फुटपाथ व्यापार बन्द गराउन महानगरको आग्रह

काठमाडौं महानगरपालिकाले फुटपाथमा हुने व्यवसाय बन्द गराउन  जिल्ला प्रशासन कार्यालय काठमाडौंको ध्यानाकर्षण गराएको छ । महानगरकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले शुक्रबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई ध्यानाकर्षणपत्र बुझाउँदै यस्तो माग गरेकी हुन् । उनले पत्रमार्फत ‘फुटपाथ र ठेलागाडा व्यापार’ वाक्यांश हटाएर पुनः आदेश जारी गर्न माग गरेकी छन् ।


जिल्ला प्रशासन कार्यालय काठमाडौंले भदौ २४ गते जारी गरेको आदेशको, सञ्चालन गर्न सकिने क्रियाकलाप अन्तर्गत बुँदा १० मा ‘फुटपाथ पसल, ठेला व्यापार, स्टेशनरी पसल, इलेक्ट्रिक र इलेक्टोनिक्स पसल र डिपार्टमेन्टल स्टोर बिहान ११ बजेसम्म र बेलुकी ४ बजेदेखि ७ बजेसम्म खोल्न सकिनेछ,’ भनिएको छ । 


यो नियममा असन्तुष्टि जनाउँदै महानगरको तर्फबाट उपमेयर खड्गीले प्रशासनको ध्यानाकर्षण गराएकी हुन् । ‘महानगरले वार्षिक नीति र कार्यक्रमबाट नै फुटपाथ पसल हटाउने निर्णय गरिसकेको छ,’ उनले पत्रमा भनेकी छन्, ‘अहिलेको आदेश महानगरको यो नीति बिपरीत छ ।’ 
सहरमा संक्रमण फैलिँदो दरमा रहेको उल्लेख गर्दै उनले भनेकी छन्, ‘यदि फुटपाथ पसल र ठेला व्यापार खोल्ने हो भने महामारी नियन्त्रणबाहिर जान्छ ।’

ध्यानाकर्षण पत्र बुझिसकेपछि प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले यो आदेश सहरी सौन्दर्य र व्यवस्थापनमा प्रतिकुल गराउने उद्देश्यले जारी नगरिएको बताउँदै भने, ‘महामारीका समयमा यस पेशामा बसेर काम गर्ने मानिसहरुलाई परेको समस्या खुकुलो बनाउन खोजिएको हो । अहिले महानगरबाट औपचारिक रुपमा ध्यानाकर्षण भएको छ । अब जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकमा यस सम्बन्धि छलफल गरेर निर्णयमा पुग्छौं ।’ 
जिल्ला प्रशासन कार्यालयले भदौ २४ गते जारी गरेको आदेशमा ‘फुटपाथ पसल र ठेला व्यापार’ खुल्ला गर्ने भनेपछि भित्री वडाहरुले भने आफ्नो वडामा यस प्रकारका गतिबिधि सञ्चालन गर्न नदिने सूचना प्रकाशन गरेका छन् ।

 


 





  • प्रकाशित मिति : भदौ २६, २०७७ शुक्रबार १४:३०:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया