्रजिअ तामाङ बताउँछन् । सबैलाई घरमै बन्द गर्‍यौं । अनि संक्रमित संख्या घट्दै गए । र, अहिले अवस्था नियन्त्रणमा छ ।’ 

सीमामा मात्रै १६ वटा सशस्त्र प्रहरीको वेश क्याम्प राखिएको उनी बताउँछन् । यसैगरी करिब एक महिना निषेधाज्ञा पनि लगाइएको उनको कथन छ । उनका अनुसार महानगरपालिकामा अहिले चार कोभिड अस्पताल छन् । तर, अहिले अधिकांश बेड खाली रहेको उनी बताउँछन् । वीरगन्जको अवस्था एकदम सुधारोन्मुख रहेको उनको भनाइ छ ।

  • प्रकाशित मिति : भदौ २५, २०७७ बिहीबार १६:९:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया