सिन्धुपाल्चोकको जोखिमयुक्त बस्ती स्थानान्तरणका ३२ करोड लाग्ने अनुमान

सिन्धुपाल्चोकको जोखिममा रहेका बस्ती स्थानान्तरणका लागि ३२ करोड ५ लाख रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले हालै प्रकाशन गरेको प्रतिवेदनले बस्ती स्थानान्तरणका लागि उक्त रकम खर्च हुने देखाएको हो ।

प्रतिवेदन अनुसार जिल्लामा ११ हजार १०९ घर बाढी तथा पहिरोको जोखिममा छन् । तीमध्ये उच्च जोखिममा रहेका ६४१ घर तत्काल स्थानान्तरण गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । स्थानान्तरण गरिनुपर्ने प्रतिघर ५ लाखका दरले ३२ करोड ५ लाख रुपैयाँ खर्च लाग्ने देखिएको छ । बस्ती स्थानान्तरणका लागि सम्भावित स्थानको खोजी गरिसकिएको जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले बताए । 
जिल्लाभरका जोखिममा रहेका बस्तीहरूको सांसद् शेरबहादुर तामाङसहितको प्राविधिक टोलीले अनुगमन गरेको थियो । टोलीले जोखिममा रहेका बस्तीहरूलाई तत्काल स्थानान्तरण गर्न सुझाव दिएको छ । आफूले अनुगमन गरेका अधिकांश क्षेत्रमा जमीनमा धाँजा फाटेको देखिएकाले वर्षा भएलगत्तै पहिरो जाने खतरा देखिएको र्सासद तामाङले बताए ।

बाढी तथा पहिरोको उच्च जोखिममा रहेका बस्ती जुगल गाउँपालिकामा सबैभन्दा बढी छन् । जुगल गाउँपालिका–२ लिदीमा १६४, सानो नम्फामा २९ र वडा नं ३ बोल्देमा २६०  गरी ४५३ घर सार्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । त्यस्तै मेलम्ची नगरपालिका–४ को अमले बस्ती, सुनकोशी गाउँपालिका–६ को धुसिने, हेलम्बु गाउँपालिका–५ को बोल्दे, भोटेकोशी गाउँपालिकाको जम्बुलगायत बस्ती पनि उच्च जोखिममा रहेको पतिवेदनले देखाएको छ ।

उच्च जोखिममा रहेका जुगल गाउँपालिका–२ लिदीका १६४ परिवारलाई अस्थायी आवासका लागि गाउँपालिकाकै वडा नं. १ बाँसखर्कमा सारिएको भए पनि स्थायी व्यवस्थापनको टुंगो लागिसकेको छैन । गाउँपालिकाभित्र जोखिममा रहेका सबै बस्तीहरूलाई अस्थायी रूपमा सुरक्षित स्थानान्तरण गरिसकेको अध्यक्ष होमनारायण श्रेष्ठले बताए ।

सरकारले २०७२ को भूकम्प पीडितलाई दिए सरहको सहयोगले पहिरो पीडितहरूको स्थायी स्थानान्तरण गर्न नसकिने श्रेष्ठले बताए । ‘उच्च जोखिममा रहेकाहरूलाई स्थानान्तरण गर्न भूकम्पपीडितलाई दिए जस्तै घडेरी तथा आवास अनुदान बापत प्रतिपरिवार ५ लाख दिने भनिएको छ,’ गाउँपालिका महासंघका समेत अध्यक्ष रहेका श्रेष्ठले भने, ‘६ वर्षअघि बजार मूल्य एउटा थियो, तर अहिले दश गुणा बढी महँगी बढेको छ ।
 





  • प्रकाशित मिति : भदौ २९, २०७७ साेमबार १७:४९:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया