सेनामा पेन्सन नभई सेवा छाड्नेको सङ्ख्या ह्वात्तै बढ्यो

नेपाली सेनामा पछिल्लो समय पेन्सन नै नभई सेवा छाड्नेको सङ्ख्या निकै ठूलो रहेको पाइएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयकाअनुसार अघिल्लो आर्थिक वर्षमा मात्रै १ हजार ६ सय ३२ जनाले पेन्सन नभई बीचमै सेवा छाडेका थिए । 

विशेषगरी, तल्लो तहका सैनिकले पेन्सनसम्बन्धी माग सम्बोधन नभएको, बढ्दो बजार मूल्यका कारण परिवार पाल्न धौ–धौ भएको र विकल्पका रुपमा वैदेशिक रोजगारीका लागि काम गर्न जाने सिलसिलामा बीचमै सेवा छाड्ने गरेका हुन् । आव ०७६–७७ मा ८ सय ६७ जना राजीनामा दिई उपदानमा बाहिरिएका थिए भने ७ सय ६५ जनाले भगौडाका रुपमा सैनिक सेवा छाडेको तथ्यांक छ ।  

सेवा परित्याग गरेर जानेमा खासगरी तल्लो तह सिपाहीदेखि हवल्दारसम्मको सङ्ख्या अधिक छ । सेवामा १६ वर्षसम्म सेवा गरेको जनशक्ति पनि पेन्सन नभई सेवा छाडिरहेको आँकडा देखिन्छ । 

विसं २०६० सम्म सिपाहीदेखि हवल्दारसम्मका लागि १६ वर्षे सैनिक सेवा गरेपछि पेन्सन हुने व्यवस्था थियो । पेन्सनको अवधि २० वर्ष पुर्याएपछि उपदानमा जाने र भगौडाको सङ्ख्या उल्लेखनीय रुपमा बढेकाले सकलदर्जालाई टिकाइराख्न र जनशक्तिको व्यवस्थापन गर्न जङ्गीअड्डालाई समस्या भएको छ ।

सैन्यमा भर्ना हुन १८ वर्ष उमेर तोकिएको हुँदा १६ वर्षमा पेन्सन भएका खण्डमा ३५ वर्ष उम्मेरभित्रै दोस्रो क्यारियर सुरु गर्न सहज हुने भएकाले पनि सिपाहीदेखि हबल्दारसम्मका लागि सङ्गठनले प्राथमिकताका अघि सारेको पेन्सनसम्बन्धी नीतिलाई सरकारले अनुमोदन गर्नु उपयुक्त हुने पूर्वउपरथी होम लावतीको सुझाव छ । 

स्वदेश होस् वा विदेशका अधिकांश कम्पनीले ३५ वर्ष ननाघेका भूपू सैनिकलाई सुरक्षागार्डका लागि प्राथमिकता दिने र त्यस्ता कम्पनीले उपलब्ध गराउने  आकर्षण तलब सुविधाले तल्लो तहका सैनिकको मन लोभ्याएको हो ।



सेनाले केही वर्षअघि राजीनामा दिनेको ओइरो लागेपछि क्षेत्रगत रुपमा कोटा निर्धारण गरी केही समय होल्ड गरेर मात्र राजीनामा स्वीकृत गर्ने नीति नै बनाएको थियो । कठिन परिश्रमको तुलनामा ज्यादै थोरै तलब सुविधा तथा बढ्दो बजार मूल्य र महँङ्गीले जीवनयापन गर्न र सन्ततिलाई गुणस्तरीय शिक्षा दिन नसकेर विकल्पका रुपमा बाध्य भई खाडीलगायत मुलुकमा जान सैनिक सेवा छाड्नुपरेको सैनिक सेवा छाड्ने बताउँछन् ।

यद्यपि, नेपाली सेनाले सकलदर्जा र उनका परिवारलाई स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउँदै आएको छ भने शिक्षातर्फ पनि सकलदर्जाका एक सन्ततिलाई पूर्वप्राथमिक तहदेखि स्नातकोत्तर तहसम्म अध्ययनको मौका प्रदान गर्दै आएको छ । अनवरत तालिम र दुःखको तुलनामा सुविधा कम भएको गुनासो  दैनिक रुपमा सैनिक नेतृत्वले प्रशस्त सुन्नुपरेको छ ।



  • प्रकाशित मिति : भदौ २८, २०७७ आइतबार १७:१०:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया