शुक्रबार साँझ भक्तपुर मध्यपुर थिमिका सुनिल अधिकारीले योजना बनाए, दाइ सुदीपको घरमा जाने र सपरिवार मीठो खाने । काठमाडौं उपत्यकामा कोरोनाभाइरसविरुद्ध लड्न लगाइएको निषेधाज्ञा अलिक सहज भइसकेको थियो । त्यसैले उनले मासु किने, झोलामा राखे र दाइको घरमा गए । सुनिल सशस्त्र प्रहरीमा कार्यरत थिए ।
तर, मीठो मसिनो खाने उद्देश्यका साथ दाइको घरमा पुगेका सुनीलले घरभित्र छिर्दानछिर्दै जे देखे, त्यसले उनलाई ठूलो धक्का दियो, उनका हातगोड चिसा भए । किनकि जुन दाइको घरमा उनी पुगेका थिए, त्यसको पहिलो तलामा उनले सुरुमै देखे आफ्ना भतिजको शव ।
१५ वर्षका सुशान्त मृत अवस्थामा त्यहाँ पल्टिरहेका थिए । त्यसको ठिक बाहिर सुदीपको घरको सेतो कुकुर पनि पल्टिएको थियो, मृत ।
त्यसको दोस्रो तल्लामा सुनील के पुगेका थिए, उनले भाउजूको शव देखिहाले । अनि तेस्रो तलामा उनले दाइको शव । आत्तिएका सुनिलले प्रहरीलाई फोन गरे ।
फोन गरेपछि घटनास्थलमा साँझ सवा पाँच बजेतिर प्रहरी पुग्यो । सुनिलले भनेअनुसार प्रहरीले थाहा पायो, सुदीपको घरको ढोका खुलै थियो । सुदीपका छिमेकीले पनि तीन दिनदेखि त्यो घरमा खासै केही हल्ला नभएको शुक्रबार साँझ नै राससलाई बताएकी थिइन् ।
त्यसपछि अनुसन्धानमा जुटेको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ– सुदीपले श्रीमती र छोराको हत्या गरेपछि आत्महत्या गरेका हुन् । सुदीपकी ३४ वर्ष श्रीमती सम्झना र छोरा सुशान्तको शव रहेको ठाउँमा प्रहरीले रगत लतपतिएको पनि देखेको छ । तर, सुदीपको शव वरपर भने केही त्यस्तो रगत देखिएको थिएन ।
बरु यो घरको भान्सामा एउटा विषादी बट्टा प्रहरीले फेला पारेको छ । त्यसैले प्रहरीको प्रारम्भिक अनुमान छ– सुदीपले नै श्रीमती र छोराको हत्या गरेपछि आत्महत्या गरेका हुन् । भान्सामा बिसादीको बट्टा भेटिनु, भान्साको चक्कु सुशान्तको कोठामा हुनु र सम्झना र सुशान्तको शव गलिसकेको हुनुले प्रहरीले गरेको अर्को अनुमान हो– यी तीन जनाको मृत्यु फरक फरक दिनमा भएको हुनसक्छ ।
प्रहरीले सुदीपको शव भने तुलनात्मक रुपमा कम गलेको पाएको छ ।
यतिमात्र होइन, सम्झना र सुशान्तको शवमा कात्रो पनि ओढाइएको प्रहरीले पाएको छ । सुशान्तको शवमा राम राम लेखेको कात्रो ओडाइएको छ भने सम्झनाको शवमा सेतो कपडा ओडाइएको छ ।
यद्यपि यस विषयमा अहिलेसम्म अनुसन्धान नै भइरहेको छ । यी तीन जनाको शव नै पोस्टमार्टमका लागि अस्पताल लगिएको छ । तर, पोस्टमार्टमको रिपोर्ट आएको छैन ।
यो घटनामा अब प्रमुख दोषी मानिएका सुदीपको पनि निधन भइसकेको छ । त्यसैले यो घटनाको खास कारण खुल्न नसक्न सक्छ वा कहिल्यै थाहा नहुन सक्छ । तर, किन यो घटना भयो होला भन्नेबारे पनि विभिन्न अनुमान चाहिँ सुरु भएका छन् ।
सुदीपको घरका छिमेकीहरुका अनुसार सुदीपको परिवारका सदस्यहरु खासै बाहिर निस्कने वा अरुसँग घुलमिल हुने खालका थिएनन् । सुदीपले एक वर्षअगाडि सम्म एउटा औषधी कम्पनीमा काम गर्ने गरेको पनि उनीहरुले बताएका छन् ।
पछिल्लो समय यो घरमा भने अलिक बढी झगडा हुने गरेको छिमेकीले बताएका छन् । अनि यसको कारण चाहिँ नयाँ घर बनाउँदा लागेको ऋण प्रमुख कारण भएको मानिएको छ । घर बनाउँदा लिएको ऋण र पछिल्लो समय ससुरालीबाट पनि सुदीपले पसलका लागि ऋण लिएकाले यस विषयमा झगडा सुरु भएको मानिएको छ । अनुसन्धानमा संलग्न एक अधिकारीले फरकधारलाई बताएअनुसार सुशान्तले यसै वर्ष एसइई पास गरेका थिए । उनको र बाबुको पनि सम्बन्ध खासै राम्रो नभएको बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।