आमाको तिथिमा महालय पार्वणश्राद्ध गर्न किन नहुने ?
फरकधार / २६ भदौ, २०७७

हिन्दु परम्पराअनुसार यतिबेला सोह्रश्राद्ध चलिरहेको छ । आश्विन कृष्णपक्षका १५ दिन र पूर्णिमाको एक दिन गणना गरी १६ तिथिलाई यसमा समेटिएको छ । यसलाई महालय पार्वणश्राद्ध पनि भनिन्छ ।



‘श्रद्धया क्रियते इति श्राद्ध’ अर्थात् श्रद्धाले सम्पन्न गरिने काम नै श्राद्ध हो । दिवंगत पितृहरूको योगदानलाई श्रद्धापूर्वक सम्झनु र उनीहरूप्रति कृतज्ञता प्रकट गर्नु नै श्राद्धको मूल पक्ष हो । त्यसैले मातापितालाई जिवित छँदा नित्य सम्मान गर्नुपर्छ र परलोक लागेपछि श्राद्ध गर्नुपर्छ ।

श्राद्धका प्रकार

वास्तवमा शास्त्रीय परम्परा अनुसरण गर्ने हो भने एक वर्षभित्र एक सयभन्दा बढी श्राद्ध गर्नुपर्ने देखिन्छ । हरेक औंसीका १२, हरेक संक्रान्तिका १२, चार युगका ४ वटा, बेतिपात र वैधृति १२, १२ वटा, मनुका १४ वटा, महात्या १५ वटा अष्टका, अनुअष्टका र पूर्वेद्यु ५,५ यी सबैलाई क्रमैसँग गर्ने हो भने ९६ वटा श्राद्ध यहाँ उल्लेख भएका छन् । योसँगै सोह्र श्राद्ध र एकोद्दिष्ट समेतलाई जोड्दा वर्षमा सयभन्दा बढी श्राद्ध गर्नुपर्ने हुन्छ ।

ऋग्वेद, विष्णुपुराण, नृसिंहपुराण र गरुडपुराण आदि ग्रन्थमा श्राद्धका विषयमा सविस्तार चर्चा पाइन्छ । आभ्युदायिक श्राद्ध वा वृद्धि श्राद्ध, काम्य श्राद्ध, पुष्टि श्राद्ध, एकोद्दिष्ट श्राद्ध, गोष्ठी श्राद्ध इत्यादि ।​

सूर्यमास अनुसार सूर्य कन्या राशिमा प्रवेश गरेपछि यो समय सुरु हुन्छ, तर यो वर्ष सूर्य सिंह राशिमै हुँदा सोह्रश्राद्ध सुरु भएको छ ।

शास्त्रीय मान्यतालाई पछ्याउने हो भने पितृ पक्षका हरेक दिन पितृकार्य गर्नु भन्ने उल्लेख पाइन्छ । अर्थात् ती सबै दिन श्राद्ध गर्नु भन्ने उल्लेख छ । सबै दिन गर्न असमर्थ हुनेले पञ्चमीदेखि औंसीसम्म ११ दिन गर्नु, ११ दिन गर्न असमर्थ हुनेले दशमीदेखि औंसीसम्म ६ दिन भए पनि गर्नु, भनिएको छ । त्यो पनि सकिँदैन भने बुवाको तिथिका दिन एकदिन मात्रै भए पनि गर्नु भनिएको छ ।

त्यो बेलामा पनि पाइएन भने आश्विन शुक्ल पञ्चमीसम्मका प्रतिपदालाई छोडेर चारवटा मध्ये कुनै तिथिमा गर्न हुन्छ भनेको छ । त्यसमा पनि गर्न सकिएन भने गाइतिहारे औंशीमा गर्ने, त्यो बेला पनि कुनै कारणले गर्न सकिएन भने वृश्चिक संक्रान्ति अर्थात् मंसिर १ गतेभन्दा अघि गर्न मिल्छ भनेर शास्त्रमा उल्लेख छ ।

मानव पुर्खाहरूले श्राद्धलगायत अनेक संस्कार र संस्कृति निर्माणमा तत्कालीन सोचअनुसार अनेक प्रयोग र समसामयिक सुधार गरेको पाइन्छ । 

सोह्रश्राद्धमा आफूतिरमा ३ पुस्ता, मावलीतिरका ३ पुस्तालाई पिण्डदान गर्ने र सासू–ससुरासहित अन्य पितृहरूलाई तर्पण गर्नुपर्छ । 

त्यसैले पनि सोह्र श्राद्धलाई सबै पितृको साझा श्राद्ध हो भनिएको छ । 

सामाजिक मान्यता अनुशार तीन पुस्तालाई पिण्ड दान गर्नुपर्ने भएकाले कारणबस बुवाको तिथिमा श्राद्ध गर्न नमिले हजुरबुवाको तिथिमा गर्ने र हजुर बुवाको तिथिमा पनि नमिले जिजुबुवाको तिथिमा गर्ने परम्परा चलाइएको छ ।

बुवाको तिथिमा गर्न असमर्थ हुँदा हजुरबुवाकोमा र हजुरबुवाको तिथिमा पनि गर्न नमिले जिजुबुवाको तिथिमा गर्न हुने हो भने अब प्रश्न यहाँ आउँछ, आमाको तिथिमा सोह्रश्राद्ध गर्न किन नहुने ?

अब अर्को कुरा पनि हेरौं, श्राद्धमा पिण्डदान गर्नका लागि जे पक्वान्न बनाइन्छ त्यो धर्मपत्नीले पकाउनू भनिएको छ । पत्नी रजस्वला भएको अवस्थामा सोह्रश्राद्ध गर्न निषेध गरिएको छ । यसले पनि मातृशक्तिको आवश्यकता र उपयोगिता स्पष्ट पारेको छ ।

श्राद्धका विकल्प

पूर्वीय संस्कृतिमा श्रद्धाका अनेक विकल्प पाइन्छन् । पद्मपुराण र मनुस्मृतिलाई आधार मानेर हेर्ने हो भने चार दिक्पाललाई फनफनी घुमेर प्रणाम गर्ने र सूर्यलाई एक अञ्जली पानी अर्पण गर्दा र गाईलाई घाँस खुवाउँदा पनि श्राद्ध हुन्छ भनिएको पाइन्छ । साग, फलफूल र न्यूनतम दक्षिणा दिन सकिँदैन, छैन भने सात वा आठवटा तिल जलका साथ अञ्जलीमा लिएर ब्राह्मणहरूलाई दिँदा पनि श्राद्ध हुन्छ भनिएको छ । अझ दुवै हात उठाएर चार दिक्पाल र सूर्यलाई नमस्कार गरेर हे प्रभु ! हात हावामा फैलाइरहेको छु, मेरा दिवंगत पितामाता मेरो भक्तिबाट सन्तुष्ट होऊन् भनेर पनि श्राद्ध हुन्छ भनिएको छ । 

त्यसैगरी आचार्य पण्डित गोस्वामीले स्त्रीहरूलाई पनि श्राद्धको अधिकार शास्त्रले दिएको बताएका छन् । वाल्मीकि रामायणमा सीताले पिण्डदान दिएर दशरथको आत्मालाई मोक्ष मिलेको बताइन्छ । 

श्राद्ध भनेको नै श्रद्धाले गरिने कार्य हो । श्रद्धा भएन भने त्यो गर्नुको कुनै अर्थ रहन्न । त्यसैले श्राद्धका यी विविध प्रकार र परम्पराको उठानले के कुरा सिद्ध गरिसकेका छन् भने श्राद्ध श्रद्धापूर्वक जहिले गरे पनि हुन्छ । श्रद्धाले अर्पण गरिएको अन्न जल पितृले ग्रहण गर्छन् भन्नेमा कतै शङ्का गरिरहनु पर्ने अवस्था रहेन । त्यसैले पनि महालय पर्वण श्राद्ध आमाको तिथिमा गर्न कुनै बाधा छैन । फेरि अर्को कुरा १६ दिन श्राद्ध गर्नू भन्ने वाक्यले नै आमाको तिथिलाई समेटेको छ । पिताभन्दा माताको महत्त्व हाम्रो जीवनमा हजारौं गुना बढी छ भन्ने मान्यतालाई शिरोधार्य गर्दा पनि आमाको तिथिमा श्राद्ध गर्नु अत्यन्त उपयोगी देखिन्छ ।

  • प्रकाशित मिति : भदौ २६, २०७७ शुक्रबार ९:१९:३,   अन्तिम अपडेट : भदौ २६, २०७७ शुक्रबार ११:३१:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया