दाहसंस्कार गरेको भोलिपल्ट कोरोना पोजेटिभ, १०० भन्दा बढी मलामी होम क्वारेन्टिनमा

पोखरामा उपचारका क्रममा यही भदौ २५ गते राति १ः१५ बजे मृत्यु भएकी महिलाको दाहसंस्कार गरेको भोलिपल्ट कोरोना परीक्षण नतिजा पोजिटिभ आएको छ । 

पोखराको फिस्टेल अस्पतालमा अर्वुदरोग तथा मिर्गौला सम्बन्धी समस्याले भर्ना भएकी पोखरा–५ निवासी ४५ वर्षीया महिलाको नमुना परीक्षण पोजिटिभ आएपछि मलामी गएका १०० भन्दा बढी मलामी होम क्वारेन्टिनमा बसेका छन् । 

गत बिहीबार बिहान महिलाको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिएकामा उनको सोही राति मृत्यु भएको थियो । अस्पतालले नतिजा नआउँँदै आफन्तलाई शुक्रबार बिहान शव हस्तान्तरण गरेपछि परिवारले धार्मिक विधिमार्फत अन्त्येष्टि गरेका थिए । 

पर्यटन व्यवसायमा आवद्ध ती महिलाको अन्तिम संस्कारमा सहभागी गण्डकी प्रदेशसभाका सदस्यद्वय रामजीप्रसाद बराल, राजीव पहारी, माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङ, उपाध्यक्ष कृष्णकुमारी दवाडीलगायतले आफूहरु होम क्वारेन्टिनमा रहेको जानकारी दिँदै मलामी गएका तथा मृतकसँग सम्पर्कमा भएकाहरुलाई नआत्तिन र घरभित्रै रहन आग्रह गरेका छन् । 

अन्तिम संस्कारमा सहभागी आफन्त, पर्यटन व्यवसायी, सञ्चारकर्मीहरुलाई समेत होम क्वारेन्टिनमा बस्न आग्रह गरिएको महानगर स्वास्थ्य महाशाखाले जनाएको छ ।
 
महाशाखाका अधिकृत हरिलाल आचार्यले बिरामीलाई अस्पतालमा भेट्न गएका, परिवारका सदस्य तथा लास छोएका र नजिक गएकाहरुको पहिलो चरणमा पिसिआर परीक्षण गरिने बताए । 

मलामी जाँदैमा सबैलाई सङ्क्रमण हुन्छ भन्ने नरहेको भन्दै उनले भने, ‘मलामी गएकाहरु सुरक्षित भएर बस्नुपर्दछ, तर सबैको पिअिआर गर्नुपर्दछ भन्ने छैन । पहिलो चरणमा गरिएको परीक्षण पोजिटिभ देखिएकामा मात्र थप व्यक्तिको परीक्षण गर्नुपर्ने हुन्छ ।’



गण्डकी प्रदेशमा आज मात्र ७ सय ५७ जनाको नमुना परीक्षण गरिएकामा ७५ जना कोरोना पुष्टि भएको छ । यसैगरी पछिल्लो २४ घण्टामा ३७ जना निको भएका छन् ।

प्रदेशमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ९०३ पुगेको छ । नतिजा पोजिटिभ आएका मध्ये एक हजार ८४९ जना उपचारपछि निको भएर घर फर्किएकामा र हालसम्म २४ जनाको मृत्यु भएको छ । हाल प्रदेशमा एक हजार ३० जना सक्रिय सङ्क्रमित रहेका छन् ।



अहिलेसम्म ५५ हजार ७ सय ३७ जनाको नमुना परीक्षण गरिएकामा ५२ हजार ८ सय ३४ जनाको नजिता नेगेटिभ आएको  प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । 

  • प्रकाशित मिति : भदौ २७, २०७७ शनिबार २०:१३:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया