नेकपाको संगठन विभाग सक्रिय, मंसिरसम्म सदस्यता नवीकरण गर्ने

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आन्तरिक विवाद समाधान गरेसँगै संगठन व्यवस्थित गर्न लागेको छ । यसैक्रममा नेकपाको संगठन विभाग सक्रिय भएको छ ।

जसअनुसार आगामी मंसिर सम्ममा पार्टी सदस्यताको नवीकरण गर्ने नेकपाले तयारी गरेको छ । पार्टी कार्यालय धुमबाराहीमा बसेको बैठकले स्थायी कमिटीले गरेको निर्णयअनुसार तत्कालीन एमाले र माओवादी केन्द्रका पार्टी सदस्यता नवीकरण मंसिर महिना भित्रमा सक्ने निर्णय गरेको संगठन विभागका सदस्य खग राज भट्टले जानकारी दिएका छन् । 

गत २६ गते बसेको नेकपाको स्थायी कमिटीले मंसिर भित्र पार्टी सदस्यता नवीकरणको काम सक्ने निर्णय गरेको थियो । उक्त निर्णयसँगै पार्टीको संगठन विभागले पनि सदस्यता नवीकरण मंसिरमा गरिसक्ने निर्णय गरेको हो । संगठन विभागलाई पनि अब छिटै पूर्णता दिने निर्णय भएको भट्टले बताए ।

पार्टीका कयौं जिल्ला र प्रदेशका विवादहरू पनि मापदण्ड बनाएर हल गर्ने उनले बताए । नेकपाको स्थायी कमिटीले अगामी चैत २५ गतेदेखि ३० गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको छ । संगठन विभाग प्रमुख उपाध्यक्ष वामदेव गौतम तथा उपप्रमुखमा जनार्दन शर्मा रहे तापनि संगठनमा अन्य सदस्यहरुले भने पूर्णता पाएको छैन । 

नेकपाभित्रको आन्तरिक विवाद समाधान भएसँगै उपाध्यक्ष वामदेव गौतम नेतृत्वको संगठन विभाग पनि सक्रिय बनेको छ । नेकपा संगठन विभागको आइतबार बसेको बैठकले नेकपाका पार्टी सदस्यहरूको सदस्यता नवीकरण गर्ने निर्णय भएको छ ।

महाधिवेशनमा केन्द्रित रहेर सदस्यहरुको तत्काल नवीकरण गर्ने निर्णय भएकाले अब यसबारेमा सर्कुलर हुने पार्टी कार्यालयका सचिव एवं केन्द्रीय सदस्य ईश्वरी रिजालले फरकधारलाई जानकारी दिए । 



नेकपाको विभागले मंसिर भित्र नवीकरण गर्ने गरी संगठन तीन महिने कार्ययोजना तयार पारेको हो । असोज मसान्तभित्र सदस्यहरूको विवरण संकलन गर्ने, कात्तिकभित्र अद्यावधिक र मंसिर भित्र नवीकरण गर्ने निर्णय संगठन विभागले गरेको हो ।

गत माघमा बसेको केन्द्रीय कमिटीले २०७६ को चैत मसान्तभित्र नै सदस्यता नवीकरण गर्ने निर्णय गरेको थियो । कोरोना प्रकोपको कारणले नवीकरण हुन सकेको थिएन । नेकपाले आउँदो चैत २५ देखि चैत ३० गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको छ ।



नेकपामा २०७४ सालदेखि कुनै पनि पार्टी सदस्यको सदस्यता नवीकरण भएको छैन । पूर्व एमालेका ५ लाख र पूर्व माओवादीका ३ लाख गरी ८ लाख पार्टी सदस्य रहेको नेकपाको दाबी छ ।

त्यस्तै, संगठन विभागको बैठकले विभागको सदस्य र सचिवमा ज्ञानबहादुर भुजेललाई नियुक्त गर्न पार्टी सचिवलाई सिफारिस गरेको पार्टी कार्यालयका सचिव रिजालले बताए ।

  • प्रकाशित मिति : भदौ २९, २०७७ साेमबार ११:३३:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया