नेपाल सरकारले एसिडपीडितको पक्षमा कडा कानुन ल्याउन लागेकोमा बलिउड अभिनेता अमिताभ बच्चनले सोमबार सामाजिक सञ्जाल ट्विटरमार्फत स्वागत गरेका छन् ।
यसका लागि बारम्बार सरकारलाई झकझक्याउने काममा लागेको भन्दै बच्चनले अभियन्ता उज्जवल थापाको प्रशंसा गरेका छन् । बच्चनले एसिडपीडितका लागि नयाँ कानुन बनाउने निर्णय गर्नु थापाको कडा परिश्रमको परिणाम भनेका छन् ।
अभिनेता बच्चनले यो निर्णय नेपालकै लागि मात्र नभई भारतका लागि प्रेरणाको स्रोत हुने उल्लेख गर्दै थापालाई यसका लागि बधाई दिएका छन् । यसअघि बच्च्नले वीरगन्जकी एसिड पीडित मुस्कान खातुनलाई भिडियो सन्देश पठाएर सान्त्वना दिएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले १२ जना एसिडपीडितसँग छलफल गरेर पीडितको मागअनुसार अमानवीय र जघन्य अपराधका दोषीमाथि कारबाहीका लागि अध्यादेशमार्फत कडा कानुन ल्याउने प्रतिबद्धता जनाएका थिए । यसका निम्ति उनले मस्यौदा तयार गर्न कानुन मन्त्रालयलगायत सम्बन्धित निकायलाई १५ दिनको समय दिएका छन् ।
प्रधानमन्त्रीले वीर र शिक्षण अस्पतालमा एसिडपीडितको उपचारको प्रबन्ध मिलाउने, पीडितको सम्पूर्ण खर्च सरकारले र नियमित प्रयोग गर्नुपर्ने औषधिको खर्चसमेत सरकारले व्यहोर्ने गर्ने घोषणा गरेका छन् । हरेक वर्ष सेप्टेम्बर १० लाई एसिड आक्रमण विरुद्धको जागरण दिवसका रूपमा मनाउन समेत आह्वान गरिएको छ ।
साथै, यसमा संलग्न अपराधीको सम्पत्ति रोक्का गरी उसैबाट क्षतिपूर्ति भराएर उपचार गर्ने, भरणपोषण गर्ने, पीडितलाई छिटो अस्पताल पुर्याएर उपचार गर्ने व्यवस्था सहितको कानुन निर्माण गर्ने निर्णय प्रधानमन्त्रीले सुनाएका छन् ।
एसिडपीडितको शिक्षा, तालिम, रोजगारी, व्यवसाय र जीविकाको प्रबन्ध पनि सरकारले मिलाउने उनले घोषणा गरेका छन् ।
T 3659 - - Ujjwal Thapa !! well done ex - Sherwoodian .. your hard work on the issue of acid victims, has paid off .. you have not just made Sherwood College proud, but also your country Nepal ..
— Amitabh Bachchan (@SrBachchan) September 14, 2020
Many congratulations .. keep up the good work ..❤️🙏🙏🙏
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।