‘अधिकांश इन्टरनेट प्रयोगकर्ता गलत सूचनाको सिकार !’


नेपालका अधिकांश इन्टरनेट प्रयोगकर्ताले गलत सूचना प्राप्त गर्ने तथ्य सार्वजनिक भएको छ । सेन्टर फर मिडिया रिसर्च नेपालले हालै गरेको सर्वेक्षणबाट उक्त तथ्य बाहिरिएको हो । सर्वेक्षणमा सहभागीमध्ये ९५ प्रतिशतभन्दा बढी इन्टरनेट प्रयोगकर्ताले विशेषगरी युट्युब, फेसबुक र ट्विटरजस्ता सामाजिक सञ्जालमा गलत सूचना हुने गरेको बताएका छन् ।


सेन्टरले सन् २०१९ को नोभेम्बरमा गरेको नेपाल ट्विटर प्रयोगकर्ता सर्वेक्षण २०१९ मा सहभागी प्रयोगकर्ताको जवाफले यस्तो अवस्था देखाएको हो । ‘नतिजा अचम्मलाग्दो होइन तर लगभग सबैजसो इन्टरनेट प्रयोगकर्तासम्म मिथ्या सूचनाको पहुँच हुनुलाई गम्भीरतापूर्वक हेर्नुपर्ने हुन्छ’, सेन्टरका अध्यक्ष ऋषिकेश दाहालले भने, ‘त्यसैले आम नागरिकलाई मिथ्या र सही सूचना छुट्याउन सहयोगी हुने किसिमको प्रभावकारी र बहुआयामिक योजना निर्माणका लागि सम्बन्धित सरोकारवालाहरूले ढिलो गर्न हुँदैन ।’


सर्वेक्षणमा सहभागीमध्ये ९५.५ प्रतिशतले बितेको एक साताको अवधिमा इन्टरनेट प्रयोग गर्दा मिथ्या सूचना भेटेको बताए । बितेको एक सातामा मिथ्या सूचना नदेख्नेहरूको संख्या नगन्य थियो । र, धेरै नेपालीहरूका लागि मिथ्या सूचनाको प्रमुख स्रोत यूट्यूब रहेको छ । मिथ्या सूचना प्राप्त गर्नेमध्ये ८५.६ प्रतिशतले यूट्यूबमा गलत सूचना देखेको बताएका छन् ।

यो तथ्यले ‘नेपालमा यूट्यूब चलाउनेहरूले आफ्नो च्यानल बढी चलाएर पैसा कमाउन विषयलाई बढाइचढाइ गर्ने र मिथ्या सूचनासमेत दिन्छन् भन्ने आरोपलाई केही हदसम्म पुष्टि गरेको छ ।

फेसबुक र ट्विटरबाट पनि मिथ्या सूचना फैलिने गरेको सर्वेक्षणले देखाएको छ । दुई तिहाइभन्दा धेरैले फेसबुकबाट र आधाभन्दा बढीले ट्विटरबाट मिथ्या सूचना प्राप्त गरेको बताएका छन् । सत्र प्रतिशतले भने अन्य वेबसाइटबाट र एकदमै थोरैले पत्रपत्रिकाबाट मिथ्या सूचना प्राप्त गरेको बताएका छन् ।


सर्वेक्षणमा मिथ्या सूचना हाम्रो लागि समस्या हो कि होइन वा भविष्यमा समस्या बन्न सक्छ कि सक्दैन भनेर पनि सोधिएको थियो । करिब ७४ प्रतिशतले नेपाली समाज र राजनीतिका लागि मिथ्या सूचना समस्या भइसकेको बताए भने १२ प्रतिशतले यो भविष्यमा समस्याका रूपमा आउने विचार व्यक्त गरे । थप ११ प्रतिशतले भने यो समस्या भइसकेको तर थाहा नभएको हुनसक्ने बताए ।



यसरी हेर्दा लगभग ९७ प्रतिशत उत्तरदाताहरूले मिथ्या सूचना हाम्रो समाजको लागि समस्या बनिसकेको वा बन्नसक्ने विचार व्यक्त गरे । बाँकीमध्ये दुई प्रतिशतले यो नेपाली समाजमा समस्या बनिनसकेको र एक प्रतिशतले भविष्यमा पनि नबन्ने बताए ।


उत्तरदातामध्ये धेरैले इन्टरनेटमा मिथ्या सूचनालाई न्यूनीकरण गर्न सरकार र मिडियाको प्रमुख भूमिका हुने बताएका छन् । चालीस प्रतिशतले मिडियालाई र ३८ प्रतिशतले सरकारलाई सबैभन्दा बढी उत्तरदायी भएको बताए ।



एकभन्दा धेरै उत्तर दिन मिल्ने प्रश्नमा ३२ प्रतिशतले प्रयोगकर्तालाई र ३० प्रतिशतले सूचनाको माध्यम सबैभन्दा बढी उत्तरदायी हुनुपर्ने बताए ।

नागरिक समाजलाई मिथ्या सूचना न्यूनीकरणमा सबैभन्दा बढी उत्तरदायी ठान्नेको सङ्ख्या २२.५ प्रतिशत र अन्य सरोकारवालालाई नौ प्रतिशतले उत्तरदायी ठानेका छन् । अन्यमा शैक्षिक संस्था, समाजिक सञ्जालमा सक्रियहरू र तथ्य जाँचकर्ताहरूलाई उत्तरदायी मानेका छन् ।

  • प्रकाशित मिति : भदौ २८, २०७७ आइतबार १४:१०:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया