आचरणयुक्त व्यवहार गर्न नेकपाका नेता, कार्यकर्तालाई निर्देशन

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक शुक्रबार (आज) बस्दैछ । बैठकका लागि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले तयार पारेको प्रस्तावमा आचरणयुक्त व्यवहार र काम गर्न पार्टीका नेता कार्यकर्ताहरूलाई निर्देशन गरिएको छ ।

सामाजिक सञ्जालहरुमा आफ्ना विचार राख्दा पार्टी तथा सरकारहित विपरित नबोल्न र नलेख्न समेत नेकपाले नेता, कार्यकर्तालाई निर्देशित गरेको छ ।

पार्टीभित्र रहेको गुटबन्दी र अनुशासनहीनताको अन्त्य गर्न विधि तथा पद्धती स्थापित गर्न र नेता, कार्यकर्ता तथा जनप्रतिनिधिहरुको कार्यशैली र जीवनशैलीलाई मार्गदर्शन गर्न विगतमा तय गरिएको आचारसंहितालाई परिमार्जन गरी कडाईका साथ लागु गर्ने निर्णय गर्ने प्रस्ताव गरिएको छ । प्रस्तावमा भनिएको छ, ‘विशेषतः जिम्मेवार कमरेडहरुलाई पारदर्शी र जवाफदेही जीवनशैली अपनाउन र आफ्नो आचरण र कामप्रति जवाफदेही हुन निर्देशित गर्दछ ।’

नेता, कार्यकर्ता तथा सदस्यहरुलाई आफ्ना गल्ती, कमजोरीप्रति आत्मालोचना गर्दै भविष्यमा त्यस्ता गल्ती, कमजोरिहरु नदोहोर्‍याउन निर्देशन गरिएको छ । ‘अतितमुखी होइन भविष्यमुखी भएर, वर्तमानका चुनौतीलाई बेवास्ता गरेर होइन तिनलाई सामना गर्ने सही निष्कर्ष र सार्थक योजनाका साथ अघि बढेर जनताले सुम्पिएको अभिभारा पूरा गर्दै मुलुकको उज्जवल भविष्य सुनिश्चित गर्ने संकल्प गर्दछ’, नेकपाले तयार गरिएको प्रस्तावमा भनिएको छ । 

विगतका अन्तरविरोधबाट शिक्षा लिँदै पार्टी एकताको मर्म, भावना तथा दुई पार्टीबीच एकता गर्दा भएका सहमति संस्थागत रुपमा तय गरिएका नीति, विचार, विधि तथा पद्दति अनुसरण एवं कार्यान्वयन गर्दै अघि बढ्न समेत नेकपाले निर्देशन गरेको छ । 

यसैगरी नेकपाले पार्टी सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी लगायत समस्त पार्टी पङ्क्तिलाई विधि, पद्दति र संस्थागत निर्णयका आधारमा सञ्चालन गर्दै कार्यान्वयन हुन बाँकी रहेका विगतका निर्णयहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने प्रतिवद्धता समेत गरेको छ । 



नेकपाले पार्टीको आन्तरिक संघर्षलाई सम्हाल्दै नयाँस्तरमा एकता कायम गरेर अगाडी बढ्ने प्रतिवद्धता समेत जनाएको छ । प्रस्तावमा भनिएको छ, ‘पार्टीभित्रको अन्तरविरोधले गर्दा हुन गएको क्षतिलाई पारस्परिक विश्वास, सम्मान, एकता र समझदारीका साथ पुर्ती गर्ने संकल्प गर्दछ । स्वस्थ्य एवं गतिशिल पार्टीका लागि अस्वस्थ बहस र गुटगत अभ्यास खतरनाक शत्रु जस्तै हो र स्थापित सिद्धान्त, नीति र विधिको जगमा उभिएको एकताबद्ध पार्टी अग्रगति र प्रगतिको आधार हो भन्ने वास्तविकतालाई राम्रोसँग स्थापित गर्ने निर्णय गर्दछ ।’

 



ओलीले सरकार र प्रचण्डले पार्टी सम्हाल्ने

यसैगरी नेकपाले नेकपाका अध्यक्षद्वयको कार्यविभाजन समेत गरेको छ । जसअनुसार अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको यो कार्यकाल भरी प्रधानमन्त्रीको जिम्मेवारीमा रहेर सरकारलाई नेतृत्व गर्ने र सरकारको काममा केन्द्रीत हुने प्रस्ताव छ । त्यस्तै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यकारी अधिकार सहित पार्टीका बैठकहरुको सञ्चालन, निर्णयहरुको कार्यान्वयन र समग्र पार्टी कामको जिम्मेवारीमा केन्द्रीत हुनेछन् । दुवै अध्यक्षले पार्टी र सरकारबीचको कामलाई संस्थागत रुपमा अघि बढाउन समन्वय गर्नेछन् ।  

यसैगरी पार्टी विधान बमोजिम अध्यक्षद्वयको सहमति र महासचिवसँगको परामर्शमा सचिवालय, स्थायी कमिटी, पोलिटब्यूरो तथा केन्द्रीय कमिटी बैठकका कार्यसूची तयार गरी सम्बन्धित कमिटीको बैठकमा पेश गर्ने र त्यसअनुसार बैठक सञ्चालन गर्ने प्रस्ताव गरेको छ । सामुहिक नेतृत्व तथा व्यक्तिगत जिम्मेवारीको संस्थागत प्रणालीलाई अवलम्बन गर्दै सबल बनाउने नेकपाको प्रस्ताव छ ।  

एकताका बाँकी काम सम्पन्न गर्ने 

पार्टी एकता सम्पन्न भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएको दुई वर्ष बितिसकेको अवस्थामा एकताका सम्पूर्ण काम, सदस्यता नवीकरण, प्रदेश तथा स्थानीय कमिटीका अधिवेशन र राष्ट्रिय महाधिवेशन समेत सम्पन्न भइसक्न बाँकी रहेकाले ती कामहरुलाई अगाडी बढाउन नेकपाले प्रस्ताव गरेको छ । जसअनुसार केन्द्रीय सचिवालयले पार्टी विधान, नियमावली र निर्धारित मापदण्डका आधारमा एकता एकीकरणका बाँकी कामहरु असोज महिनाभित्र सम्पन्न गर्ने, केन्द्रीय आयोगहरु, केन्द्रीय सल्लाहकार परिषद्, जेष्ठ कम्युनिष्ट मञ्च, पोलिटब्यूरो, केन्द्रीय विभागहरु, प्रदेश र स्थानीय तहका कमिटीहरु, जनवर्गीय संगठनहरु र प्रवास क्षेत्रको संगठनात्म्क एकीकरणका साथै सम्पत्ति र अभिलेखको समेत एकीकरण सम्पन्न गर्ने प्रस्ताव गरेको छ । 

विवादका कारणले अवरुद्ध हुन पुगेको एकीकरण प्रकृयालाई सहमतिका साथ अघि बढाउने र आवश्यकता अनुसार नयाँ निर्णय लिने नेकपाले प्रस्ताव छ । 

एमसिसीबारे पनि धारणा

संसदमा विचाराधिन अवस्थामा रहेको नेपाल सरकार र अमेरिकी संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेशन(एमसिसि)बीच सन् २०१७ मा सम्पन्न भएको मिलेनियम च्यालेञ्ज कम्प्याक्ट सम्झौताबारे निर्णयमा पुग्नुअघि आवश्यक अध्ययन गरी सुझाबसहितको प्रतिवेदन प्रस्तुत गर्न केन्द्रीय कमिटीको दोस्रो बैठकबाट कार्यदल गठन गरिएको कार्यदलले प्रतिवेदन प्रस्तुत गरिसकेको छ ।

त्यहीअनुसार मिलेनियम च्यालेञ्ज कम्प्याक्ट सम्झौता र सो सम्बन्धी कार्यदलको प्रतिवेदन उपर स्थायी कमिटी र सचिवालयमा छलफल गर्नेछ । उक्त सम्झौतालाई राष्ट्रिय हितमा स्पष्ट पार्दै आवश्यकताअनुसार परिमार्जन र संशोधन गरी अनुमोदन गर्ने नेकपाले प्रस्ताव गरेको छ ।
 

 

  • प्रकाशित मिति : भदौ २६, २०७७ शुक्रबार ७:४३:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया