कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउन सुरु भएयता निर्माण क्षेत्र पनि ठप्प छ । जसका कारण देशभर हजारौँको संख्यामा रहेका निर्माण उद्योग बन्द रहे । त्यसको असर उद्योगीमा मात्र नभएर श्रमिकहरूमा पनि परेको छ । लकडाउन खुलेपछि पनि निर्माणका गतिविधि कम हुँदा व्यापार न्यून भएकाले झनै समस्या बढेको उद्योगीहरू बताउँछन् ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउन आदेश जारी हुँदा निर्माण क्षेत्रका इँटा उद्योग, क्रसर उद्योग लगायतका उद्योगहरू पनि बन्द रहे । तर, पनि कोरोना संक्रमणको असर परेका क्षेत्रमा यी उद्योग परेनन् । जसको मुख्य कारण निर्माण क्षेत्र कुनै न कुनै रूपमा सञ्चालन भइरहेको छ भन्ने हो ।
निर्माण क्षेत्रका लागि आवश्यक मुख्य कच्चा पदार्थ यिनै इँटा उद्योग र क्रसर उद्योगबाट आपूर्ति हुन्छ । त्यसैले पनि यो क्षेत्रमा त्यति ठूलो असर परेको छैन भन्न सकिन्छ । तर, निर्माण उद्योगीहरू भने त्यसमा सहमत छैनन् । अन्य क्षेत्रमा परेको असरको प्रभाव निर्माण क्षेत्रमा पनि पर्ने क्रसर उद्योगी श्यामराज खड्का बताउँछन् । उनले कोभिडको असर वैदेशिक रोजगारीमा परेको र रेमिट्यान्समा कमी आउँदा निर्माणका काम पनि कम हुन गई निर्माण जन्य उद्योगमा असर पर्ने बताए ।
उनले रेमिट्यान्समा ३० प्रतिशते कमी आएमा निर्माण क्षेत्रको व्यापारमा पनि ३० प्रतिशतले नै कमी आउने बताए । त्यसैले सरकारले क्रसर उद्योग सञ्चालनमा सहजीकरण गर्नुपर्ने खड्काको भनाइ छ ।
यस्तै इँटा उत्पादक संघका अध्यक्ष नातिभाइ हेम्वाले पनि लकडाउन सुरु भएपछि इँटा उत्पादन ठप्प भएको बताए । काँचो इँटा पोल्ने बाहेकका कुनै काम हुन नसकेको उनको भनाइ छ । उनले अहिले बजारमा समेत इँटाको माग नभएको बताए ।
अहिले उत्पादन भएको इँटा बिक्री नभएकाले अर्को सिजनको मागलाई समेत धान्न सक्ने इँटा आफूहरूसँग रहेको हेम्वाले बताए । त्यसैले पनि अहिलेकै स्थितिमा माग भइराखे अर्को सिजनमा इँटाको आपूर्तिमा कुनै समस्या नहुने देखिन्छ । तर, अहिलेको स्थितिमा उद्योग सञ्चालन गर्न चुनौती रहेको पनि उनको भनाइ छ । विभिन्न जिल्लाबाट आउने श्रमिकहरूको व्यवस्थापन उद्योगीहरूका लागि मुख्य चुनौती रहेको उनले बताए ।
भक्तपुर जिल्लामा सञ्चालित ६२ वटा इँटा उद्योगमा करिब ३५ हजार कामदार कार्यरत छन् । विभिन्न जिल्लाबाट र भारतबाट समेत कामदार ल्याउनुपर्ने भएकाले कोरोना १९ संक्रमणको व्यवस्थापनमा चुनौती रहेको अध्यक्ष हेम्वाले बताए । कामदारहरू विभिन्न उद्योगमा पालैपालो काम गर्न जानुपर्ने भएकाले उद्योग भित्रै क्वारेन्टाइनमा राख्न समेत सम्भव नहुने उनले बताए । त्यसैले सरकारले इँटा उद्योगीहरूका लागि छुट्टै मापदण्ड बनाएर सञ्चालन गर्न दिनुपर्ने बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।