राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई पार्टीका केन्द्रीय सदस्यहरूले सिद्धान्तमा सम्झौता नगर्न सुझाव दिएका छन् । काठमाडौं उपत्यकामा उपलब्ध रहेका केन्द्रीय सदस्यहरूसँग छलफल र अन्तरक्रियाको निमित्त थापाले आज केन्द्रीय कार्यालय धुम्बाराहीमा अनौपचारिक बैठक बोलाएका थिए ।
बैठकमा ७५ केन्द्रीय सदस्यहरू सहभागी थिए । बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले सैद्धान्तिक र वैचारिक पक्षमा सम्झौता गर्न नसकिनेमा जोड दिए । राप्रपाको पुँजी र जग भनेको सैद्धान्तिक पक्ष हो, त्यो पक्षलाई नजरअन्दाज गरी अगाडि बढे पार्टीको भविष्य संकटग्रस्त हुने भन्दै नेताहरूले राजनीतिमा प्राविधिक पक्षभन्दा सैद्धान्तिक पक्ष प्रवल हुने धारणा राखेका थिए ।
भौतिक दूरी कायम राख्दै सञ्चालन गरिएका बैठकमा अध्यक्ष थापाले राजसंस्था सहितको लोकतन्त्र, सनातन हिन्दु राष्ट्र र स्थानीय स्वायत्त शासनमा आधारित संवर्धनवादको विचारलाई स्थापित गर्नका निमित्त सबैले आ–आफ्नो ठाउँबाट योगदान दिनुपर्ने आवश्यकता औंल्याए । राप्रपाले बोकेको मान्यतालाई कमजोर हुन नदिन नेतृत्वका तर्फबाट आफूले खेल्नु पर्ने भूमिकामा कुनै कसर बाँकी नराख्ने भन्दै थापाले संगठन केन्द्रित भएर आगामी निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला जिल्लामा साङ्गठानिक गतिविधि गर्न नेताहरूलाई आग्रह गरे ।
मुलुकमा विकृति, विसंगति, भ्रष्टाचारले जनता वाक्क दिक्क भएको र नयाँ वैकल्पिक शक्तिको खोजीमा जनता रहेकाले त्यो जनताले खोजेको विकल्प राप्रपा बन्ने गरी आगामी दिनमा कार्य गर्नु आजको आवश्यकता भएको थापाको तर्क थियो । यसअघि जिल्लामा रहेका नेताहरूसँग थापाले भर्चुअल बैठक गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।