वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजान किन भइरहेको छ आलटाल ?

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा पछिल्लो समय देखिएको विवाद अहिले तत्कालका लागि मत्थर हुने सम्भावना बढ्दै गएको छ । तर, यहीबीच नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजान भएको आलटालले नेकपाभित्र फेरि अर्को चर्चा सुरु गरेको छ । यो चर्चा र आशंका हो, कतै वामदेवमाथि यसपटक पनि ‘धोका’ हुने त होइन ? 

स्वभाविक हो, वामदेवलाई राष्ट्रिय सभामा लैजाने नेकपा सचिवालयले निर्णय गरिसकेको यतिका समय भइसक्दा पनि अहिलेसम्म उनलाई राष्ट्रिय सभामा लैजान मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छैन । यसअघि आइतबार र त्यसअघि नै बसेको मन्त्रिपरिषद् बैठकले गौतमलाई राष्ट्रिय सभामा लैजाने सम्भावना बुझिएको थियो । 

तर, यो बैठकमा यस्तो निर्णय भएन । 

आखिर किन वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजान आलटाल गरियो त ? 

हामीले यही प्रश्न नेकपा सचिवालयका एक सदस्यलाई सोधेका थियौँ । उनले नाम नबताउने सर्तमा भने, ‘यो आलटाल होइन ।’

त्यसपछि उनले थपे, ‘अब बस्ने मन्त्रिपरिषद् बैठकले सायद यो निर्णय गर्ला ।’ एकातिर उनले यस्तो दाबी गरे भने अर्कोतिर नेकपामा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली पक्षधरले भने यो ओलीले नै जानेर गरेको आलटाल भएको बताएका छन् । 



यही आलटालका कारण गौतमले पनि केही दिनयता आफूनिकट नेताहरुलाई यो आलटालमा आफूले षडयन्त्र महसुस गरेको बताउन थालेका छन् । उनीनिकट एक नेताले फरकधारसँगको टेलिफोन सम्पर्कमा भने– सचिवालय बैठकमा गरिएको निर्णय र प्रधानमन्त्री तथा अध्यक्षले नै भनिसकेपछि अहिलेसम्म हुनु पर्ने हो, तर एक साता भइसक्दा पनि यो निर्णय नभएपछि फेरि धोका हुने हो कि भन्ने आशंका जन्मिनु स्वभाविक नै हो ।

तर, प्रधानमन्त्री ओली निकट नेताहरु चाहिँ यस दुई विशेष कारण देख्छन् ।



पहिलो, ओलीले चाहेर नै वामदेव गौतमलाई यसमा ढिलाइ गरिरहेका छन् । यो उनले आफूलाई नेकपामा थप बलियो बनाउन चालेको चाल हो । ओलीले अहिले आलटाल गर्दा वामदेव गौतमलाई मन्त्री नबनाउने योजना बनाएको यो पक्षले विश्लेषण गरेको छ । वामदेव गौतमलाई राष्ट्रिय सभामा नै लैजान आलटाल गर्ने हो भने उनलाई मन्त्री पद दिनु नपर्ने निष्कर्षमा ओली पुगेका छन् । 

वामदेवमाथि आलटाल हुनुको अर्को कारण हो, नेकपा स्थायी कमिटी बैठक । नेकपाले अब यसअघिका विवाद समाधान गर्न बनेको कार्यदलले दिएको प्रतिवेदनलाई स्थायी कमिटी बैठकमा छलफल गर्ने भएको छ । यो छलफलमा गौतम राष्ट्रिय सभामा जान खोज्नुको विपक्षमा आवाज उठाउन सकिए आफू अनुकूल फेरि डा. युवराज खतिवडालाई राष्ट्रिय सभामा लैजाने चाहनामा प्रधानमन्त्री ओली रहेका छन् ।

त्यसो त गौतमलाई राष्ट्रिय सभामा लैजान गत फागुनमा नै नेकपा सचिवालय बैठकले निर्णय गरेको थियो । तर, अहिलेसम्म यो निर्णय कार्यान्वयन हुन सकेको छैन ।

अब गौतम स्वयं राष्ट्रिय सभामा जान चाहेकाले उनको यो चाहना पूरा नगर्दा नेकपाका अर्को विवाद फेरि निम्तिएला भन्ने आशंका पनि गर्न थालिएको छ ।

  • प्रकाशित मिति : भदौ २५, २०७७ बिहीबार १७:६:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया